+
Search

ताजा अपडेट +

पपुलर +

‘वर्डक्याम्प काठमाडौं २०२६’को तयारी तीव्र

word camp kathmandu.wordcamp.org
डबली खबर
३३ मिनेट अगाडी

काठमाडौँ । आगामी सेप्टेम्बर १८ र १९ मा आयोजना हुने वर्डप्रेस समुदायको सबैभन्दा ठूलो सम्मेलन ‘वर्डक्याम्प काठमाडौं २०२६’को तयारी तीव्र पारिएको छ।

नेपालको सूचना प्रविधि र डिजिटल अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको उक्त सम्मेलन वर्डप्रेस काठमाडौंमा हुन लागेकाे हाे।

सम्मेलनमा अमेरिका, युरोप, बङ्गलादेश, इन्डियालगायतका राष्ट्रिय र अन्तर्राष्ट्रियका पाँचसयभन्दा बढी सहभागी र ३० भन्दा बढी विज्ञ वक्ताहरूको सहभागिता रहने उक्त सम्मेलनले उपत्यकाको ऐतिहासिक सम्पदा र खुला स्रोत दर्शनको सहकार्यलाई जोड्ने लक्ष्य राखेको छ।

विश्वको करिब ४३ प्रतिशत वेबसाइट सञ्चालन गर्ने वर्डप्रेसले नेपालका विकासकर्ता, डिजिटल उद्यमी र एजेन्सीहरूलाई विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न उत्कृष्ट आधार प्रदान गरिरहेको सन्दर्भमा यो सम्मेलनलाई निकै चासोका साथ हेरिएको छ।

दुई दिनसम्म चल्ने यस कार्यक्रमको पहिलो दिन वर्डप्रेसलाई अझ सुरक्षित, उत्कृष्ट तथा सबल बनाउन कसरी योगदान गर्न सकिन्छ भन्नेबारे जानकारी तथा विशेष योगदान गर्ने दिन रहेको छ भने दोस्रो दिन मुख्य सम्मेलन हुनेछ।

सम्मेलनमा कृत्रिम बौद्धिकता (एआई), साइबर सुरक्षा, उन्नत एसइओ र डिजिटल मार्केटिङ जस्ता समसामयिक र भविष्यमुखी प्राविधिक विषयहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन्। प्राविधिक नेतृत्व विकास र प्रविधिको विकेन्द्रीकरणलाई जोड दिँदै यसअघि बुटवल, पोखरा र भरतपुरमा समेत वर्डक्याम्प सफलतापूर्वक सम्पन्न भइसकेका छन्। यसले मोफसलमा पनि प्रविधिप्रतिको आकर्षण बढाउनुका साथै ‘टेक-टुरिजम’ को सम्भावनालाई उजागर गरेको छ।

नेपालमा वर्डप्रेस समुदायको जग बसाल्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका स्व. उज्ज्वल थापाको सम्मानमा स्थापित ‘उज्ज्वल थापा मेमोरियल छात्रवृत्ति’ ले सीमान्तकृत र विपन्न विद्यार्थीहरूलाई प्रविधिको मूल प्रवाहमा ल्याउन विशेष योगदान दिइरहेको छ। वर्डप्रेसले युवाहरूलाई स्वतन्त्र पेशा (फ्रिलान्सिङ) मार्फत वैदेशिक मुद्रा आर्जन गर्न, स्वदेशमै रोजगारी सिर्जना गरी प्रतिभा पलायन रोक्न र साना व्यवसायहरूलाई डिजिटल रूपान्तरण गर्न क्रान्तिकारी भूमिका खेलेको छ।

पारदर्शी डिजिटल टिकट प्रणाली र समावेशी नेतृत्वसहित आयोजना हुन लागेको यस सम्मेलनले नेपाललाई दक्षिण एसियाकै प्रमुख आईटी हबको रूपमा विकास गर्न थप मद्दत पुग्ने विश्वास लिइएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ