+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा सातौं दुप्चेश्वर कप राष्ट्रव्यापी भलिबल प्रतियोगिता हुँदै

डबली खबर
३ हप्ता अगाडी

१५ चैत, समुन्द्रटार । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले खेलकुदको माध्यमबाट सामाजिक सद्भाव र स्थानीय प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ ‘सातौं दुप्चेश्वर कप राष्ट्रव्यापी अन्तरस्थानीय तह स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता’ आयोजना गर्ने भएको छ।

आईतबार गाउँ कार्यपालिकाको कार्यालयमा पत्रकार सम्मेलन गर्दै गाउँपालिका अध्यक्ष शंकरबहादुर थापाले उक्त प्रतियोगिता आगामी २०८३ वैशाख २ गतेदेखि ५ गतेसम्म रामतीस्थित दुप्चेश्वर महादेव मन्दिर परिसरमा सञ्चालन हुने जानकारी दिएका हुन् ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ, द्वितीय हुनेले २ लाख २२ हजार २ सय २२, तृतीय हुनेले १ लाख ११ हजार १ सय ११ र सान्त्वना पुरस्कार ५५ हजार ५ सय ५५ रुपैयाँ तोकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीले जानकारी दिए । विजेताहरुले नगद पुरस्कारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले बताए ।

स्थानीय तहहरूबीचको आपसी हार्दिकता कायम राख्दै राष्ट्रियस्तरका खेलाडी उत्पादनमा टेवा पुऱ्याउने लक्ष्यका साथ यो प्रतियोगिता आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीले जानकारी दिए।

त्यसैगरी व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई ११ हजार १ सय ११ रुपैयाँ र अन्य विधागत उत्कृष्ट (स्पाइकर, सेटर, डिफेन्डर, सर्भर, ब्लकर र कोच) लाई जनही ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी हुनका लागि केही नियमहरू तय गरिएको छ। एक स्थानीय तहबाट एउटा मात्र टिम सहभागी हुन पाउने र खेलाडीहरू सम्बन्धित स्थानीय तहको कम्तीमा ५ वर्षदेखिको स्थायी बासिन्दा हुनुपर्ने प्रावधान राखिएको छ। खेलाडीको नामावली सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित गराई पेश गर्नुपर्नेछ भने खेल पोशाकमा पालिकाको नाम अनिवार्य हुनुपर्नेछ।

प्रतियोगितामा सहभागितता जनाउन यहि चैत २७ गतेभित्र ५ हजार रुपैयाँ दर्ता शुल्क बुझाई टिम दर्ता गरिसक्नुपर्नेछ।

खेलहरू अन्तर्राष्ट्रिय मापदण्ड र नेपाल भलिबल संघको नियमानुसार सञ्चालन हुनेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ