१२ असार, विदुर। नुवाकोटका चार स्थानीय तहका करिब तीन सय घरहरु पहिरोको जोखिममा परेका छन् । जिल्लाका सूर्यगढी गाउँपालिका, पञ्चकन्या गाउँपालिका, शिवपुरी गाउँपालिका र किस्पाङ गाउँपालिकाका २/२ वस्तीका घरहरु जोखिममा रहेको विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जानकारी दिए ।
बर्खायाम सुरु भएसँगै जिल्लाको सूर्यगढी गाउँपालिका-१ र २ को १८ घर पहिरोको उच्च जोखिममा परेको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।
आज बिहिबार प्रमुख जिल्ला अधिकारी घिमिरे, नेपाल प्रहरीका प्रमुख दुर्गाराज रेग्मी, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय नुवाकोटका प्रमुख, नेपाल सेना, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधिहरु, सम्बन्धित वडाका जनप्रतिनिधि, कर्मचारीहरुलगायतले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो। उक्त टोलीले वडाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयबासीहरुसँग जोखिमबारेमा जानकारी लिएका थिए ।

नुवाकोट-चोगदे-लच्याङ-मालाभन्ज्याङ सडकको स्तरोन्नतिले गर्दा फटपुरस्थित सडक खण्डमा माथिबाट आउने भलका कारण पहिरोसमेत खस्न थालेपछि १० घर पहिरोको उच्च जोखिममा परेको उनले जानकारी दिए । यस्तै, वडा नम्बर १ को बुलबुले, काउले र सेम्राङका १५० घरधुरी रहेको उक्त स्थानका आठ घर उच्च जोखिममा परेको उनले जानकारी दिए । जोखिमस्थलका क्षेत्रका नागरिकहरुलाई सतर्कताका साथ रहन र स्थानीय तहसँग समन्वय गरी बस्ति स्थान्तरणको लागि लाग्नुपर्ने बताए । वडा नम्बर १ को उक्त स्थानमा प्रकृति हेर्दा बगि हाल्ने नदेखिएको हुनाले जमिन प्रयोग गर्न सकिने छ। घरबास विस्तारै सुरक्षित स्थानमा स्थान्तरण गर्न सल्लाह दिए ।

सूर्यगढी गाउँपालिका-१ का वडाध्यक्ष राजकुमार तामाङले बर्खायाम सुरु भएसँगै आफ्नो वडाको उक्त स्थानमा २०७२ सालमा गएको महाभूकम्पले गर्दा जमिन भासिने क्रम बढ्दो रहेको बताए । “सोहिअनुसार दिनानुदिन जमिन भासिँदा स्थानीय घरहरु क्षति पुगेको छ”, उनले भने “पूर्ण रुपमा क्षति नभएको र क्षति हुने क्रम जारी रहेको छ। यसको ध्यानाकर्षण संसदमा भएको छ । तर यसको सुनुवाई भएको छ । सम्बन्धित निकायले जति ध्यान दिनुपर्ने हो, उति ध्यान नदिदाँ अत्यन्त दु:खी छु।”
पहिरोको कारणले गर्दा नुवाकोट-चोगदे हुदैँ उर्लेनी, लच्याङ, मालाभन्ज्याङ, ओख्रे सडक पूर्ण रुपले अवरुद्ध हुदाँ आमनागरिकको जनजीवन प्रभावित बनेको उनले बनाए ।
प्रभावित क्षेत्रका स्थानीयहरुको लगत राख्ने प्रक्रिया अघि बढेको १ नम्बर वडाका सचिव दिनेश श्रेष्ठले जानकारी दिए । जमिन भासिने क्रम बढेकोले करिब एक किलोमिटर तल रहेको दुर्खु खोलासम्म असर पुग्ने बताए ।
पहिरो गएको धेरै भइसक्यो। करिब ८० घरका दुई सय मानिसहरु मर्कामा परेको छ। पहिरो दुर्खु खोलाको दोभानसम्म पुग्छ। पहिरो हेर्न समय समय सरोकारवाला आईरहन्छ तर त्यसमै सिमित रहेको स्थानीयबासी लेखबहादुर गुरुङले दुखेसो पोखे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया