चैत २९, नुवाकोट । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नुवाकोट जिल्ला देशकै उपयुक्त खेल गन्तव्य बन्ने सम्भावना रहेकोले प्रदेश सरकारले सोही अनुसार नीति कार्यक्रम निर्माण र बजेट व्यवस्थापन गर्ने बताएका छन् ।
शुक्रबार पञ्चकन्या गाउँपालिकाको घ्याङस्वारामा आयोजित १४औं नुवाकोट जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले उक्त धारणा राखेका हुन् ।
मुख्यमन्त्री लामाले पछिल्लो समय खेल पर्यटनको समुचित प्रबर्द्धनबाट आर्थिक समृद्धिको क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने बताए ।
राजधानी काठमाडौँमा बढ्दो शहरीकरणका कारण नुवाकोटमा खेल पूर्वाधारहरुको विकास हुन सके जिल्लाबासीको जनजीवनमा सकारात्मक परिवर्तन हुने मुख्यमन्त्री लामाले बताए ।
नुवाकोट जिल्ला खेलकुद विकास समिति र पञ्चकन्या गाउँपालिकाको संयुक्त आयोजनामा आज चैत २९ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका नौवटा स्थानीय तहका चारसय ५० भन्दा बढी खेलाडीहरुले सहभागिता जनाएको समितिका अध्यक्ष विजय गुरुङले जानकारी दिए ।
प्रतियोगितामा एथलेटिक्स, मार्शल आर्ट र भलिबलका विभिन्न विधागतहरु रहेका छन् ।

प्रतिक्रिया