२०८१, १२ बैशाख बुधबार

गाई पालेर मासिक ७० हजार आम्दानी

    असार ३२ २०७५ १४:०७

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

भगवती लामा, नुवाकोट । इच्छाशक्ति र परिश्रमले मानवीय जीवनलाई सफल बनाउँछ । हाम्रो समाजले आर्थिक स्थिति उच्च रहेको व्यक्ति अर्थात परिवारलाई उच्च कोटीले हेर्ने गर्दछ । परिवारको आर्थिक स्थिति उच्च बनाउन युवा शक्तिहरु वैदेशिक रोजगारीमा जाने प्रवृत्ति पनि अत्याधिक छ । परिवार छाडेर सरकारीदेखि गैरसरकारी संघसस्थामा जागिर खानको लागि दौडधुप गर्नेहरुको पनि लहर छ । तर नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १२ चारघरेका सुमन कोइरालाले घरमा नै पाकेको मिठोतितो परिवारसँगै खाएर मासिक ७० हजार रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

उमेरले मात्र २२ वर्ष । जीव विज्ञानमा कक्षा १२ उतीर्ण गरेका युवा । छोराले देशविदेश चहारेर पैसा कमाउन पर्छ भन्ने सामाजिक मान्यतालाई चिर्दै कोइराला गाईको फार्म सञ्चालन गरेर आय आर्जन गरिरहेका छन् । गाई पालनबाट राम्रो आम्दानी हुने देखेर गाईको फार्म सञ्चालन गरेको उनको भनाई छ । “पहिले हाम्रो परिवारले दुध डेरी सञ्चालन गथ्र्यौे । माग अनुसारको दुध डेरीमा आउन छाडे पछि २०६८ सालदेखि श्रीकृष्ण गाई फार्म सञ्चालन गरेका हौँ ।” कोइरालाले भने, “सुरुवातमा ४ वटा गाईबाट सञ्चालन गरेको फार्ममा अहिले १४ वटा गाई छन् ।”

फार्ममा दुध दिने ६ वटा, कोरली बाच्छी ६ वटा र सानो बाच्छी २ वटा रहेको छ । खाएरै विहान साझमा ४० लिटर दुध बजार पुराउन फार्म सफल भइरहेको छ । गाई फार्म सञ्चालन गर्न एक परिवारलाई रोजगारी नै दिएको उनी बताउछन् । “परिवारमा रहेकोे ५ जनाको परिश्राम छ यस फार्ममा भने अर्को एक परिवारले पनि हामीलाई सघाइरहेका छन् । हामीले रोजगार दिएको परिवारको भने दुई जनाले मात्र काम गर्न सक्छन् दुई जना सानै छन् ।” उनी भन्छन्, “हामी ७ जना सबैले सबै काम गर्छौँ । हामी पालैपालो त्रिशुल डेरीसम्म दुध पुराउछौँ । माग अनुसार बाहिरी बजार पनि धानिरहेका छौँ । अहिले दुध प्रतिलिटर ६० रुपैयाँमा विक्रि भइरहेको छ । मासिक रुपमा ७० हजार आम्दानी हुन्छ दुधबाट ।”

गाई फार्मको लागि आवस्यक दाना, पराल लगायतकाको सामाग्री ओसार्न आफ्नै ट्रिफर पनि खरिद गरेका छन् कोइराला परिवारले । ट्रिफर चालक सुमनका बुवा महेन्द्र कोइरालाले सम्मानित पेशा कृषि मानेर छोरालाई गाई फार्म सुम्पेका हुन् । अबको दिनहरुमा पनि यसै फार्मलाई बढवा दिएर सञ्चालन गर्ने बुवाछोराको नै चाहाना रहेको छ ।

कमाउनको लागि देशविदेश गएकाहरुको अप्रिय खवर सुन्न पर्दा सुमनको आमा शान्ति कोइरालालाई खल्लो लाग्छ । तर उनी आफ्नो छोरालाई सघाउदै घरमा नै काम गर्न पाउदा खुसी लागेको बताउछिन् । “सानैदेखि खेतीपाती, गाईगोठ गर्दै हुर्कियो । अहिले गाई फार्म सञ्चालन गरिरहेका छौँ । पहिले र अहिलेमा केही फरक छैन । थोरै गाई भैसी हुन्थे अहिले केही बढी मात्र हो ।” छोराको मेहनतमा साथ दिदै गरेको बताउदै उनी भन्छिन्, “छोराको दुख हामीले देखेका छौँ, हाम्रो दुख उसले देखेको छ । यदि घर बाहिर काम गर्न गएको भए मनमा शान्ति हुदैन थियो । के होला, कस्तो होला भन्ने त्राश भइराख्थ्यो । छोराबुहारी, छोरीको परिश्रममा हाम्रो बुढाबुढीले साथ दिइरहेका छौँ ।”

कोइराला परिवारद्धारा सञ्चालित श्रीकृष्ण गाई फार्मले कृषि मन्त्रालयअन्तर्गत रहेको व्यावसायिक कृषि परियोजना (प्याक्ट) मार्फत ८ लाख ३४ हजार रुपैयाँ अनुदान प्राप्त गरिसकेको छ । जिल्ला पशु सेवा कार्यालय मार्फत गोठ सुधारको लागि एक लाख रुपैयाँ आउने प्रक्रियामा रहेको सुमन कोइरालाले बताए ।

घाँसको विऊ र गोवरबाट पनि आम्दानी
श्रीकृष्ण फार्मबाट उत्पादन भएका गोवर (मल) र गाईहरुलाइृ खुवाउन लगाइएको घाँसको विउः विक्रि गरेर पनि कोइराला परिवारले आम्दानी गरिरहेका छन् । वार्षिक मलबाट ६० हजार रुपैयाँ सम्म आम्दानी हुने गरेको सुमन कोइरालाले बताए । उनले भने, “फार्मबाट उत्पादन भएका मलको प्रति टिप १२ सय रुपैयाँसम्म विक्रि हुने गरेको छ । वार्षिक ६÷७ टिप मल उत्पादन हुन्छ ।”

गाईलाई खुवाउनको लागि विभिन्न १८ प्रकारको घाँस ८ रोपनी जग्गामा लगाइएको छ । जग्गामा स्थानीयको साथमा सिओफो, सिओथ्री, इपिलिपि, गट्टेमाला, मुलाटो, सुमसो, टिओसेन्टिओ जस्ता विकासे घाँसहरु लगाइएको छ । वर्षातको मौसममा विकासे घाँसको विऊ विक्रि समेत हुने गरेको सुमन कोइरालाले बताए । “प्रति गोटा एक दुई रुपैयाँमा विक्रि गछौँ । वर्षमा एक लाख देखि एक लाख पचाँस हजार रुपैयाँ सम्म आम्दानी हुन्छ ।” उनले भने, “घाँसको विऊ लिन संघसस्थाहरु समेत आउने गरेका छन् ।”

कृषिमा स्थानीय तहको प्राथमिकता
स्थानीय तहले नयाँ नेतृत्व पाए पछि बजेट स्थानीय तहमा गएको छ । कुन क्षेत्रमा कति बजेट विनियोजन गर्ने स्थानीय तहको हातमा हुन्छ । सोही अनुरुप विदुर नगरपालिकाको असार १० गतेकोे तेश्रो नगरसभाले आगामी आर्थिक वर्ष २०७५–०७६ को लागी एक अर्ब ७९ लाख रुपैयाँ बराबरको आय–व्यय विवरण पारित गर्यो । जसमा कृषि अन्तरगत नगदेबाली र तरकारी खेतीलाई प्रथामिकता, एक वडा–एक उत्पादन, एक वडा–एक तरकारी संकलन केन्द्र, वडा नं. १० र ११ मौरीको विशेष पकेट क्षेत्रलाई समेत प्राथमिकतामा राखेको छ । नगरपालिकाले पशुपालन गर्ने किसानलाई प्रोत्साहन कार्यक्रम ल्याएकाले दैनिक पाँच लिटर दुध विक्री गर्ने किसानलाई एक लिटरको थप दुई रुपैयाँ उपलब्ध गराउन, घाँस खेती, गोठ सुधार लगायतका कार्यक्रम पनि बजेट मार्फत ल्याएको विदुर नगरपालिकाको उपमेयर गीता दाहालले बताइन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top