७ पुस, नुवाकोट । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, जिल्ला समिति नुवाकोटले एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी फागुन २१ गते हुन गइरहेको संसदीय निर्वाचनको सशक्त बहिष्कार गर्ने घोषणा गरेको छ।
पार्टीका जिल्ला सेक्रेटरी अर्जुनलाल श्रेष्ठ ‘प्रसिद्ध’ द्वारा हस्ताक्षरित विज्ञप्तिमा वर्तमान सरकार र संसदीय व्यवस्था पूर्ण रूपमा असफल भएको दाबी गर्दै नयाँ जनवादी क्रान्तिको दिशामा अघि बढ्न आह्वान गरिएको छ।
‘कठपुतली सरकार’ र विदेशी हस्तक्षेपको आरोप
विज्ञप्तिमा उल्लेख भए अनुसार गत भदौ २३ र २४ गते ‘जेन-जी’ पुस्ताले सामाजिक सञ्जाल प्रतिबन्ध र ‘नेपो किड्स’ को विषयलाई लिएर गरेको आन्दोलन पछि गठन भएको पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वको सरकारलाई पार्टीले ‘कठपुतली’ को संज्ञा दिएको छ।
उक्त सरकार जेने-जी आन्दोलनको मर्म र संविधान विपरित विदेशीको योजनामा निर्माण भएको आरोप पार्टीले लगाएको छ। देशमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाको अवस्था विकराल बन्दै गएको, भ्रष्टाचार मौलाएको र युवा पलायन बढेको भन्दै पार्टीले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रप्रति तीब्र असन्तुष्टि व्यक्त गरेको छ।
संसदीय व्यवस्थाको असफलताले देश नयाँ विकल्पको खोजीमा रहेको बेला विदेशीहरूको इसारामा जबरजस्ती फागुन २१ गते निर्वाचन गराउन लागिएको पार्टीको ठहर छ।
विज्ञप्तिमा भनिएको छ, “यो निर्वाचनले न युवा पुस्ताको भावनाको प्रतिनिधित्व गर्छ, न त राष्ट्रिय हितको नै सुनिश्चितता हुन्छ।” निर्वाचनबाट आउने प्रतिनिधिहरूले केवल ‘नयाँ खोल ओढेर’ पुरानै संसदीय व्यवस्था र साम्राज्यवादको सेवा गर्ने पार्टीको निष्कर्ष छ।
पार्टीले ‘कठपुतली सरकार’ द्वारा आयोजित चुनावलाई साम्राज्यवाद र विस्तारवाद प्रायोजित भन्दै त्यसको सशक्त बहिष्कार गर्न अपिल गरेको छ।
पार्टीले स्वाधिन संयुक्त सरकार निर्माणका लागि संघर्ष गर्न सम्पूर्ण न्यायप्रेमी जनसमुदाय, महान जनयुद्ध र जनआन्दोलनका पक्षधरहरूलाई आग्रह गरेको छ। साथै, वैज्ञानिक समाजवाद स्थापनाको दिशामा अघि बढ्न समेत विज्ञप्तिमार्फत आह्वान गरिएको छ।





















प्रतिक्रिया