असार ४, नुवाकोट । जारी तेस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिता २०८३ अन्तर्गत हेटौँडा–६ स्थित गौरीटार रंगशालामा भएको पुरुष फुटबल खेलमा नुवाकोट जिल्लाले सिन्धुलीमाथि जित हासिल गरेको छ ।
खेलको सुरुवाती समयदेखि नै आक्रामक रणनीति अपनाएको नुवाकोटले सिन्धुलीको रक्षापंक्तिलाई निरन्तर दबाबमा राख्न सफल भयो ।
दुवै टोलीले खेलको पहिलो हाफमा गोल गर्ने केही राम्रा अवसरहरू सिर्जना गरे तापनि सदुपयोग गर्न नसक्दा पहिलो हाफ बिनाकुनै गोल बराबरीमा सकिएको थियो ।
खेलको दोस्रो हाफको ६३औँ मिनेटमा नुवाकोटका राम तामाङले सुन्दर गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए ।
यसैगरी, खेलको ६८औँ मिनेटमा रबिन तामाङले अर्को उत्कृष्ट गोल थप्दै नुवाकोटको जित निश्चित गरे ।
प्रतियोगिताका अधिकांश खेलहरु मकवानपुरको हेटौँडामा सञ्चालन भईरहेको छ। प्रतियोगितामा फुटबल, क्रिकेट, भलिबल, बक्सिङ, कराँते, तेक्वान्दो, एथलेटिक्स, ब्याडमिन्टन, पौडी, उसु, आइटिएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराँते, बुद्धिचाल, जुडो र टेबल टेनिस गरी १५ वटा खेल विधा समावेश गरिएको छ ।
महिला क्रिकेट तथा कराँतेका प्रतिस्पर्धा चितवनमा आयोजना भैरहेका छन भने भलिबल, पौडी, उसु र जुडोका खेलहरु काठमाडौं र ललितपुरका खेलस्थलमा सञ्चालन हुनेछन् ।
एथलेटिक्सका खेलहरु भने औपचारिक उद्घाटनअघि नै असार १ गतेदेखि हेटौंडाको पिप्ले–क्याम्पा रंगशालामा सुरु भएको थियो ।

प्रतिक्रिया