१ पुस, बट्टार । चौथौँ संस्करणको एनयुएफसी फुटबल प्रतियोगिता नुवाकोटको बट्टारमा सुरु भएको छ ।
नुवाकोट युनाईटेड फुटबल क्लबको आयोजनामा भएको अन्तरविद्यालय जिल्लास्तरीय छात्र र छात्रा फुटबल प्रतियोगिताको उद्घाटन विदुर नगरपालिका-४ का वडा अध्यक्ष निलमबाबु ढुङ्गेलले गरेका छन् ।
उद्घाटन खेलको छात्रतर्फ चन्द्रज्योति माध्यमिक विद्यालयले पिपलडाँडा माध्यमिक विद्यालयलाई ६-० गोल अन्तरले हराए । पहिलो हाफमा चन्द्रज्योतिले ३ गोलले अग्रता लिएको थियो । खेललाई दबदबामा राखेको चन्द्रज्योतिले दोस्रो हाफमा थप ३ गोल गर्दै विजयी भएका छन् ।
खेलमा चन्द्रज्योतिका जर्सी नम्बर १० का सोनाम तामाङ म्यान अफ दि म्याच खेलाडी घोषित भएका छन् ।
यस्तै, छात्रातर्फको खेलमा अर्किड एकेडेमी नुवाकोटले दाङसिङ माध्यमिक विद्यालयलाई १-० अन्तरले हराउँदै जीत हासिल गरेका छन् । खेलमा अर्किडका जर्सी नम्बर ११ की सोफिया गुरुङ म्यान अफ दि म्याच खेलाडी घोषित भईन् ।
प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष ढुङ्गेलले विद्यार्थीलाई विद्यालयस्तरदेखिनै खेलकुदसम्बन्धि ज्ञान र प्रशिक्षण दिनुपर्ने बताए।
नुवाकोट जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङले निजीस्तरबाट जिल्लाको खेलकुदमा लगानीलाई बढाउनुपर्ने धारणा राखेका छन् । आफ्नो कार्यकालमा जिल्लास्थित सम्पूर्ण खेलकुदसम्बन्धि सङ्घ संस्थालाई एकीकृत गर्दै समितिको भवनमा कार्यालय खोल्न पहल गर्ने बताए ।
प्रतियोगितामा छात्रतर्फ १५ र छात्रातर्फ ५ समुहले सहभागिता जनाएको आयोजक क्लबका अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिए ।
प्रतियोगिताका विजेताले छात्रतर्फ ३० हजार र छात्रातर्फ १५ हजार नगद पुरस्कार र उपविजेता छात्रतर्फ १५ हजार र छात्रातर्फ ७ हजार ५०० रुपैँया नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, स्कोरर र उत्कृष्ट प्रशिक्षकले नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया