एमाले र नेकपा माओवादी केन्द्रबीच जसरी एकताको खिचडी पाक्दै गएको छ त्यति नै मात्रामा नेताहरूको मन भतभती पोल्न थालेको छ ।
शीर्ष नेताहरूले व्यवस्थापनलाई राहत दिए पनि केन्द्रमै दोस्रो तहका कैयौँ नेता भूमिकाविहीन बन्ने पक्काजस्तै भएको छ । त्यसो त भूमिका पाएकाहरू पनि नाम मात्रकै भूमिकामा रहने पक्कापक्की नै भएको छ । पार्टी एकतापछि नेतृत्वको जिम्मा लिने नेतालाई शक्तिशाली बनाइनेछ । त्यही भएर दुवै पार्टीका केही शीर्ष नेतालाई सामूहिक नेतृत्व दिने कसरत भएको छ । दुई पार्टी एक भएपछि आफ्नो हैसियत धेरै गिर्ने अनुमान दुवै पार्टीका दोस्रो तहका नेताहरूले पहिला नै गरेका थिए । अब ती अनुमान सत्य साबित हुन थाल्दै गर्दा नेताहरू थप पीडित हुन थालेका छन् ।
चुनावपछि पार्टी एकता गर्ने भनेर चुनावी एकताले नै कतिपय नेताहरूको टिकट खोसिएर घर न घाटको बनाइसकेको थियो भने अब चुनावमा टिकट पाएर जितेका र हारेका नेताहरू पनि आफूभन्दा ठूलाको व्यवस्थापनको कारण थप पीडामा पर्ने पक्का भएको छ । एमाले र माओवादी दुवैतर्फका नेताहरूले चुनावपछि एकता भाँड्ने हर्कत नगरेका भने होइनन् । तर, एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एकता गरेरै जाने पक्का भएपछि उनीहरू पक्षकै नेताहरू पनि अब ठूलो पद नपाइने भयो भनेर रातोपिरो अवस्थामा पुगेका छन् ।
केन्द्रबाट सुरु भएको यो झड्का गाउँ र वडासम्म पुग्नेछ । यो झड्काले कतिपय नेताहरू काङ्ग्रेसतर्फ पनि लर्कने सम्भावना बढेर गएको छ । यदि त्यस्तो अवस्था आएमा काङ्ग्रेसकै केही कार्यकर्ता पनि पार्टीको नेतृत्व पाउनबाट वञ्चित हुने देखिन्छ ।
वाम एकताले नेतृत्व नपाउने डर नयाँ बन्ने संयुक्त पार्टीमा मात्र नभई काङ्ग्रेसमा पनि पर्न जाँदा एकता अभियानले मुख्य दलमा भुइँचालो नै गएकोजस्तो हुन थालेको छ । पार्टी एकताको बारेमा विवाद झिक्ने कोसिस दुवै दलका नेताहरूले गरेकै बेला ओली र प्रचण्डको भेटले एकता प्रक्रिया द्रुतगतिमा अगाडि बढेको छ । यसले छिट्टै मूर्तरूप लिने बताइएको छ । ओली, प्रचण्ड, माधव नेपाल र झलनाथ खनालहरूको व्यवस्थापन सहज रूपमा भए पनि एमाले र माओवादीका उनीहरूपछिका सबै नेताहरू धरमरमा परेका छन् ।
गाउँगाउँमा पनि नेताहरू बाहिर बसी एकताको पक्षमा बोले पनि भित्रभित्रै त्रसित भएका छन् । यो त्रास दुवै दलका नेतामा पसेको छ । माओवादीले वडाको नेतृत्व गर्ने हैसियत नभएकाहरूलाई पनि केन्द्रीय सदस्य बनाइदिएको थियो । अब उनीहरू वडाको सदस्य बन्नुपर्ने अवस्था आउँदा कमजोर र थकितजस्तै देखिन थालेका छन् । त्यसो त एमालेमा पनि त्योभन्दा कम कम्पन गएको छैन । ठूलो वाम पार्टी भनेर सबैको अगाडि छाती फुलाएर हिँडेकाहरू अब क्रमशः शक्तिविहीन बन्दै अरूकै नेतृत्वमा बस्नुपर्ने अवस्थामा आउँदा उनीहरू पनि न्याउरो बनेका छन् । एकताले अब बन्ने वामपन्थी सरकारलाई बलियो बनाए पनि हलक्क नेता भएकाहरू धेरै नै चाउरिने पक्का छ । दुवै पार्टी मिलाउँदा पनि एमालेको जत्रो मात्र सङ्गठन बनाउने योजना बन्दै गरेको कारण धेरै नेता र कार्यकर्ताको निद हराउँदै गएको छ ।
प्रतिक्रिया