+
Search

ताजा अपडेट +

पपुलर +

भूमि विधेयक फिर्ता नलिईए जनविद्रोह गर्ने उपेन्द्र यादवको चेतावनी

janata samajvadi party nepal
डबली खबर
९ महिना अगाडी

१५ साउन, राजविराज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि सम्बन्धी विधेयक फिर्ता नलिईए जनविद्रोह गर्ने चेतावनी दिएका छन् ।

सप्तरीको राजविराजमा जसपा नेपाल सप्तरीको एकताको प्रथम जिल्ला अधिवेशनलाई बुधबार उद्घाटन गर्दै अध्यक्ष यादवले भने– ‘वर्तमान सरकारले मधेश विरोधी भूमि विधेयक जबर्जस्ती लाद्न खोजिए मधेशी जनता आफ्नो अस्तित्व र पहिचानको रक्षाका लागि जनविद्रोह गर्न बाध्य हुनेछन् ।’

वन विनास, चूरे उत्खनन् तथा पहाडका बासिन्दालाई मधेशमा भू–माफियाहरुलाई अवैध बसोवास गराउन सरकार षड्यन्त्रमा लागेकोले जनतालाई सचेत रहन उनले आग्रह गरेका हुन् ।

सरकारको गलत नीतिका कारण मधेश मरूभूमिकरणतर्फ उन्मुख भएको आरोप लगाउँदै उनले मधेशमा पानीको हाहाकार रहेको तथा अन्नदाता नै सङ्कटमा परेकोले बजेट संशोधन गरी वर्तमान समस्या समाधान गर्न आग्रह गरेका छन् । पानीको जलस्तर घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै जसपा अध्यक्ष यादवले भने ‘जमिनको सतहमा पानी कायम राख्नुको मूल आधार नै चुरे हो, बसोबासको नाममा वन फडानी गरी बसोवास चुरेको संरक्षण नगरिए मधेशको भूमि मरुभूमि हुनेछ ।’

जनसङ्ख्याको आधारमा बजेट ल्याउन माग गर्दै उनले भने ‘४० प्रतिशत जनसङ्ख्यालाई ८९ प्रतिशत र मधेशको ६० प्रतिशत जनतालाई मात्र ११ प्रतिशत बजेट विनियोजन गरिन्छ, यो भन्दा ठूलो विभेद के हुनसक्छ ।’ जबर्जस्ती लादिएको संविधानले देशको हित नहुने भन्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले गलत संविधानकै कारण सङ्घीय लोकतान्त्रिक गणतन्त्र जस्तो शासन व्यवस्था पनि बदनाम भएको दावी गरे ।

संसद खरिद बिक्री, योजना बिक्री तथा कमिशनको खेल हुने गरेको चर्चा गर्दै संविधान संशोधन वा पुनर्लेखन गरेर जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, निर्वाचन प्रणाली, जनसङ्ख्याको आधारमा समानुपातिक प्रतिनिधित्व लगायतका विषयहरु राख्नुपर्नेमा उनले जोड दिए । प्रदेशलाई अझैं पनि अधिकार नदिएका कारण अपेक्षा अनुसार जनताको काम गर्न नसकेको बताउँदै जसपा अध्यक्ष यादवले भने ‘प्रदेश सरकारलाई न त अधिकार दिएको छ, न पुलिस छ न कर्मचारी, प्रदेशहरुलाई अधिकारविहिन बनाईएको छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ