sujim bazar advert

सलाम ! नेपाली स्पार्टाकस–भीमदत्त पन्त

    साउन १७, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot
नरेन्द्रजंग पिटर

‘बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो, गरीबका दिन आया… ठालुको काल आयो ।’ ‘कि त जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ )

-भीमदत्त पन्त

नेपाली स्पार्टाकस–भीमदत्तलाई राजनीतिक व्यवसाय नबनाउ ! आफ्नाहित अनुसार व्यक्तित्वको प्रयोग गर्नु अपराध हो भने हितअनुकूल इतिहास व्यवस्थापन महाअपराध । व्यक्तिको व्यक्तित्व विकाससँगै भीमदत्त ३ भूमिकामा देखिए । कुनै नायक वा सहिदलाई सम्मानमा स्यालुट मार्नु भनेको उनको आर्दशलाई मन, वचन र कर्मले नै पछ्याउनु र जीवन व्यवहारमा उर्तानु हो । जव पोस्टरलाई स्यालुट गरिन्छ र आर्दशलाई धोती लगाइन्छ तव त्यहाँ ऐतिहासिक अपराध भइरहेको हुन्छ । त्यस्तै आफ्ना हितअनुसार पन्तलाई पनि बिर्सने, बहसबाट खारेज गरिदिने, सम्झे पनि आदर्शको खिल्ली उडाउने, अंश लगाउनेले एकपक्षलाई सम्पति बनाउँछन् भने अर्को पक्षलाई खारेज गरिदिन्छन्…यही हो नेपाली स्पार्टाकसमाथि भइरहेको अपराध । सशस्त्र किसान विद्रोहका पन्तलाई एउटा चश्माबाट नियाल्न या त अध्येताको आग्रह या उनको सीमा समस्या भनेर बुझ्नपर्ने हुन्छ । आज उनको सहादत दिवस । नेपाल सरकारले पन्तलाई २०७२ फागुन १९ गते उनलाई सहिद घोषणा गरेको हो ।

साउनको १७ गते बिहान, आजको ६५ वर्ष पहिला । वर्षेझरीले झाडी बनेको बुडर नजिकैको गैलेकको जङ्गल । जङ्गलभित्रको कटेरो । भारत–नेपालका दुई, दुई देशका सेनाले संयुक्त अपरेसन गरेर खोजिरहेको विद्रोही व्यक्ति भीमदत्त पन्त, हमजाली मगरको त्यही कटेरोमा खाना खाँदै छ । झरीले भिजेको कार्तुसहरू छेवैमा सुकाउँदै पनि छ । स¥याङसुरङको अवाजले ऊ झस्किन्छ । सचेत हुन नपाउँदै घेरामा परिसकेको र उम्कन नसक्ने अवस्थामा पुगेको बुझिसक्छ । आएका मान्छेहरू ऊ राम्रैसँग चिन्छ । कुराकानीमा अल्मल्याउने र उम्कने दाउ पनि खोज्छ ।

आफ्नै मीत भनिने लालबहादुर थापा र भम्वा दियालले मारी त के हाल्लान्न् भन्ने पनि उसको सोच हुन्छ । किसानहरू, हेपिएका र दबिएकाहरू नै त किसान सेनाका लडाकु थिए भने अझ लालबहादुर र भिम्वा त उसका आफ्नै मीत थिए । घरकै छेद नै विभीषण भए पन्तको खोजी गर्न र ठेगान लगाउन सक्छन् भन्ने वैरीले सोचेर उनीहरूलाई प्रयोग गरेका हुन्छन् । ठालुका नुन खाएका र सरकारी सिन्दुर पहिरिएका भए पनि मारी त हाल्दैनन् भन्ने सोच लम्पट भइसकेकाहरूमा लागू हुँदैनथ्यो । पन्तले आफना केही कुरै राख्न नपाई, सचेतसमेत हुन नपाई लालबहादुरको बन्दुकले एक्कासि गोली ओकल्छ र रगतको फोहोरा हमजाली मगरको घरमा छुट्छ । एकछिन पहिला शान्त रहेको घर एकाएक आतंक, चिच्याहट र रक्तकुण्डमा फेरिन्छ । भीमदत्त ढल्छन् ।

५ हजार कम्पनी रुपैयाँको लोभमा फसेर एउटा लम्पटले तीन तीनवटा आन्दोलनका पश्चिमेली नेता, कमाण्डर र २००७ सालको मुक्तिसङ्घर्ष पछाडिका पहिलो गभर्नर अर्थात् आफ्नै मीत भीमदत्त पन्तको २०१० साल साउनको १७ गते बिहान इहलिला समाप्त गरिदिन्छ । हत्या गरेरमात्र उनीहरू शान्त हुँदैनन्, भिम्वा दयालले कम्मरमा भिरेको खुकुरी फुत्त निकालेर लास बनेर ढलेका भीमदत्तको गर्दन्मा छप्काउँछ । शरीरबाट छुट्टिएको पन्तको टाउको किसान ऐरलाई बोकाएर हत्यारा जत्था डडेल्धुरा खलङ्गातिर लाग्छन् । भीमदत्तको टाउको लिएर गएको जत्था १८ गते दिउँसो खलङ्गा पुग्छ । त्यहाँका ठालुहरू विष्ट, कठायत र थापाहरूले भोजभतेर सुरु गर्छन् भने आमकिसान, दलित र गरिबहरूमा भने शोकको लहर छाउँछ ।

डडेल्धुरा गौँडा गोश्वरा अगाडि एउटा बाँसको लिङ्गो गाडिन्छ । आँखा बन्द भएको टाउको उनीहरूलाई आतंक बन्छ र कप्टेराले आँखा खोलेर उनको टाउको लिङ्गोमा सिउरेर ‘देशद्रोह र राजद्रोह गर्नेलाई यस्तै सजाय हुन्छ’ भन्ने कुरा लेखी सोही लिङ्गोमा झुण्ड्याइन्छ । सार्वजनिक प्रदर्शनमा टाउको झुण्डायाइसकेपछि बडाहाकिम मोहनबहादुर सिंहले लालबहादुर थापालाई आफनै मीतको हत्या गरेर टाउको बुझाएकोमा ५ हजार रुपैयाँ बक्सिस दिन्छ ।

तीन दिनसम्म लासको रमिता देखाएर प्रशासन र ठालुहरूले उनकी श्रीमती पार्वतीदेवीलाई ३१ वटा सर्तमा औँठाछाप लगाई सदगद् गर्न टाउको दिन्छन् । धर्मदेव पन्तले टाउको बोक्छ । आतंकको बीचमा पनि सिद्धराज पन्त, शिवराज उप्रेती, सोबे सार्की भूल र झकिरे दमाई मलामी जान्छन् । हजारौं किसान सेनाको कमाण्डरको अन्त्येष्टिमा सहभागी हुनबाट सबैलाई आतंकले रोकिदिन्छ । डोटी घटाल बाबा मन्दिर छेउमा उनको अन्तिम संस्कार हुन्छ ।

यसरी मारिएका पन्तको हत्यालाई सरकारले साउन २० गते जङ्गलमा सेना र प्रहरीको भिडन्तमा पन्त मारिए भने पनि २४ गतेको नेपाल पुकारमा भने भीमदत्त देशद्रोही नभएको र राष्ट्रवादी भएको खबर प्रकाशित भयो । सो कारबाहीका लागि भारतबाट आएका सेना साउनको २७ गते फिर्ता भए ।

को हुन, भीमदत्त पन्त ?

Bhim Dutta

डडेल्धुरा जिल्ला सदरमुकाम खलङ्गाको दक्षिण मोहडामा डोटी घटाल भन्ने गाउँ पर्छ । त्यसैकौ एउटा टोलको नाम हो–कारी गाउँ । त्यहीँ तारानाथ पन्त र सरस्वतीका एक्लो छोराको रूपमा उनको जन्म १९८३ साल मंसिर १० गते भएको हो । कुनैबेला राणकालीन कर्मचारी तारानाथको सरकार र ठालुहरूमा राम्रै पहुँच थियो । हुनेखाने मै उनी गनिन्थे । ५ वर्षमै मातृविहीन बनेका पन्तलाई सीमावर्ती भारतीय भूमि सिगाइँमा आफन्तको संरक्षणमा पढाइका लागि पठाइयो । सिगाइँमा रानी सुरत कुमारीका पुरोहित जेठाबाबाको रेखदेख र सुरत कुमारीको सहयोगबाट उनको प्रारम्भिक पढाइ लेखाई भयो ।

त्यसैबेला भारतमा स्वतन्त्रता संग्रामको राँको दन्किरहेको थियो । किशोर र युवाहरूका नायकमा भगत सिंह फेरिइसकेका थिए भने अर्कातर्फ दशरथ चन्दको फाँसीले पश्चिममै हलचल ल्याएको थियो । त्यसको असर विद्रोही स्वभावका भीमदत्तलाई नपर्ने कुरै भएन । उनको विद्रोहको थालनी सिगाइँबाटै सुरु भयो । रानीलाई खुसामत र आश्रतिलाई दमन गर्ने जेठाबाबुको आचार, विचार र व्यवहार उनलाई पटक्कै मन परेको थिएन । उनको सञ्चित रकम सामान्य गरिबगुरुवालाई बाँडी दिएर भीमदत्तले विद्रोही स्वभावको सुरुवात सिगाइँबाटै गरे । १५ वर्षको उमेरमा १९९८ सालमा उनले म्याट्रिक पास गरेका थिए । बाबु तारानाथ बितेपछि मात्र उनलाई आफ्नो खेत बन्दकी रहेको कुरा थाहा भयो ।
ठालु विष्टहरू उनको एकातर्फ विद्रोही स्वभावबाट झस्केका मात्र थिएनन् उनको सामाजिक हैसियत समाप्त पार्न पनि चाहन्थे, अर्कोतर्फ खेत हत्याउन । उनले अपमान सहनुभन्दा खेत बेचेर रकम बुझाउलान् भन्ने विष्टहरूले पत्याएकै थिएनन् । राणाका चौधरी बनेका बाउको ऋण ६ सय तिर्दाप नि अझ बाँकी रहेको भनेपछि विद्रोही पन्तलाई सहिनसक्नु हुने नै भयो । त्यसबेलासम्म उनी गाउँमा समाज सुधारक, शिक्षाप्रतिको जागरुक र अन्यायविरोधी हक्की युवाका रूपमा चर्चित भइसकेका थिए ।

गरिब, दलितले उनलाई आशाका नजरले हेर्न थाल्दा विष्ट, कठायत र थापाको आँखाका कसिङ्गर बनेका थिए । बाउ बित्नु, ऋण तिर्नु तर ऋण नसकिनु पन्तलाई सहृय भएन । अगाडि अध्ययन बढाउन २००१ सालमा फेरि उनी भारततिर लाग्छन् १२ वर्षमै बिहे गरेकी श्रीमती पार्वतीदेवीलाई सौतेनी आमासँगै छोडेर । भारतमा आन्दोलनको राप र ताप त्यसबेला अझ बढेको हुन्छ र उनी अध्ययन छाडेर भारतीय स्वतन्त्र सङ्ग्राममा हाम फाल्छन् र गिरफ्तार परी १८ महिना इलाहावाद जेल पर्छन् ।

भारतीय जेलबाट रिहाइ भएपछि राजनीतिक चेतनाले भरिएका पन्त सिधै नेपाल फर्किन्छन् । त्यसेबेला राणाविरोधी पश्चिममा सशस्त्र आन्दोलन चर्किएको थियो । कमाण्डर रूपसिंह सिजापति, शेखर शर्मा र गौरीलालको समूहमा उनी पनि सहभागी हुन्छन् । विद्रोही स्वभाव, तर्कशीलता र जनशैलीले छिटै क्रान्तिकारीको हृदय जित्न उनी सफल भएपछि अझ पहिलेकै लोकप्रियताले पनि काम गरेको थियो ।

ठालुहरू पैसा बुझाउँदा पनि तमसुक नच्यातेको र विद्रोही पन्त अलप भएको देखेर पहिलादेखि नै आतंकित थिए नै । २००७ साल पुस २६ गते डडेल्धुरालाई मुक्ति सेनाले कब्जामा लिएपछि भीमदत्त गभर्नर र टीकादत्त भट्, कीर्तिबहादुर विष्ट, पहलमान कटुवाल, जयराज जोशी, गुणकर पन्त, डम्बरबहादुर बोगटी, भक्तबहादुर मल्ल सामेल भएको अन्तरिम व्यवस्था सञ्चालन गर्ने अस्थायी सरकार बन्यो ।

ब्रहमदेव मण्डीको अचाक्लीको नियन्त्रण, अर्कोतर्फ लोकप्रताप विष्टको दमिनीसँगको लसपसमा सामाजिक न्याय दिलाउनुले ठालुहरू चिढिएका थिए नै । जातपात, छुवाछूतको हस्तक्षेपले धर्मभिरु र ठालुहरू रिसाउने र आतंकित भएका थिए । परिवर्तन पछाडि पनि सरकारले परिवर्तनको आभास दिन सकेको थिएन ।

जब उनले जनताको पक्षमा काम गर्न थाले नेपाली कांग्रेसको सरकारले रक्षा दल, सिद्धि गणेशको फौजले २००८ भदौमा आफ्नै गर्भनरलाई ठालुको उक्साहटमा गिरफ्तार गरी अड्डासार गर्दै काठमाडौं चलान गर्दछ । केही समय हनुमान ढोकाको जेलजीवनपछि उनको कम्युनिस्ट नेताहरूसँग छलफल भएर उनी पुनः आफ्नै कर्मथलो सुदूरपश्चिम फर्किन्छन् । जब उसले जनताको पक्षमा काम थालनी गर्छ, ठालुहरूको उक्साहटमा आफ्नै सहयोद्धाबाट गिरफतार भएर आफ्नै सरकारको बन्दी बन्दछ । त्यसपछि ऊ कांग्रेस त्याग गर्दै नयाँ विद्रोहको सपना देख्दै नयाँ बाटोमा लम्कन्छ ।

उनको ब्रहमदेव मण्डीमा तेलङ्गना किसान विद्रोहका कृष्णस्वामी अयङ्गरसँग भेट हुन्छ । पछिल्लो विद्रोहको सैद्धान्तिक आधार र प्रेरणा भीमदत्तले अयङ्गरबाट पाउँछन् । यसरी एउटा विद्रोही युवा मुक्तिसेनाको योद्धादेखि डडेल्धुराको गभर्नरसम्म बन्दै फेरी अर्को किसान आन्दोलनमा होमिन्छ  ।

अन्तिम विद्रोह

‘किसान राज, जिन्दावाद’ भन्दै जय जनता भनेर अभिवादनको चलन चलाएका भीमदत्तले २००८ को अन्तिमतिर कैलाली, कञ्चनपुर र डडेल्धुरालाई केन्द्र बनाएर थालेको सशस्त्र किसान विद्रोहले थोरै समयमा सामन्त, जिम्दार, पटवारी र सरकारलाई आच्छुआच्छु बनायो ।

सो क्षेत्र किसानहरूको नियन्त्रणमा आयो । तमसुक च्यात्ने आन्दोलन चल्यो भने तमसुक नच्यातेर जनतालाई दुःख दिनेहरू आन्दोलनको निसानामा परे । बहृमदेव मण्डीको कोटाको व्यवस्था, भन्सार ठेकदारको अचाक्ली, ठेकदार र कर्मचारीको मिलेमतोको विरुद्ध उनको अभियानले जनताको मनोभावलाई छोयो भने सुब्बा जयदेव भद्धु, डिठ्ठा धर्मसिंह रावल, सुवेदार जोगराज ऐरविरुद्धको सशक्त कारवाहीले आन्दोलन हलक्क बढ्यो ।

‘रोजीरोटी कपडा दे, नत्र गद्दी छोडी दे’ ‘गरिब किसान राज, शोषक सामन्ती मुर्दावाद’ जस्ता नारा चौतर्फी लाग्न थाले । आन्दोलन चर्किदै जाँदा उनलाई २००९ साल चैत २७ गते झुक्याएर गिरफ्तार गरियो तर धर्य शमशेरलाई छक्याउँदै बिलौरी जेल तोडेर २०१० साल असार तेस्रो हप्ता पन्त भाग्न सफल भए । जब उनी डडेल्धुरा पुगे पुनः त्यहाँ सामन्त र बडाहाकिम मोहनबहादुर सिंहको गठजोडमा गिरफतार परी बिलौरी जेल चलान गरियो । जोगबुढा पुग्दानपुग्दै सिपाहीलाई प्रभाव पारेर उनीलगायत सहयोद्धा मुल्ली प्रधान र गर्भु राना उम्कन सफल भए ।

तब किसान विद्रोह अझ सशक्त भयो । किसान सेनामा सबै जातजातिका उत्पीडित साथै थारु, मगर र दलितको उल्लेखनीय सहभागिता रहृयो । कम्युनिस्टले कब्जा गर्न थाले भनेर मात्रिका कोइरालाको कांग्रेस सरकारले भारतसँग सैनिक गुहार माग्यो । नेपाली सेनाका सेनापति किरण शमशेरले बरेलीमा बसेर संयुक्त कमान गरे । जब दक्षिणबाट भारतीय सेना र उत्तरबाट नेपाली सेनाले दबाब बढायो तब छापामार आन्दोलनको रूपमा किसान आन्दोलन फेरियो । सयौंको गिरफ्तारी भयो । आन्दोलनको कमाण्डर र नेता भीमदत्त पन्त आफना सहयोगी बहादुरे खत्री र मोहनसिंह सेठीसँग उत्तर गैलेकको जङ्गलमा आश्रय लिन पुगे । बाहिरको खबर बुझ्न डडेलधुरा गएका सेठी गिरफ्तार परे भने बहादुरे पनि अन्तिम समय अन्यत्र काममा खटाइएका थिए, पन्तसँग थिएनन् ।

आन्दोलनकै क्रममा उनका दुई छोरा प्रेमराज र लीलाराजको मात्रै हैन् छोरी रेवाको समेत मृत्यु भयो । रोमका स्पार्टाकसले झैँ नेपाली धरतीमा किसानराजको लागि जमेर पन्तले लडे । सामन्तरक्षामा उत्रेको नयाँ सरकार र उसलाई रक्षा गर्ने विदेशीले संयुक्त आक्रमण गरे । किसान आन्दोलनमाथि धावा बोले । स्पार्टाकसलाई झैं भीमदत्तलाई पनि प्रदर्शनको विषय बनाउन दुष्टहरूले कायरझैँ हत्या मात्र गरेनन्, उनको शिर बाँसमा उधिनेर ३ दिनसम्म प्रदर्शन समेत गरे ।

आखिर स्पार्टाकसले वारिनियालाई आफनो सन्तान जोगाएर भविष्यलाई सन्देश दिन भने तर भीमदत्तले भने आफ्ना सन्तानको अनुहार हेर्नसमेत जान भ्याएनन् । सहयोद्धा र हरेक स्वप्नद्रष्टा नै आफ्ना आन्दोलनको मर्म आन्दोलनकै उत्तराधिकारी र हकवाला बनाएर उनी सहिद भए । क्रान्तिलाई नै जब एउटा क्रान्तिकारीले परिवार सोच्दछ तब अनुयायीहरूमा नेतृत्वप्रति चरम आस्था बढ्दछ र कस्तै त्याग गर्न पनि अनुयायीहरू पछाडि पर्दैनन् । त्यस्ता थिए– भीमदत्त पन्त । जहाँ अन्यायको विरोधमा स्वाभिमानको जाग्दछ त्यहाँ भीमदत्त स्पार्टाकसझैँ रक्तबीज भएर देखिने गरेका छन्, देखिने छन्  ।

(डबलीखबरले यो विचार लेखक नरेन्द्रजंग पिटरको अनुमति लिएर प्रकाशन गरेको हो ।)

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top