भदौ १३, नुवाकोट। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले माथिल्लो त्रिशूली जलविद्युत आयोजना क्षेत्रमा भीषण क्षति पुर्याइरहँदा नुवाकोटको विदुर नगरपालिका–४ सिमचौरका किरण विश्वकर्मा भने मृत्युको मुखबाट जोगिन सफल भएका छन्।
भदौ १० गते बुधबार बिहान अचानक उर्लिएर आएको बाढीको भयावह दृश्य, चारैतिरको चीत्कार र आँखैअगाडि बगेका भौतिक संरचनाका बीच उनले जसैतसै आफ्नो ज्यान बचाउन सके। कालको मुखैबाट फर्किएका किरणका लागि यो पुनर्जन्म जस्तै बनेको छ।
उक्त जलविद्युत आयोजनामा कार्यरत किरण अन्य सहकर्मीहरूसँगै दैनिक कार्यमा व्यस्त रहेका बेला माथिल्लो तटीय क्षेत्रबाट लेदोसहितको भयानक बाढी बगेर आयो। नदीमा पानीको सतह एकाएक बढेपछि भागाभागको स्थिति सिर्जना भएको थियो। आफ्नै आँखाअगाडि सहकर्मीहरू घाइते भएको र ज्यान जोगाउन हारगुहार गरिरहेको दृश्यले क्षणभरमै वातावरण स्तब्ध बनाएको उनी बताउँछन्। क्षणभरको अलमलले पनि ज्यान लिन सक्ने भयावह परिस्थितिमा उनले हिम्मत हारेनन् र उच्च भागतिर भागेर आफ्नो ज्यान जोगाउन सफल भए।
यस विनाशकारी बाढीले जलविद्युत आयोजनाका महत्त्वपूर्ण संरचना, उपकरण र सवारीसाधनमा व्यापक क्षति पुर्याएको छ। बाढीले करिडोर क्षेत्रका सडक तथा पुलहरू ध्वस्त पारेपछि उद्धार कार्यमा समेत सुरुमा निकै कठिन चुनौती थपिएको थियो। तर, सुरक्षा निकाय र स्थानीयको निरन्तर प्रयासपछि प्रभावित क्षेत्रबाट केही घाइते तथा फसेका श्रमिकहरूको उद्धार सम्भव भएको छ। किरणले आफ्नो जीवन बचेकोमा राहतको सास फेरे पनि आफ्ना सहकर्मीहरूले भोगेको सास्ती र विपद्को त्यो त्रासपूर्ण क्षण अझै बिर्सन सकेका छैनन्।
घटनापछि हवाई उद्धारबाट गृहजिल्ला नुवाकोटको विदुरस्थित होल्डीङ केन्द्र फर्किएका किरण अहिले परिवारको साथ सुरक्षित छन्। आँखैअगाडि काल नाचेको त्यो दर्दनाक दृश्य सम्झँदै उनले जीवन पाउनुलाई ठूलो सौभाग्य मानेका छन्। प्राकृतिक विपद्को यस्तो भयावह अवस्थामा समयमै सूचना पाउन सके धेरैको ज्यान जोगिन सक्ने अनुभव उनले सुनाए। यतिबेला प्रभावित जलविद्युत आयोजना क्षेत्रमा उद्धार तथा क्षतिको विवरण संकलन गर्ने कार्य जारी छ।