२९ माघ, नुवाकोट । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको प्रदेश सरकारको कार्यसम्पादन सूचकसम्बन्धी विवरणको प्रतिवेदन अनुसार नुवाकोट जिल्लाका दुई नगरपालिका कमजोर देखिएका छन् ।
जिल्लाको सदरमुकाम समेत रहेको विदुर नगरपालिका र अर्को बेलकोटगढी नगरपालिकाले जिल्लाका कतिपय गाउँपालिकाको तुलनामा कम अंक प्राप्त गरेका हुन् । आयोगले विभिन्न १७ वटा सूचकहरूका आधारमा स्थानीय तहको कार्यक्षमता मापन गरेको हो ।
आयोगले सार्वजनिक गरेको विवरण अनुसार विदुर नगरपालिकाले ६३.१४ अंक प्राप्त गरेको छ । त्यस्तै, बेलकोटगढी नगरपालिकाको कार्यसम्पादन अझ कमजोर देखिएको छ । बेलकोटगढीले कुल १०० पूर्णाङ्कमा मात्र ५५.७२ अंक प्राप्त गरेको छ ।
नगरपालिकाहरूको तुलनामा जिल्लाका केही गाउँपालिकाहरूले भने निकै राम्रो प्रदर्शन गरेका छन् । नुवाकोटभरिमा ७३.८२ अंकका साथ तादी गाउँपालिका कार्यसम्पादनमा पहिलो स्थानमा रहेको छ ।
त्यसैगरी ककनी गाउँपालिका ७२.३१ अंकसहित दोस्रो र शिवपुरी गाउँपालिका ६९.२२ अंकसहित तेस्रो स्थानमा रहेका छन् । जिल्लाका अन्य स्थानीय तहहरूमध्ये पञ्चकन्याले ५७.९५, म्यागङले ५७.८५ र किस्पाङ गाउँपालिकाले ५७.६३ अंक प्राप्त गरेका छन् ।
दुई गाउँपालिका तारकेश्वर ४५.३३ र दुप्चेश्वर ४८.६५ अंकका साथ जिल्लाकै पुछारमा देखिएका छन् ।
कार्यसम्पादन मूल्याङ्कनका लागि आयोगले समयमै बजेट पेश र पारित गरे/नगरेको, राजस्व परिचालन, बेरुजुको अवस्था, र सुत्र प्रणालीको प्रयोग जस्ता पक्षलाई आधार बनाएको थियो । यसका साथै शिक्षातर्फ विद्यार्थी भर्ना र टिकाउ दर तथा स्वास्थ्यतर्फ गर्भवती जाँच, सुत्केरी अवस्था र बालबालिकाको पूर्ण खोप जस्ता मानवीय विकासका सूचकहरूलाई पनि मुख्य प्राथमिकता दिइएको थियो ।



















प्रतिक्रिया