नुवाकोट- दोस्रो अनेरास्ववियु आरआर क्याम्पसस्तरीय भलिबलको फाईनलमा अमरज्योती क्याम्पस पुगेको छ ।
सेमिफाईनलमा आयोजक आरआर क्याम्पसको “बि” समुहलाई सोझो सेटमा पराजित गर्दै अमरज्योती फाईनल प्रवेश गरेको हो । यस्तै, बानेश्वरले सिद्धार्थ बहुमुखी क्याम्पसलाई हराउँदै फाईनल प्रवेश गरेको हो ।
अमरज्योतीले आरआरलाई २५–२१, २५–२२ र २५–२० सोझो सेटमा पराजित गरेको थियो ।
नेकपा एमालेको भातृ सङ्गठन अनेरास्ववियु आरआर क्याम्पसले आयोजना गरेको भलिबल कपमा प्रथम हुने टिमले २ लाख रुपैयाँ नगद पुरस्कार पाउने छ । प्रतियोगितामा दोस्रो हुने टिमले १ लाख र तृतीय हुने टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
विजेताले नगद पुरस्कारसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
भलिबल खेलाडी विद्यार्थीहरूलाई हौसला प्रदान गर्दै भलिबललाई व्यावसायिकतातर्फ लैजान मद्दत गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको अनेरास्ववियु आर आर क्याम्पसका अध्यक्ष लोकेश खड्काले बताए ।
अमरज्योतीले फाइनलमा बानेश्वरसँग आगामी असोज ३ गते खेल्नेछ । प्रतियोगितामा २० क्याम्पसहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया