२१ कात्तिक, विदुर । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा फिफा फुटबल फर स्कुल्स कार्यक्रम अन्तरगत शुक्रबार नुवाकोटका ४० वटा विद्यालयलाई फुटबल हस्तान्तरण गरिएको छ ।
‘फिफा फुटबल फर स्कुल्स’ कार्यक्रम अन्तर्गत बट्टार खेलमैदानमा आयोजना गरिएको एक कार्यक्रममा केन्द्रीय एन्फाका अध्यक्ष पञ्कजविक्रम नेम्बाङ्गले विद्यालयका प्रतिनिधिहरूलाई फुटबल हस्तान्तरण गरेका हुन् ।
विदुर नगरपालिकाका जनप्रतिनिधिहरु तथा नगर खेलकुद विकास समिति अध्यक्ष अच्युत गिरी, नुवाकोट खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङ लगायतको उपस्थितिमा फुटबल हस्तान्तरण गरिएको हो ।
फिफा फुटबल फर स्कुल्स कार्यक्रमले ४ देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई फुटबलमार्फत अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व, लैंगिक समानता र सामाजिक समावेशीताजस्ता जीवनोपयोगी सीप सिकाउने लक्ष्य राखिएको एन्फा नुवाकोटका अध्यक्ष देवनारायण चित्रकारले बताए ।
यो कार्यक्रम देशभरका ७७ जिल्लाका १,०७२ विद्यालयमा सञ्चालन हुनेछ। यसका लागि एन्फाले फिफाबाट प्राप्त ३२,६४० वटा एडिडास ब्रान्डका फुटबल वितरण गर्ने जनाएको छ। साथै, फिफाले कार्यक्रम सञ्चालनका लागि ५० हजार अमेरिकी डलर बजेट उपलब्ध गराएको छ।



















प्रतिक्रिया