+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा डेंगु रोकथाम सचेतना महिना कार्यक्रम सुरु

डबली खबर
६ घण्टा अगाडी

भदौ २, विदुर । डेंगु रोगको जोखिम न्यूनीकरण तथा रोकथामका लागि नुवाकोटमा सचेतना महिना कार्यक्रम सुरु गरिएको छ।

विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीले आपौचरिकरूपमा सचेतना महिना कार्यक्रमको शुभारम्भ गरेकी हुन् ।

जनस्वास्थ्य कार्यालय नुवाकोटको आयोजनामा सदरमुकाम विदुरदेखि बट्टारको हावाघरसम्म सचेतना कार्यक्रम गरेको कार्यालय प्रमुख डा. अञ्जु कार्कीले जानकारी दिईन् ।

जिल्लास्थित जनप्रतिनिधि, सरकारी कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्थानीय लगायतको सहभागिता रहेको कार्यक्रममा विदुरस्थित निर्माणाधीन सडक तथा सडकछेउमा पानी जम्न सक्ने स्थानको पहिचान गरी सरसफाइ र पानी निकास व्यवस्थापनमा जोड दिइएको नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।

निर्माणाधीन सडकको छेउमा बनेको ढलमा पानी जमेर लामखुट्टेको प्रजननस्थल बन्न सक्ने भएकाले सम्बन्धित निकायलाई तत्काल पानी निकासको व्यवस्था गर्न पहल गरिएको छ। लामो समयसम्म जमेको पानीले एडिज जातको लामखुट्टे वृद्धि हुने र डेङ्गी संक्रमणको जोखिम बढ्ने भएकाले विशेष सावधानी अपनाउनुपर्नेमा सचेत गराइएको जिल्ला आयुर्वेद चिकित्सालय नुवाकोटका प्रमुख डा. नरेन्द्रप्रसाद गिरीले बताए ।

सचेतना कार्यक्रममार्फत घर, टोल तथा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, पानीका भाँडाकुँडा नियमित सफा गर्ने, फोहोर व्यवस्थापन गर्ने तथा लामखुट्टेको बासस्थान नष्ट गर्ने विषयमा जानकारी दिइएको छ।

यस अभियान अन्तर्गत स्थानीय तहको नेतृत्वमा सम्बन्धित वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामुदायिक संस्था तथा अन्य सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गरिने जनाएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले डेंगु जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले साउन, भदौ र असोजलाई डेंगु सचेतना अभियान सुरु गरेको थियो । मन्त्रालयका अनुसार अभियानअन्तर्गत सबै सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा सामुदायिक संस्थामा लामखुट्टेको प्रजननस्थल तथा बासस्थानको खोजी तथा नष्ट गर्न प्रत्येक हप्ता ‘हरेक शुक्रबार, सफा शुक्रबार’ कार्यक्रम सञ्चालन गरिनेछ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ