+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्काउटका प्रशिक्षार्थीलाई प्रमाणपत्र तथा पुरस्कार वितरण

स्काउटका प्रशिक्षार्थीलाई प्रमाणपत्र तथा पुरस्कार वितरण
डबली खबर
३ हप्ता अगाडी

७ चैत, नुवाकोट । शिवपुरी गाउँपालिका वडा नम्बर ६ स्थित समुन्द्रा माध्यमिक विद्यालयमा सञ्चालित स्काउट तालिमका सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको छ। स्थानीय स्काउट शिवपुरी कार्यालय र समुन्द्रा स्काउट ट्रुपको समन्वयमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै ६ नम्बर वडा का अध्यक्ष विष्णु श्रेष्ठले विद्यार्थीको सर्वाङ्गिण विकासका लागि स्काउटजस्ता अतिरिक्त क्रियाकलाप आवश्यक रहेको बताए । उनले स्थानीय सरकारले शिक्षा र अनुशासित जनशक्ति निर्माणका लागि स्काउट अभियानलाई सधैं प्रोत्साहन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

सो अवसरमा स्काउटका अन्तर्राष्ट्रिय प्रशिक्षक दामोदर बस्नेतले विद्यार्थीहरूलाई स्वअनुशासनमा राख्न र ‘म भन्दा हामी’ भन्ने सामूहिक भावनाको विकास गर्न स्काउट तालिम अपरिहार्य रहेको उल्लेख गरेका थिए । बालबालिकाहरूमा देशभक्ति भाव जगाउँदै उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन स्काउटले जगको काम गर्ने उनको भनाइ थियो।

विद्यालयका प्रधानाध्यापक महेन्द्र ढकालले स्काउट तालिम प्राप्त गरेपछि विद्यार्थीहरूको व्यवहारमा सकारात्मक परिवर्तन आएको बताए । उनले विद्यार्थीहरू पहिलेको तुलनामा थप अनुशासित, जिम्मेवार र सामाजिक कार्यमा तत्पर देखिन थालेको भन्दै स्काउट ट्रुपको सक्रियताको प्रशंसा गरेका थिए ।

समारोहमा नेपाल स्काउटको तर्फबाट शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउने (उच्च जीपीए प्राप्त गर्ने) विद्यार्थीहरूलाई नगद पुरस्कार, खादा र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो। साथै, स्काउट तालिम सफलतापूर्वक सम्पन्न गर्ने सबै विद्यार्थीहरूलाई दीक्षित गर्दै उनीहरूको उपलब्धिको कदर स्वरूप प्रमाणपत्र प्रदान गरिएको थियो।

समुन्द्रा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न व्यक्तित्वहरू, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको समापन गर्दै सभापतिले स्काउटको माध्यमबाट विद्यालयको प्रतिष्ठा र विद्यार्थीको क्षमता अभिवृद्धिमा सहयोग पुगेको धारणा राखेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ