sujim bazar advert

१५औं महाधिवेशन: नेपाली कांग्रेसको रूपान्तरणको बाटोमा

श्रीराम श्रेष्ठ     पुस ६, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

15th General Convention On the path of transformation of the Nepali Congress 2082
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नेपाली कांग्रेस देशको सवैभन्दा पुरानो लोकतान्त्रिक पार्टी हो । नेपालको राजनीतिक इतिहासका हरेक कालखण्डमा भएका आन्दोलनमा लोकतन्त्र स्थापनाका लागि लडेको र नेतृत्वदायि भूमिका निर्वाह गरेको ऐतिहासिक पार्टी हो नेपाली कांग्रेस । लोकतन्त्र स्थापनाका लागि बीपी कोइराला, सुवर्णशमशेर, गणशेमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाजस्ता नेताहरुले कांग्रेसलाई नेतृत्व दिएर अनवरत रुपमा देशमा प्रजातन्त्र स्थापनाका लागि आजीवन संघर्षमा बिताए । कैयौं नेता कार्यकर्ताले लोकतन्त्रका लागि बलिदानी दिए र हजारौं कार्यकर्ताले संघर्ष गरिरहे । यसर्थ पनि नेपालका लागि लोकतन्त्र र लोकतन्त्रका लागि कांग्रेस जीवित, संगठीत र सक्रिय रहनुपर्छ । नेपालको लोकतान्त्रिक आन्दोलनको मियो राजनीतिक पार्टी नेपाली कांग्रेस यतिबेला सम्भवत आफ्नो इतिहासकै सबैभन्दा संवेदनशील र चुनौतीपूर्ण मोडमा उभिएको छ । देशमा भर्खरै सम्पन्न भएको जेन–जीको विद्रोहले परम्परागत राजनीति र स्थापित दलहरूको जग हल्लाइदिएको छ । यो विद्रोह केवल सत्ता परिवर्तनको खेल मात्र थिएन, यो त वषौंदेखिको कुशासन, ढिलासुस्ती, भ्रष्टाचार र नेतृत्वको यथास्थितिवाद विरुद्धको संगठित डिजिटल र भौतिक आक्रोश पनि थियो । यही जनविद्रोहको राप र तापबाट बजनेको अन्तरिम सरकारले पाएको आफ्नो म्यान्डेट अनुसार आगामी फागुन २१ गते आम निर्वाचनको घोषणा गरिसकेको छ । सँगसँगै, नेपाली कांग्रेसले पनि आफ्नो १५औं महाधिवेशनको मिति र कार्यतालिका सार्वजनिक गरेको छ । यस्तो अवस्थामा नेपाली कांग्रेसका अगाडि दुई ठूला र गम्भीर चुनौतीहरू एकसाथ खडा भएका छन् । पहिलो, १५औं महाधिवेशनमार्फत् पार्टीलाई साँच्चिकै रूपान्तरण गरेर नयाँ पुस्ताको भावनासँग जोड्नु र दोस्रो, त्यसको लगत्तै आउने फागुन २१ गतेको निर्वाचनमा जनताको विश्वास जितेर देशलाई स्थिरता र समृद्धिको बाटोमा देखिने र महसुस गर्न सकिने गरी अगाडि बढाउनु हो ।

सबैभन्दा पहिले कांग्रेसले यो बुझ्न जरुरी छ कि ‘जेन–जी विद्रोहको खास चुरो कारण र परिस्थितिको सिर्जना किन भयो ? २००७ साल, २०४६ साल र २०६२/६३ सालको आन्दोलनको नेतृत्व गरेको कांग्रेसलाई किन आजको युवाले आफ्नो प्रतिनिधि ठानिरहेको छैन ? उत्तर स्पष्ट छ, हिजोको पुस्ताले स्वतन्त्रता खोजेको थियो, आजको पुस्ताले स्पष्ट परिणाम खोजिरहेको छ । त्रिभुवन विमानस्थलमा राहदानी बोकेर लाइन लागेको युवाले बीपी कोइरालाको समाजवादको व्याख्या मात्र सुनेर चित्त बुझाउँदैन, उसले स्वदेशमै रोजगारी र आत्मसम्मान खोजिरहेको छ । पछिल्लो विद्रोहले स्पष्ट सन्देश दिएको छ कि अब हामीले राणा फाल्यौं, राजा फाल्यौं भनेर भजाउने दिन गइसकेको छ । अबको राजनीति प्रविधिमैत्री, पारदर्शी, जवाफदेही र ‘मेरिटोक्रेसी’ अर्थात योग्यतामा आधारित हुनुपर्छ भन्ने सन्देश सडकबाट गुञ्जियो । नेपाली कांग्रेस आफैंमा एउटा ठूलो र लामो इतिहास बोकेको लोकतान्त्रिक पार्टी हो, यदि उसले यो बदलिएको मनोविज्ञानलाई सम्बोधन गर्न सकेन भने आगामी निर्वाचनमा यसको अस्तित्व केवल इतिहासको पानामा सीमित हुने खतरा छ । तसर्थ, कांग्रेसका लागि अबको बाटो भनेको परम्परा धान्ने मात्र होइन, आफूलाई पूर्णतः ‘रिबुट’ गर्ने हो ।

१५औं महाधिवेशन रूपान्तरणको प्रस्थानविन्दु

फागुन २१ को निर्वाचन अगाडि हुन गइरहेको १५औं महाधिवेशन कांग्रेसका लागि ‘गर वा मर’को अवस्था हो । यदि यो महाधिवेशन पनि पुरानै गुटबन्दी, भागबन्डा र ६०–४० को समीकरणमा रुमलिल्यो भने फागुन २१ गते जनताले ब्यालेट बक्समार्फत् कांग्रेसलाई कठोर सजाय दिनेछन् । तसर्थ, १५औं महाधिवेशनको मुख्य एजेण्डा ुकांग्रेस रूपान्तरण नै हुनुपर्छ । रूपान्तरण भनेको केवल अनुहार फेर्नु मात्र होइन, यो प्रवृत्ति फेर्नु हो । महाधिवेशनमा उठ्ने बहसहरू अब को सभापति बन्ने ? भन्नेमा मात्र सीमित हुनु हुँदैन, कस्तो कांग्रेस बनाउने ? भन्नेमा केन्द्रित हुनुपर्छ । जेन–जी आन्दोलनले उठाएका राजनीतिक मुद्दाहरु जस्तै भ्रष्टाचारमा शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा डिजिटलाइजेसन, जलवायु परिवर्तनका मुद्दा, र युवा उद्यमशीलतालाई महाधिवेशनको नीतिगत दस्तावेजमा प्रमुखताका साथ समेटिनुपर्छ । महाधिवेशनले यस्तो नेतृत्व र नीति पारित गर्नुपर्छ जसले भनोस् ‘हामीले गल्ती गयौं, हामी सुध्रियौं, र अब हामीसँग नयाँ नेपाल बनाउने स्पष्ट खाका छ ।’ पुराना नेताहरूको सम्मानजनक बहिर्गमन र नयाँ ऊर्जासहितको नेतृत्वको समायोजन बिना यो महाधिवेशन सफल मानिने छैन । जेन–जीले खोजेको जस्तो ‘स्मार्ट पार्टी’ बनाउनका लागि पार्टीको विधान, संरचना र कार्यशैलीमा आमूल परिवर्तन आवश्यक देखिन्छ ।

फागुन २१ को निर्वाचन र जनतामा भरोसाको संकट

महाधिवेशन लगत्तै आउने फागुन २१ को संसदीय निर्वाचन कांग्रेसको लागि अग्निपरीक्षा हो । विद्रोहपछिको सरकारले गराउन लागेको यो निर्वाचन सामान्य अवस्थाको निर्वाचन होइन । जनतामा दलहरूप्रति चरम वितृष्णा छ । पुराना सबै खराब हुन् भन्ने भाष्य बलियो बन्दै गएको समयमा कांग्रेसले कसरी जनताको मन जित्ने भन्ने गम्भीर चुनौतीलाई सम्बोधन गर्ने गरी कांग्रेस एक ढिक्का भएर दृढता पुर्वक अघि बढ्नुपर्छ । कांग्रेसले अबको घोषणापत्रमा अमूर्त कुराहरू लेखेर हुँदैन । ६ महिनाभित्र यो गर्छु, एक वर्षभित्र यो गर्छु, भन्ने स्पष्ट क्यालेन्डर सहितको प्रतिबद्धता चाहिन्छ । अर्थतन्त्रको पुनरुत्थान कसरी गर्ने ? विदेशिएका युवालाई नेपाल फर्काउने ठोस आधार के ? शिक्षा र स्वास्थ्यमा देखिएको व्यापारीकरणलाई कसरी रोक्ने ? यी प्रश्नहरूको ‘टु द पोइन्ट’ उत्तर सहित कांग्रेस जनतामा जानुपर्छ । जेन–जी विद्रोहलाई कांग्रेसले आफ्नो विरुद्धको आन्दोलनको रूपमा होइन, बरु लोकतन्त्रको सुदृढीकरणका लागि भएको खबरदारीको रूपमा ग्रहण गर्नुपर्छ । यो विद्रोहले देखाएको बाटोमा हिंड्न कांग्रेस तयार छ, भन्ने सन्देश दिन सक्नुपर्छ । आन्दोलनका क्रममा उठेका जायज मागहरूलाई आफ्नो चुनावी एजेण्डा बनाउनु राजनीतिक बुद्धिमत्ता हुनेछ ।

महाधिवेशनले नीति राम्रो पास गरे पनि निर्वाचनमा फेरि तिनै पुराना, भ्रष्ट छवि भएका, वा ‘टेस्टेड एण्ड फेल्ड’ अनुहारहरूलाई टिकट दिइयो भने फागुन २१ को नतिजा कांग्रेसको पक्षमा आउने छैन । टिकट वितरणमा गुटको भागबन्डा होइन, जनमतको कदर र योग्यतालाई आधार बनाउनुपर्छ । जनताले पत्याएका, समाजमा भिजेका र क्लिन इमेज भएका व्यक्तिहरूलाई अघि सार्नुपर्छ । अहिलेको कांग्रेसको चुनौती र दायित्व भनेको नेपाली कांग्रेस देशकै ठूलो र स्थापित लोकतान्त्रिक शक्ति भएको नाताले, अहिलेको संक्रमणकाललाई सही दिशा दिने जिम्मेवारी पनि उसकै काँधमा छ । जेन–जी विद्रोहपछि उत्पन्न परिस्थिति र अस्थिरताको जोखिमलाई चिर्दै देशलाई लोकतान्त्रिक विधिबाटै निकास दिनु कांग्रेसको धर्म हो । यदि कांग्रेस चुक्यो भने, दक्षिणपन्थी अतिवाद वा वामपन्थी उग्रवादले टाउको उठाउने खतरा रहन्छ, जसले मुलुकलाई थप द्वन्द्वमा फसाउन सक्छ । महाधिवेशनको तयारीमा होमिरहँदा कांग्रेस नेतृत्वले यो बिर्सनु हुँदैन कि उनीहरू केवल पार्टीको पदका लागि लडिरहेका छैनन्, उनीहरू लोकतन्त्रको भविष्य र नेपालको स्थायित्वका लागि लडिरहेका छन् । फागुन २१ को निर्वाचनले यो देशको आगामी दशकको दिशा तय गर्नेछ ।

निष्कर्ष

अन्तमा, नेपाली कांग्रेसका लागि १५औं महाधिवेशन र फागुन २१ को निर्वाचन एक सिक्काका दुई पाटा हुन् । महाधिवेशनबाट पार्टी भित्रको फोहोर सफा गरेर, नयाँ ऊर्जा र विचारसहित निस्किएको कांग्रेसले मात्र फागुन २१ को निर्वाचनमा ‘जेन–जी’ लगायत आम जनताको विश्वास जित्न सक्छ । समयले कांग्रेसलाई रूपान्तरणको अन्तिम मौका दिएको छ । इतिहासको ब्याज खाएर बाँच्ने सुविधा अब छैन । अबको कांग्रेसले बीपीको विचारलाई आजको प्रविधि र चेतनासँग जोड्नुपर्छ । ‘जय नेपाल’ को नारा तब मात्र सान्दर्भिक हुनेछ जब यसले मेचीदेखि महाकालीसम्मका, हिमालदेखि तराईसम्मका र १८ वर्षदेखि ८० वर्षसम्मका नागरिकको सपनालाई समेट्न सक्नेछ । फागुन २१ गते जनताले मतपेटिकामा खसाल्ने मत केवल एउटा पार्टीलाई दिइने भोट हुनेछैन, त्यो नेपालको लोकतन्त्र र कांग्रेसको रूपान्तरणप्रतिको जनमतसंग्रह हुनेछ । तसर्थ, १५औं महाधिवेशनलाई केवल कर्मकाण्डमा सीमित नराखी, यसलाई पार्टी पुनर्जागरणको महाअभियान बनाउँदै निर्वाचनमा होमिनु नै नेपाली कांग्रेसको आजको अपरिहार्य आवश्यकता र जिम्मेवारी हो ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top