३ साउन, विदुर । नुवाकोटलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलिङ गन्तव्य बनाउने उद्देश्यसहित शनिबार बिहान १३ किलोमिटर लामो विदुर कोरा साइकलिङ भएको छ ।
एकसय ५४ साइकलप्रेमीहरु सहभागीता रहेको कार्यक्रम नगरपालिकाको प्रशासकीय भवनदेखि सुरु भई विदुर चोक, वनदेवी, बुढी भैरवी, स्वयम्भू महाचैत्य, नुवाकोट दरबार, भैरवी मन्दिर, धरमपानी, बाराही मन्दिर, बट्टारमा रहेको पुरानोपाटी हुँदै पुनः विदुर फर्केको थियो ।
विदुर नगरपालिकाको आयोजनमा सुरु भएको साइकलिङलाई नगरप्रमुख राजन श्रेष्ठ र उपप्रमुख प्रभा बोगटीले नेपाली सेनाको ६ नं बाहिनी धादिङका बाहिनिपति सुवासजङ्ग थापा, बहादुर श्री शेर गण नुवाकोटका गणपति अशोककुमार मल्ल, सैन्य तालिम केन्द्र त्रिशूलीका केन्द्र प्रमुख देवराज भट्ट, १ नम्बर वडाका अध्यक्ष लेनिन रञ्जित, ९ नम्बरका अध्यक्ष हरिराम भण्डारी, ११ का अध्यक्ष बाबुराम तामाङ, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठको उपस्थितिमा उद्घाटन गरेका हुन् ।
नगरप्रमुख श्रेष्ठले नगरपालिका र नुवाकोट जिल्लालाई साइकलिङ गन्तव्य बनाउन कार्यक्रम आयोजना गरेको बताए। शारीरिक स्वस्थ्यता, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, पर्यटन प्रर्बद्धन, वातावरणमैत्री यात्रा तय गर्दै परोपकारी कार्य अन्तर्गत सिन्धुपाल्चोकको दुर्गम वस्तीमा बसोबास गर्ने अल्पसङ्ख्यक समुदायमा विद्युत सेवा नपुगेकाले टुकी बत्तिको साहारामा दैनिकी चलाउँदै आएका समुदायलाई सौर्य बत्ति उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए ।
नगर उपप्रमुख बोगटीले साइक्लिङलाई खेलको रूपमा विकास गर्ने, साइक्लिङ संस्कृतिको प्रवर्द्धन गर्ने, स्वस्थ जीवनशैली र वातावरण संरक्षणको सन्देश दिन कोरा च्यालेन्ज २०२५ आयोजना गरिएको बताईन् ।
अङ्ग्रेजी वर्षको जुलाई तेश्रो शनिबारको दिन ‘हिमालयको सबैभन्दा ठूलो साइकल राइडर’हरुले परोपकारी कार्यका लागि सञ्चालन गरिएको १ नम्बरका वडा अध्यक्ष लेनिन रञ्जितले बताए ।
भैरवी मन्दिर पुगेका सहभागिहरुलाई नुवाकोटको जीवित देवी कुमारीले सहभागीहरुलाई टिका लगाई आशिर्वाद दिएका थिए ।
योसँगै देशभरबाट करीब ६ हजार जनाले साइकलिङ च्यालेन्जमा सहभागि भएको जनाएको छ ।




















प्रतिक्रिया