१६ चैत, देवीघाट । नुवाकोट साहित्य प्रतिष्ठान नेपालले सोमबार एक विशेष साहित्यिक समारोहका बीच दुई नयाँ कृतिहरूको विमोचन गरेको छ ।
विदुर नगरपालिका-५ देवीघाटस्थित ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको हलमा साहित्यकारद्वय जानुका दाहालको पहिलो कृति ‘गर्भको नि:श्वास’ र श्रीराम श्रेष्ठको ३१ औं कृति ‘कृतिसँग संवाद’ (पठन, प्रश्न र ध्वनि) सार्वजनिक गरिएको हो । कार्यक्रममा जिल्लाका लब्धप्रतिष्ठित साहित्यकार, बुद्धिजीवी तथा समाजसेवीहरूले दुई कृति विमोचन गरेका हुन् ।
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति राजु थापा, प्रतिष्ठानका निवर्तमान अध्यक्ष रामकृष्ण गजुरेल, समाजसेवी रामकृष्ण भट्ट, ध्रुव ढकाल, शिक्षा विज्ञ शम्भुप्रसाद शर्मा, रामप्रसाद जोशीलगायतले कृतिको बारेमा चर्चा गरेका थिए । नुवाकोटको साहित्यिक श्रीवृद्धि र सर्जकहरूको प्रोत्साहनका लागि निरन्तर क्रियाशील रहँदै आएको नुवाकोट साहित्य प्रतिष्ठानको समेत प्रसंशा गरेका थिए ।
साहित्यकार जानुका दाहालको पहिलो कृति ‘गर्भको नि:श्वास’ एकहजार एकसय प्रति प्रिन्ट भएको पुस्तक १५५ पृष्ठ रहेको छ । जसमा ६६ कविता संग्रहहरु समेटिएको छ । पुस्तकको मुल्य २७५ रुपैँया रहेको छ।
र श्रीराम श्रेष्ठको कृति ‘कृतिसँग संवाद’ (पठन, प्रश्न र ध्वनि) मा एकहजार प्रति प्रिन्ट भएको पुस्तक २८८ पृष्ठ रहेको छ । जसमा विभिन्न २४ साहित्यकारहरुको कृतिहरुको समिक्षा समेटिएको छ । पुस्तकको मुल्य व्यक्तिगत ३०० र संस्थागत ५०० रुपैँया रहेको छ।