पुस २१, नुवाकोट। विदुर नगरपालिकाले बाँझोपन भएका पशुको पहिचान गरी उपचार गर्ने उद्देश्यले निःशुल्क शिविर सञ्चालन गरेको छ । शिविर कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनको प्राविधिक सहयोगमा भएको हो ।
नगरप्रमुख राजन श्रेष्ठले प्रविधिमार्फत् भिडियो एक्सरेको सहयोगमा चिकित्सकले समस्याको पहिचान गर्ने र निवारणका लागि औषधिसहितको परामर्श सेवा उपलब्ध दिने जानकारी दिए । नगरका ८ वटा वडामा १८ किसानले पालेका २१ गाई र ३ वटा भैंसीमा समस्याको पहिचान भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।
कृषकहरुको मागको आधारमा विदुर नगरपालिका पशु सेवा शाखाको वार्षिक स्वीकृत कार्यक्रमअनुसार गाई र भैंसीमा बाँझोपन निवारणका लागि शिविर सञ्चालन गरिएको नगरउपप्रमुख प्रभा बोगटीले जानकारी दिईन् । यस कार्यक्रमले कृषकहरूलाई पशु प्रजनन समस्याबारे सचेतना फैलाउन र उत्पादनशीलता बढाउन मद्दत पुर्याउने बताईन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपप्राध्यापक डा. शत्रुधन शाहका अनुसार खाद्यतत्वको सन्तुलन नहुदाँ बाँझोपनको समस्या देखिएको छ । किसानले उन्नत जातका पशुपालन गरे पनि सोहीअनुसार बासस्थान र खानपान मिलाउन नसकेकाले
समस्या आएको उनले बताए ।
नगरपालिकाका पशु सेवा शाखाका प्रमुख डा. सुजता अधिकारीले पशु चिकित्सक र प्राविधिकको टोलीद्वारा नगरका किसानले पालन गरेका गाईभैँसीको भिडियो एक्सरेमार्फत् पाठेघर र डिम्बको अवस्था परीक्षण गरी समस्या पहिचान गरिएको जानकारी दिइन् ।

प्रतिक्रिया