२५ मङ्सिर, नुवाकोट । नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँले “काठमाडौँ महोत्सव २०८२” आगामी माघ १४ देखि १७ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना गर्ने भएको छ। सङ्घले काठमाडौँ उपत्यकाको आर्थिक, सांस्कृतिक तथा पर्यटन पहिचानलाई वैश्विक तहमा प्रभावकारी रूपमा प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सवको तयारी तीव्र रुपमा भइरहेको जानकारी दिएको छ।
सङ्घका अनुसार काठमाडौँलाई आर्थिक, सांस्कृतिक तथा पर्यटकीय केन्द्रका रूपमा थप सबल बनाउने लक्ष्यका साथ यो महोत्सव आयोजना गरिन लागेको हो। विशेषगरी स्थानीय उत्पादन, कला–संस्कृति, पर्यटन, नवप्रवर्तन, उद्यमशीलता, स्टार्टअप, घरेलु तथा साना उद्योगहरूलाई बजार, अवसर र दृश्यता प्रदान गर्ने उद्देश्य यस वर्षको महोत्सवको मुख्य केन्द्रमा रहेको छ।
महोत्सवमा करिब दुई सय अत्याधुनिक व्यवसायिक स्टलहरूको सहभागिता रहनेछ। स्थानीय उत्पादन र सेवाहरूको प्रदर्शनी, रैथाने खानाको प्रतियोगिता, फुड–फेस्ट, कन्सर्ट, लाइभ म्युजिक, कला–संस्कृतिका विविध रूपहरूको प्रदर्शन, पर्यटन प्रवद्र्धन कार्यक्रम, विषयगत झाँकी, फोटोग्राफी स्पट तथा स्वास्थ्य शिविरजस्ता कार्यक्रमहरू समावेश गरिने आयोजकले जनाएको छ।
चार दिनसम्म चल्ने उक्त महोत्सवमा एक लाखभन्दा बढी अवलोकनकर्ताको उपस्थिति रहने अपेक्षा गरिएको छ।
सङ्घले महोत्सवले स्थानीय उत्पादनको बजार विस्तार, लगानी तथा व्यापारिक अवसरको सिर्जना, काठमाडौँ उपत्यकाको सांस्कृतिक तथा पर्यटन पहिचान सुदृढीकरण, व्यवसायिक नेटवर्किङ विस्तार तथा नयाँ उद्यमी र स्टार्टअपहरूलाई प्रेरणा एवं सञ्जाल निर्माणमा सहयोग गर्ने विश्वास लिएको छ। यसले समग्र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
प्रदर्शकहरूको सहभागिता कपडा तथा पहिरन, अटोमोबाइल, इलेक्ट्रोनिक्स तथा होम एप्लायन्स, हस्तकला, कृषि उत्पादन र मेसिनरी, फर्निचर, फूड एण्ड बेभरेज, सूचना प्रविधि, ट्राभल एण्ड टुर सेवा, रियल स्टेट, हर्बल तथा अर्गानिक उत्पादन, बैंक तथा वित्तीय संस्था तथा जिल्लागत विशेष उत्पादनजस्ता विविध क्षेत्रबाट रहनेछ। सङ्घले यस महोत्सवलाई बृहत् राष्ट्रिय व्यापारिक मञ्चको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।
अवलोकनकर्तामा सर्वसाधारण, उद्यमी, व्यवसायी, युवा–उद्यमी, विद्यार्थी, स्टार्टअप प्रतिनिधि, पर्यटक, अन्तर्राष्ट्रिय पाहुना, फुड–लवर्स, आयात–निर्यात व्यवसायी, रिटेलर तथा कला–संस्कृति पारखीहरूको उल्लेखनीय सहभागिता रहने आयोजकको अनुमान छ।





















प्रतिक्रिया