२६ पुस, नुवाकोट । ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नुवाकोटमा विभिन्न खेलकुद तथा प्रतिस्पर्धात्मक कार्यक्रमहरू आयोजना गरिएको छ।
विदुर नगरपालिकाको मूल समारोह समितिको आयोजनामा सञ्चालन भएका गतिविधिहरूले खेलकुद, शैक्षिक प्रतिस्पर्धा र राष्ट्रिय एकताको सन्देश प्रवाह गरेको छ ।
कार्यक्रमअन्तर्गत विदुर नगरपालिकामा वडास्तरीय ४० वर्षमाथि उमेर समूहको भेट्रान फुटबल प्रतियोगिता भएको छ।
देवीघाट जालपा क्लबको व्यवस्थापनमा आयोजित प्रतियोगिताको फाइनल खेलमा वडा नम्बर ५ ले वडा नम्बर ६ लाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। प्रतियोगितामा विदुर नगरपालिकाका पाँच वडाको सहभागिता रहेको थियो।
यसै अवसरमा नुवाकोट युवा क्लबको व्यवस्थापनमा विदुर नगरपालिका–२ स्थित जीपलाइनदेखि नुवाकोट दरबार परिसरसम्म एक किलोमिटर दौड प्रतियोगिता आयोजना गरिएको थियो।
दौडमा पूर्व कुमारी दिनिशा डंगोल दौडमा सहभागिता जनाएकी थिईन् ।
दौड प्रतियोगितामा कक्षा ८ देखि १२ सम्म अध्ययनरत माध्यमिक तहका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
शैक्षिक प्रतिस्पर्धाअन्तर्गत आयोजित माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा पृथ्वी माध्यमिक विद्यालय प्रथम, शहीद जगतप्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालय द्वितीय, च्वाडी पब्लिक माध्यमिक विद्यालय तृतीय र त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयले सान्त्वना स्थान हासिल गरेका छन्।
विजेता तथा सहभागीहरूलाई भोलि पुस २७ गते आयोजना हुने विशेष समारोहमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए।
यसैगरी पृथ्वी जयन्तीको अवसरमा नुवाकोट दरबार क्षेत्रस्थित भैरवीदेवी मन्दिरदेखि देवीघाटस्थित जालपा मन्दिरसम्म साइकल र्याली पनि आयोजना गरिएको थियो।
आयोजकका अनुसार यस्ता कार्यक्रमले राष्ट्रिय एकता, स्वस्थ जीवनशैली तथा ऐतिहासिक स्थलको प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास गरिएको छ।





















प्रतिक्रिया