२०८०, १६ चैत्र शुक्रबार

काङ्ग्रेसले वाम गठबन्धनको भोट लिन भ्रम र पैसाको खोलो बगाएको छ : नारायणप्रसाद खतिवडा

    कार्तिक ३० २०७४ १४:५८

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

संयुक्त वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार, क्षेत्र नं. २ नुवाकोट

नेकपा एमाले नुवाकोटका अध्यक्षसमेत रहेका नारायणप्रसाद खतिवडा अहिले संयुक्त वाम गठबन्धनबाट नुवाकोट जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रत्यक्षतर्फका उम्मेदवार रहेका छन् । उनी जिल्लामै बसेर जनताको काम सधैँ गरिरहने नेता भएकाले स्थानीयस्तरमा चिरपरिचित छन् । २०५४ सालको स्थानीय निर्वाचनमा जिविस नुवाकोटको उपसभापति हुँदै कावा सभापतिसमेतको जिम्मेवारी उनले सफलताको साथ पूरा गरेका छन् । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि साबिक नुवाकोट क्षेत्र नं. ३ बाट उम्मेदवार भएका खतिवडा झिनो मतले पराजित भएका थिए । मङ्सिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाका निर्वाचनमा घरदैलोमा हिँडिरहेका खतिवडासँग गरिएको कुराकानीको सारअंश:

नुवाकोटवासीले यसपटक पञ्चायतको अन्तिम अवशेषको रूपमा रहेका अर्जुननरसिंह केसीलाई सधैँका निम्ति हराउँदै छन् र प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आएको महसुस गर्दै छन् ।

dabalikhabar-trishuliweb-Interview-narayanpkhatiwada copy

भोट माग्दा मतदाताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

मतदाताहरू एकदम उत्साहित भएको पाएको छु । यतिबेला नेकपा एमालेको राम्रो पकड भएको यो निर्वाचन क्षेत्र त्यहाँमाथि पनि यतिबेला हाम्रो बीचमा नेपालका २ ठूला कम्युनिस्ट पार्टीबीचमा जुन एकता भएको छ हाम्रा एक वाम एक ठाउँको नीति लिएर अहिले दुईवटा पार्टीको कार्यगत एकता भएको छ । यसबाट मतदाताहरू असाध्यै उत्साहित हुनुभएको पाएँ । मैले क्षेत्रका सबै गाउँमा पहिलो चरण मतदातासँग भेटघाट गरी उहाँहरूको सल्लाह, सुझाब लिएको छुु । सबै मतदाताले वाम गठबन्धनप्रति आशा र भरोसा गरेको पाएँ । जनताको काम गर्ने तिमीहरू जित्ने अरू हुने गरेकाले अब त्यसो हँुदैन भनेर जनता जुर्मुराएको पाएँ । एमाले र माओवादीको गठबन्धनले गर्दा हाम्रो अवस्था काङ्ग्रेसका लागि फलामको चिउरा भएको छ ।

वाम गठबन्धनलाई एमाले र माओवादीका कार्यकर्ताले कस्तो रूपमा लिएका छन् ?

यो एकतालाई दुवै पार्टीका कार्यकर्ताले हामीहरूको भावनालाई नेतृत्व तहले ढिलै भए पनि बुझेर गठबन्धन भएकोमा असाध्यै खुसी र राम्रो प्रयासको थालनीको रूपमा मानेका छन् । सुरुसुरुमा हामीलाई पनि अचम्म लाग्यो, केन्द्रमा एक खालको घोषणा हुनेबित्तिकै जिल्ला तहमा कसरी कार्यान्वयन होला भन्ने लागेको थियो । तर, हामीभन्दा कार्यकर्ता र जनताले धेरै बुझेका रहेछन् । केन्द्रको एकताको सन्देशलाई वडा, गाउँपालिका, नगरपालिका, प्रदेश र क्षेत्रको भेला–बैठकमा सबैले सकारात्मक रूपमा लिए । दुवै पार्टीको स्थानीय कमिटीको भेला पार्टीको निर्देशन आएपछि सहज रूपमा भयो । जिल्लाको क्षेत्र, प्रदेश, गाउँपालिका र वडाको दुवै पार्टीको संयुक्त भेला गरी संयुक्त निर्वाचन परिचालक कमिटी बनेको छ । अहिले उक्त कमिटीले नै जिल्लाभरिको निर्वाचन परिचालन गरिरहेको छ ।

काङ्ग्रेसका उम्मेदवारले वाम गठबन्धलाई फुटाएर चुनाव जित्ने रणनीति बनाइरहेका छन् नि ?

विगतमा वामपन्थीको किल्ला हुँदाहुँदै पनि पञ्चायतका मण्डले पृष्ठभूमिका अर्जुननरसिंह केसीहरूले कम्युनिस्टलाई फुटाएर चुनाव जित्दै आएका थिए । यो सब कुरा अहिले वाम गठबन्धनका नुवाकोटे नेता र कार्यकर्ताले बुझिसकेका छन् । उनीहरूको योजना यसपालि धुलो चाट्दै छ । नुवाकोटवासीले यसपटक पञ्चायतको अन्तिम अवशेषको रूपमा रहेका अर्जुननरसिंह केसीलाई सधैँका निम्ति हराउँदै छन् र प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आएको महसुस गर्दै छन् । हामी यतिबेला कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक र आममतदाता एक ढिक्का भएर लागेका छाँै र यो मुलुकको वाम एकता र यो मुलुकको एक वाम एक ठामको नीतिलाई नुवाकोटमा कुनै नेता, कार्यकर्ताको वादविवाद, र विद्रोहको सामना गर्नुपरेको छैन । कार्यकर्ताको सकारात्मक ढङ्गले जनताको घरदैलोमा मत मागिरहेका छन् ।

नुवाकोटमा प्रदेशको ४ र प्रतिनिधिसभाको २ गरी ६ वटा निर्वाचन क्षेत्र रहेको छ र ६ वटा निर्वाचन क्षेत्रमा नेकपा एमाले र नेकपा माओवादीको उम्मेदवारहरूले भारी मतले जित्नेछन् । दुवै दलको कार्यकर्ताको एकता देखेर हाम्रो प्रतिस्पर्धी काङ्ग्रेसका हेभिवेट भनिएकाहरू तिलमिलाएका छन् । नुवाकोटको १२ वटा स्थानीय तह र ८८ वटै वडामा हाम्रा दुवै पार्टीका कार्यकर्ताबीच अभूतपूर्व एकता देखिएको छ । उनीहरूमा उत्साह छ, हामी माओवादी केन्द्रको उम्मेदवार भएको ठाउँमा सबै कार्यकर्ताले गोलाकारभित्रको हँसिया–हतौडाभित्र मतदान गर्नुहुनेछ भने एमालेको उम्मेदवार भएको ठाउँमा सबै वामपन्थीहरूले सूर्य चिह्नमा मतदान गर्नुहुनेछ । यो कुरामा द्विविधा छैन र यही कुराको आशा गरेर प्रतिपक्ष हिँडे भने परिणाम आएपछि दङ्ग पर्नेछन् ।

नुवाकोटका क्षेत्र नं. २ का मतदाताले नारायण खतिवडालाई नै मत किन दिने ?

नारायण खतिवडा एउटा प्रतिनिधि पात्र हो । यो मत वाम गठबन्धनका लागि दिने र कम्युनिस्ट पार्टीको पक्षमा यो मतदान गर्ने हो । हामीले पञ्चायतको अन्त्यका लागि आन्दोलन ग-यौँ, पञ्चायतको अन्त्यपछि मुलुकमा बहुदलीय प्रजातन्त्र आयो । तर, जिल्लावासीले बहुदलीय प्रजातन्त्रको संस्कार बोकेका नेता पाउन सकेनन् । काङ्ग्रेसमा पञ्चायतविरुद्ध लड्नेहरूको कहिल्यै पनि प्रतिनिधित्व हुन सकेन । देशमा परिवर्तन भए पनि जिल्लाले परिवर्तनको महसुस गर्न पाएन । यो मेरो उम्मेदवारी यस क्षेत्रका जनताको वास्तविक प्रतिनिधित्व गराउनका लागि हो । म पञ्चायतको चरम, यातना र दमन सहँदै जनतालाई गोलबन्द गर्दै प्रजातन्त्र ल्याउने आन्दोलन होस् वा ०६२/०६३ को लोकतन्त्र र गणतन्त्र स्थापना गर्ने आन्दोलन होस् सबै प्रकारको आन्दोलनमा जिल्लाबाट प्रत्यक्ष सहभागी हँुदै जनतालाई अधिकार दिलाउने, विकास निर्माणका लागि साधन स्रोत जुटाउने काममा सक्रिय हुँदै आइरहेको छु । मलाई भोट दिनु भनेको जनताको सुखदुःखमा साथ दिने नेतालाई छान्नु हो । विगतमा जनताले ठेकेदारलाई जिताउँदा जनताको समस्या समाधानमा कहिल्यै समय दिएनन् । उनले जनतालाई कहिल्यै सम्मान गरेनन्, पैसाको भरमा चुनाव जितेकाहरूको कारणले जिल्ला विकास निर्माणमा पछि परेको मतदाताले बुझ्नुभएको छ । यसपटक जनताले पैसा खर्च गरेर चुनाव जित्ने र जितेपछि जनतालाई सधैँ रैती ठान्नेलाई जिताउने कि जनतालाई सधँै माया गर्ने, अधिकारसम्पन्न गराउने र साधनस्रोतले सम्पन्न बनाउने वाम गठबन्धनलाई जिताउने ? जनताले निर्णय गर्नेछन् । हामी जनतालाई न्यायाधीश ठान्छौँ । काङ्ग्रेसीहरू जनतालाई रैती ठान्छन् ।

प्रतिपक्षका हेभिवेट उम्मेदवारलाई हराएर तपाईंको जित्ने आधार के ?

हेभिवेट भनेको मभन्दा प्रतिपक्ष उम्मेदवार केही किलो बढी होलान् । नुवाकोटमै काम गरेको र नुवाकोटे जनतासँग घनिष्टताका हिसाबले र यहाँको विकास गरेको हिसाबले म परिचित छु । नुवाकोट क्षेत्र नं. २ नेकपा एमालेको साङ्गठनिक आधार भएको ठाउँ हो । नुवाकोट क्षेत्र नं. २ वामपन्थीहरूको आधारभूमि पनि हो । स्थानीय तहको मतलाई हेर्ने हो भने हाम्रो कम्युनिस्टकै वर्चस्व देखिन्छ । यो क्षेत्रको घरघरको समस्या मलाई अवगत छ । मेरा प्रतिस्पर्धीलाई भेट्न जनताले चुनाव नै कुर्नुपर्छ, मलाई भेट्न सधैँ जनताले जिल्लामै पाउनुहुनेछ ।

निर्वाचनमा ठूलै आर्थिक चलखेल हुने गर्दछ, तपाईंले निर्वाचन लड्न कत्तिको आर्थिक जोहो गर्नुभएको छ ?

म ठेकेदार पनि होइन, न कुनै व्यवसायी । मैले कसैको काम गर्दिन्छु भनेर कमिसन पनि खाएको छैन । म विशुद्ध राजनीतिकर्मी । राजनीति पेसा होइन, सेवा हो भन्ने हिसाबले अगाडि बढेको छु । म साथीभाइको सरसहयोगमा चुनाव लडेको हुँ । प्रतिपक्षले केही समाजसेवाको नाममा मतदाता लोभ्याउन पैसा बाँड्न थालेको छ रे भन्ने सुनेको छु । जनता अब पैसा र झुटा आश्वासनमा बिक्दैनन् । उनीहरू पटकपटक काङ्ग्रेसी हेभिवेट भनिएका केसी र महतको आश्वासनले आजित भएका छन् । उनीहरूको भ्रममा मतदाता पर्ने छैनन् । हामी जनताको अभिमत पैसाले खरिद गर्ने चिज होइन भनिरहेका छौँ । उनीहरू जसरी पनि जित्नुपर्छ भनिरहेका छन् । फरक यहीँनिर हो । मत त विश्वासको आधारमा नीति र कार्यक्रम हेरेर पाइने कुरा हो । प्रतिपक्ष पैसा खर्चेर निर्वाचन जित्छु भनेर लागेको छ भने केही पैसा गाउँमा जान्छ । पैसा विकेन्द्रीकरण हुन्छ । गाउँलेले पैसा पाउँछन् । पुलिसको इन्काउन्टरमा गुण्डा मारिँदा त्यो लासलाई बोकेर सदनमा रोइकराई गर्नेहरू अहिले मसँग चुनावी प्रतिस्पर्धामा आएका छन् । भूकम्पले जनताको घर ध्वस्त हुँदा सदनमा एक शब्द नबोल्नेहरू गुण्डा र डनको पक्षमा संसद्मा आवाज उठाउनेहरू अहिले जनताको अभिमत माग्न आएका छन् । कोही भूकम्पपीडितका लागि आएको जस्ता बेच्न लैजाँदै गर्दा जनताले पक्राउ गरी प्रहरीलाई बुझाएका अभियुक्तहरू चुनावी मैदानमा छन् । त्यसैले जनताले आफ्नो प्रतिनिधि कस्तो व्यक्तिलाई छान्ने निर्णय गर्नेछन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top