१६ माघ, नुवाकोट । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटले चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम अर्धवार्षिकमा स्वास्थ्य सेवा प्रवाहमा फड्को मारेको छ ।
बिहिबार चिकित्सालयद्वारा बट्टारमा आयोजित पत्रकारसंगको अन्तरक्रियामा कार्यालय प्रमुख डा. नरेन्द्रप्रसाद गिरीले चालुआर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेका हुन् । कार्यक्रममा गत आवमा बागमती प्रदेशको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय अन्तर्गत दोस्रो भएको उक्त चिकित्सालयले चालुआवको पौष मसान्तसम्ममा कुल ३५ हजार ४५६ पटक सेवा प्रवाह गरेको उनले जानकारी दिए । जसमा महिला १९ हजार ८३६ जना र पुरुष १५ हजार ६२० जना रहेका छन् ।
गत वर्षको तुलनामा यस वर्ष आयुर्वेद उपचारतर्फ सर्वसाधारणको आकर्षण बढेको छ । जसमा महिला सेवाग्राहीहरूको संख्या उल्लेख्य रहेको छ। महिला बिरामी बढ्नुमा आयुर्वेदिक उपचार सेवा लिन सहज रहेको उनले बताए ।
बहिरंग सेवाबाट नौ हजार ४३६ जना, पूर्वकर्म सेवाबाट नौ हजार २१६ जना, अकुपंचर सेवाबाट ३ हजार ३८ जना र प्याथोलोजी ल्याब सेवाबाट ४ हजार ३१७ जना लाभान्वित भएका छन् । जुन गत वर्षको तुलनामा बढी हो। गत वर्ष बहिरंगमा ५ हजार ८६१ जना, पुर्वकर्ममा १ हजार ३६७ जना, अकुपंचरमा १ हजार ९४ जना र प्याथोलोजी ल्याबमा २ हजार ३९७ जनाले सेवा लिएका थिए ।

चिकित्सालयले आफ्नो सेवालाई परम्परागत उपचारमा मात्र सीमित नराखी विशेषज्ञ सेवाका रूपमा समेत विस्तार गरेको छ। कार्यालय प्रमुख डा. गिरीले यस वर्षमा मानसिक रोग, नाक, कान, घाँटी तथा टाउको सम्बन्धी रोगहरूको विशेषज्ञ आयुर्वेद सेवा सुरुवात गरेको जानकारी दिए । साथै, अकुपञ्चर, क्षारसुत्र, ल्याब र ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धन जस्ता कार्यक्रमहरू मार्फत समुदायका विभिन्न वर्गलाई प्रत्यक्ष राहत पुर्याइ रहेको उनले जानकारी दिए ।
चिकित्सालयमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम र स्तनपायी आमा कार्यक्रम जस्ता लक्षित वर्गका कार्यक्रमहरूले पनि निरन्तरता पाइरहेका छन्।
जिल्लाभर आयुर्वेद सेवाको पहुँच विस्तार गर्न चिकित्सालयले सुदृढ सेवा सञ्जाल परिचालन गरेको छ। चिकित्सालयको कार्यालय बाहेक जिल्लाका विभिन्न पालिकामा रहेका सात वटा आयुर्वेद औषधालय र चार वटा नागरिक आरोग्य सेवा केन्द्रमार्फत ग्रामीण स्तरसम्म सेवा पुर्याइएको छ। ककनी, पन्चकन्या र सूर्यगढी जस्ता पालिकाहरूमा पनि नयाँ सेवा केन्द्रहरू स्थापना हुने क्रममा रहेका छन्। यस सञ्जालले दुर्गम क्षेत्रका नागरिकहरूलाई घरदैलोमै आयुर्वेदिक स्वास्थ्य सेवा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको बताईएको छ।
आर्थिक र भौतिक कार्यसम्पादनका दृष्टिले पनि चिकित्सालयको अवस्था सन्तोषजनक देखिएको छ। हालसम्म संस्थामा कुनै पनि बेरुजु नरहनुले चिकित्सालयमा वित्तीय पारदर्शितालाई समेत पुष्टि गरेको छ । विनियोजित बजेटमध्ये प्रथम ६ महिनामा ४५.०८ प्रतिशत वित्तीय प्रगति र ५०.५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ।
सेवा विस्तारसँगै बजेटमा भएको कटौती, औषधिको न्यून उपलब्धता र जनशक्तिको अभाव जस्ता चुनौतीहरूले भने कार्यसम्पादनमा केही बाधा पुर्याएको कार्यालयप्रमुख डा. गिरीले बताए । चिकित्सालयमा रहेको समस्या समाधानका लागि स्थानीय सरकार र सम्बन्धित निकायको सहयोग आवश्यक रहेको उनले बताए।






























































प्रतिक्रिया