+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली अस्पतालमा करिब एक लाख सेवाग्राहीले लिए उपचार सेवा

डबली खबर
१ हप्ता अगाडी

२४ चैत, नुवाकोट । बागमती प्रदेशमै स्तरमापन गरिएको सरकारी स्वास्थ्य संस्थाको रूपमा स्थापित त्रिशूली अस्पतालले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिमा स्वास्थ्य सेवा प्रवाहमा करिब एक लाख सेवाग्राहीले स्वास्थ्य उपचार सेवा लिएका छन् ।

चालुआर्थिक वर्षको साउनदेखि फागुनमसान्तसम्मको अवधिमा अस्पतालले बहिरङ्ग (ओपिडी), आकस्मिक, शल्यक्रिया र ल्याब परीक्षणमा विगतका वर्षहरूको तुलनामा २० प्रतिशतभन्दा बढीको वृद्धिदर कायम गरेको छ। अस्पतालकाअनुसार यस अवधिमा ९९ हजार ८४३ जना सेवाग्राहीले उपचार गराएका छन्। जसमा बहिरङ्गमा ८८ हजार २३९ जना, आकस्मिकमा ११ हजार ६०४ जना र भर्ना भएकामा२ हजार ५५१ जना बिरामीले सेवा लिएका छन् ।

अस्पतालले पछिल्लो आठ महिनामा आफ्नो भौतिक संरचना, प्रविधि र विशेषज्ञ जनशक्तिमा गरेको लगानीको परिणाम अहिले तथ्यांकमा स्पष्ट देखिएको हो। विगतमा सामान्य उपचारका लागि पनि राजधानी काठमाडौं धाउनुपर्ने बाध्यतालाई चिर्दै अस्पतालले अहिले जिल्लाबासी मात्र नभई छिमेकी रसुवा र धादिङका नागरिकलाई समेत घरदैलोमै गुणस्तरीय सेवा प्रदान गरिरहेको छ।

अस्पतालमा दैनिक औसत ३०० देखि ५०० बिरामीहरू उपचारका लागि आउने गरेका छन् । विशेषगरी मौसमी रोगहरूको संक्रमण र दीर्घरोगको नियमित परीक्षणका लागि आउनेहरूको संख्या ठूलो छ।

आकस्मिक कक्षमा २४ सै घण्टा विशेषज्ञ चिकित्सकको निगरानीमा रहने गरी सेवालाई चुस्त बनाइएको छ, जसका कारण ‘रेफर’ हुने दरमा १५ प्रतिशतले कमी आएको छ।

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा ४७ जनाले सेवा लिएका छन्। जसमा बढी आफन्तहरुबाट ३९ जना र बाहिरबाट ८ जनाबाट पिडित भएका छन्। पिडित हुनेमा १९ वर्षदेखि ४९ वर्ष उमेर समुहका बढी महिलाहरु रहेका छन् । यस अवधिमा ४४ महिला र ३ पुरुष पिडितले सेवा लिएका छन् ।

अस्पतालको सबैभन्दा बलियो पक्ष मातृ स्वास्थ्य सेवा बनेको छ। यस अवधिमा मात्रै ५०१ जना महिलालाई सुत्केरी सेवा प्रदान गरिएको छ । जसमा जटिल प्रकारका शल्यक्रियामार्फत् हुने प्रसूतिमा २४२ जना र सामान्यमा २५९ जना महिला रहेका छन्। जन्मने शिशुको तौल १ किलो ५० ग्रामभन्दा कम धेरै शिशुको रहेको हुनाले उचित मातृशिशुको स्वास्थ्यमा ध्यान दिनु सल्लाह दिईएको छ।

अस्पतालले सामान्य र जटिल शल्यक्रियाहरू समेत सफलतापूर्वक सम्पन्न गर्दै आएको छ। हाडजोर्नी, गाइनोकोलोजी, र जनरल सर्जरीमा अस्पतालले दक्ष सर्जनहरूको टोली परिचालन गरेको छ। पछिल्लो आठ महिनामा ९१५ भन्दा बढी ठूला र साना शल्यक्रियाहरू भएका छन्। साना शल्यक्रियाहरू ३ हजार ३४४ वटा रहेका छन् ।

अस्पतालको प्रयोगशालामार्फत ३९ हजार ११८ जनाले विभिन्न सेवाहरू रहेका छन् । जसमा एक्स-रे १७ हजार ६२०, ‘युएसजी’ १० हजार ५३६, ‘इसिजी’ ८ हजार ६७६, ‘एन्डोस्कोपी ८०, सिटीस्क्यान ८७८, र ‘इकोकार्डियोग्राम’ १७३ जनाले सेवा लिएका लिएका छन् ।

स्वास्थ्य बीमाको सहजताले मृगौला रोगका बिरामीहरुमा सहजता भएको देखाएको छ। उक्त अवधिमा नियमित रुपमा ४० जना बिरामीले सेवा लिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ