१५ चैत, नुवाकोट । विदुर नगरपालिकाले शैक्षिक सत्र २०८१ मा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यालय तथा विद्यार्थीहरूलाई एक विशेष समारोहका बीच सम्मान एवम् पुरस्कृत गरेको छ।
आइतबार विदुरमा आयोजित ‘शैक्षिक सम्मान तथा पुरस्कार वितरण कार्यक्रम’ मा नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभ बोगटी, वडाध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृतलगायतले गत शैक्षिक सत्रमा विदुर नगरपालिका क्षेत्रका उत्कृष्ट नतिजा ल्याउने शिक्षण संस्था र विद्यार्थीहरूलाई नगद सहित सम्मान गरिएको हो।
नगरपालिकाले परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने ३७ वटा विद्यालयहरू सम्मानित गरिएको छ । विद्यार्थीतर्फ कक्षा ५, ८, एसइई र कक्षा १२ को परीक्षामा ४ जीपीए हासिल गर्ने ७ जना विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको छ । त्यसैगरी, ३.८० वा सोभन्दा माथि जीपीए प्राप्त गर्न सफल विद्यार्थीसहित कुल २०१ जना विद्यार्थीहरूलाई पनि नगद पुरस्कार र प्रशंसापत्रद्वारा हौसला प्रदान गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख राजन श्रेष्ठले शिक्षाको गुणस्तर सुधार र प्रतिस्पर्धात्मक भावनाको विकास नै नगरपालिकाको मुख्य प्राथमिकता रहेको बताए । “विद्यार्थीहरूको मेहनत र विद्यालयको समर्पणलाई कदर गर्न पाउँदा हामीलाई गर्व लागेको छ। यस्ता कार्यक्रमले विद्यार्थीको मनोबल बढ्नुका साथै अन्यलाई पनि उत्कृष्टताका लागि प्रेरित गर्नेछ,” उनले उल्लेख गरे।
शैक्षिक उपलब्धिलाई सामाजिक मान्यता प्रदान गर्दै समग्र नगरको शैक्षिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको उपप्रमुख बोगटीले बताईन् ।
विदुर नगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने संस्थाहरूलाई प्रोत्साहन गर्न र शैक्षिक वातावरणलाई थप सुदृढ बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको नगरपालिकाका सामाजिक विकास समितिका संयोजक लेनिन रञ्जितले जानकारी दिए ।
सम्मानित विद्यार्थीहरूमा देखिएको उत्साहले आगामी दिनमा जिल्लाकै शैक्षिकस्तर थप उकासिने नगरपालिकाले अपेक्षा गरेको छ।





























































प्रतिक्रिया