जेठ ४, सङ्गमचोक, बट्टार । मनसुन भित्रिनै लाग्दा सम्भावित प्राकृतिक विपद्को जोखिमलाई न्यूनीकरण गर्न र पूर्वतयारीलाई तीव्र पार्न नेपाली सेनाको नुवाकोटस्थित शेर गणको समन्वयमा बैठक भएको छ।
विपद्का समयमा सुरक्षा निकाय, सरकारी सरोकारवाला निकाय र स्थानीय समुदायबीच प्रभावकारी समन्वय, शीघ्र प्रतिकार्य एवं सक्रिय सहभागिता गराई जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तह र तिनका वडाहरूको जोखिमस्थिति समेत विश्लेषण गरिएको हो।
नुवाकोटमा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, प्रहरी प्रमुख बिपिन रेग्मी, सशस्त्र प्रहरी प्रमुख गङ्गा केसीलगायत समितिका सदस्यहरुको बैठकमा बिपद् व्यवस्थापनका मुख्य चरणहरू पूर्वतयारी, प्रतिकार्य, पुनर्लाभ र न्यूनीकरणका सवालमा सबै निकायहरूको भूमिका र समन्वयात्मक कार्यसम्पादनबारे बृहत् छलफल गरिएको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी रेग्मीले विपद नजिकिदै गर्दा पुर्वतयारीमा सुरक्षा संयन्त्र कार्य गर्दै गरेको बताउँदै विपदमा सहि सूचना र जानकारी सम्प्रेषणको लागि एकद्वार प्रणाली अवलम्बन गर्न जोड दिए । शहरी र गाउँको भौतिक संरचनाको मापदण्डअनुसार विपदको तयारी फरकफरक हुने भएकोले स्थानीय तहसँगको सहकार्य रहेको उनले बताए। स्थानीय तहले विकास निर्माण गर्दा व्यवस्थापन समितिको आदेश तथा स्वीकृत लिएर मात्र गर्नुपर्ने छ। जसले गर्दा खुल्ला स्थानको पहिचान गर्नमा सहज हुने उनले बताए । नागरिकलाई सुसूचित गरेर विपद जोखिम न्यूनीकरण गर्नमा संचारमाध्यमको अहम भूमिका हुने भएकोले सहि र तथ्यमा आधारित जानकारी मात्र सम्प्रेषण गर्नुपर्ने उनले बताए ।
विपदको निरीक्षण र प्रतिकार्यको लागि भेगअनुसार ड्रोन उपकरणको माध्यमबाट निरीक्षण, नदीको बहाव थाहा पाउन साईरन, मौसम विभागको जानकारीलगायतको प्रणाली अपनाउनुपर्ने प्रहरी प्रमुख रेग्मीले बताए ।
बैठकमा जिल्लाका १२ वटै स्थानीय तहका वडाहरूलाई बाढी तथा पहिरोको जोखिमका आधारमा वर्गीकरण गरेको विवरण प्रस्तुत गरेको छ। जसअनुसार किस्पाङ गाउँपालिकाका वडा नं. २, ३, ४ र ५, म्यागाङ गाउँपालिकाका १ देखि ६ सम्मका सबै वडा, तारकेश्वर गाउँपालिकाका वडा नं. १, २ र ४, तथा विदुर नगरपालिकाका वडा नं. ५, ९, १०, ११ र १३ लाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको छ।
त्यसैगरी बेलकोटगढी नगरपालिकाका वडा नं. ४, ६, ८, ९ र ११, सूर्यगढीका १, २ र ३, लिखुका १, २, ३ र ४, ताँदीका १, २, ३ र ४, पञ्चकन्याका ३ र ४, दुप्चेश्वरका १, २, ६ र ७, ककनीका १ र २ तथा शिवपुरी गाउँपालिकाका वडा नं. ३ र ५ लाई पनि बाढी र पहिरोको उच्च जोखिममा राखिएको छ। अन्य वडाहरूलाई मध्यम र न्यून जोखिमको सूचीमा राख्दै सोहीअनुरूप प्रतिकार्य योजना बनाउन जोड दिइएको छ।
जिल्लामा विगतको विपद्को अवस्थालाई हेर्दा स्थिति निकै संवेदनशील देखिन्छ। गत वर्षको वैशाख १ गतेदेखि २०८३ वैशाख २ गतेसम्ममा जिल्लाभर बाढीका ८, पहिरोका १४, आगलागीका १६ र चट्याङका ३ वटा घटना दर्ता भएका थिए। यी घटनाहरूमा परि बाढीबाट १ जनाले ज्यान गुमाएका थिए भने कुल १४ जना घाइते भएका थिए। यसका साथै ४९ वटा पशु चौपायाको क्षति हुनुका साथै विभिन्न घटनामा गरी कुल ३७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको तथ्याङ्क छ। यस्ता क्षतिलाई आगामी दिनमा रोक्नका लागि नै पूर्वतयारी स्वरूप यो रणनीतिक योजना अघि सारिएको हो।
विपद्को सामना गर्न विभिन्न पाँचवटा मुख्य परिदृश्यमा आधारित रहेर समाधानका उपायहरूमाथि गहन छलफल गरिएको शेर गणका प्रमुख आविष्कार ढुंगानाले बताए । पहिलो प्राथमिकतामा जिल्लाको प्रारम्भिक चेतावनी प्रणालीलाई चुस्त बनाउने र छिमेकी जिल्लाहरू रसुवा र धादिङसँग समन्वय गर्ने संयन्त्रबारे छलफल गरिएको उनले जानकारी दिए । दोस्रोमा त्रिशूली किनारका बस्तीहरू र पुरानो त्रिशूली बजारका करिब १५० घरपरिवारलाई आगामी सम्भावित विपद पुर्व सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था आएमा विदुर नगरपालिकाभित्रका सुरक्षित स्थानहरूको पहिचान र व्यवस्थापन गर्न विदुर नगरपालिकाको समन्वयमा गर्ने निर्णय भएको उनले बताए ।
यसैगरी, किस्पाङ र सूर्यगढीका विभिन्न स्थानमा एकैसाथ पहिरो गएको अवस्थामा स्रोत साधनको परिचालन र पूर्व-भण्डारण कसरी गर्ने भन्नेबारे रणनीति तय गरिएको छ। टोखा–छहरे र गल्छी–त्रिशूली–स्याफ्रुबेसी सडकखण्डका मुख्य मार्ग र पुलहरू क्षतिग्रस्त भई अवरुद्ध भएमा सडक विभाग र जिल्ला प्रशासन कार्यालयमार्फत तत्काल मर्मत गरी अस्थायी वैकल्पिक मार्ग सञ्चालन गर्ने र गम्भीर अवस्थामा बिरामी तथा घाइतेहरूको उद्धारका लागि हवाई सेवा समेत प्रयोग गर्ने गरी सुरक्षा निकायहरूलाई तयारी अवस्थामा रहन निर्देश गरिएको छ।
बैठकमा त्रिशूली अस्पतालका मनोचिकित्सक विशेषज्ञ डा. सन्देशराज उपाध्याय, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, विदुर नगरपालिकाका विपद व्यवस्थापन शाखा प्रमुख सुबास पाण्डे, जनस्वास्थ्य कार्यालयका प्रतिनिधि, नेपाल रेडक्रस सोसाईटी नुवाकोटका प्रमुख समुन्द्रबाबु अधिकारीलगायतले आआफ्नो क्षेत्रको पुर्वतयारी बारे जानकारी गराएका थिए ।
बैठकले स्थानीय समुदायको विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्न र सरोकारवालाहरूबीचको सहकार्यलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने निष्कर्ष निकालिएको छ।
प्रतिक्रिया