sujim advert

पालिकाहरुले बढाउन सकेनन् खर्चको गति

सुनील श्रेष्ठ     ३ महिना अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

nuwakot municipalities budget expenditure
bidur tax consultancy services in nuwakot

१२ फागुन, नुवाकोट । चालू आर्थिक वर्ष २०८१/०८२ मा पनि नुवाकोटका १२ पालिकाको बजेट कार्यान्वयन सुस्त देखिएको छ । पालिकाहरूले गत अर्धवार्षिकको अवधिमा विनियोजित कुल विकास र चालू बजेटमध्ये २४ दशमलव ८२ प्रतिशत मात्र खर्च गरेका छन् ।

नुवाकोटका १२ वटै स्थानीय तह असारे विकासको मानसिकताबाट अझै मुक्त हुन नसकेको पुष्टि भएको देखिएको छ । १०४ शिर्षकमा बजेट विनियोजन भएकोमा नौ शिर्षकमा कुनै पनि खर्च नभएको देखिएको छ ।

कर्मचारीको योगदानमा आधारित बीमा कोष खर्च, पदाधिकारी कल्याण कोष खर्च, मृत कर्मचारीको सुविधा तथा सहायता भैपरी आउने चालु खर्च, अनुसन्धान तथा विकास सम्बन्धी खर्च, भैपरी आउने पूँजीगत, वित्तीय, अन्य संस्थामा शेयर लगानी र अन्य संस्थाहरूबाट ऋण प्राप्ति साँवा भुक्तानीमा बजेट विनियोजन भएतापनि कुनै पनि खर्च भएको छैन ।

चालू आवका लागि पालिकाहरूको चालू र पुँजीगत गरी कुल बजेट रु. सात अर्ब एक करोड ६२ लाख ३९ हजार दुई सय २५ विनियोजित भएकोमा यो अवधिमा रु. एक अर्ब ७४ करोड १८ लाख ४३ हजार नौ सय ९० मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) नुवाकोटका प्रमुख राजनकुमार फुयालले जानकारी दिए ।

पालिकाले बाँकी अवधिमा विनियोजित कुल बजेटको ७५ प्रतिशत अर्थात् रु. पाँच अर्ब २७ करोड ४३ लाख ९५ हजार दुई सय ३४ खर्च गर्नुपर्छ ।

पालिकाहरूले कुल विकास बजेटको जम्मा नौ दशमलव नौ प्रतिशत अर्थात् रु. २३ करोड २५ लाख ९२ हजार पाँच सय ९६ मात्र खर्च गरेका छन् । १२ पालिकालाई कुल विकास बजेट रु. दुई अर्ब ५५ करोड ९७ लाख ४३ हजार आठ सय २० विनियोजन भएको कार्यालयले जानकारी दिएको छ ।

चालू वर्षका लागि चालूतर्फ चार अर्ब ४५ करोड ६४ लाख ९५ हजार चार सय पाँचमध्ये पुस मसान्तसम्म रु. एक अर्ब ५० करोड ९२ लाख ५१ हजार तीन सय ९३ खर्च भएको छ । यो कुल विनियोजित बजेटको ३३ दशमलव ८७ प्रतिशत हो ।

स्थानीय सरकारले समयमै योजना सम्झौता गरेतापनि असारमसान्तमा भुक्तानी दिने गरेकाले बजेट खर्च नदेखिने अडिटर्स एसोसिएसन नेपाल (अडान) नुवाकोटका अध्यक्ष गोपालबहादुर सापकोटाले बताए ।

शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्द थपलियाले गाउँपालिकाले हरेक योजना समयमै सम्पन्न गर्न प्रयत्न गरेको भए पनि उपभोक्ता तथा ठेकेदारको ढिलासुस्तीको कारण समयमै बजेट खर्च नहुने समस्या रहेको बताए । उनले भने, “योजना सम्झौता समयमै हुने भए पनि भुक्तानी समयमै लिन नआउने समस्याले बजेट खर्च नदेखिएको हो ।”

विकास बजेट खर्च कम हुनुले नुवाकोटका १२ वटै स्थानीय तह असारे विकासको मानसिकताबाट अझै मुक्त हुन नसकेको पुष्टि हुन्छ । एक वर्षभित्र सम्पन्न गर्नुपर्ने योजनाको समयमै सम्भौता, काम सम्पन्न र भुक्तानी दिन यहाँका स्थानीय तह अझै गम्भीर बन्न सकेका छैनन् । महालेखाको आव २०७९/०८० को प्रतिवेदनमा उल्लेख गरिएअनुसार जिल्लाका स्थानीय तहले असारमा सर्वाधिक खर्च गर्दै आएका छन् ।

सदरमुकामसमेत रहेको विदुर नगरपालिकाले चालू आवको पुस मसान्तसम्म कुल विनियोजित विकास बजेट रु. ४१ करोड ८७ लाख २५ हजारमध्ये रु. पाँच करोड २७ लाख ४८ हजार दुई सय ८० अर्थात् १२ दशमलव ६० प्रतिशत खर्च गरेको छ । त्यस्तै बेलकोटगढी नगरपालिकाले विनियोजित विकास बजेट रु. ३४ करोड ६१ लाख १० हजारमध्ये यो अवधिमा रु. तीन करोड ६२ लाख १२ हजार चार सय ६ मात्र अर्थात् १० दशमलव ४६ प्रतिशत मात्र खर्च गरेको कार्यालयको तथ्यांक छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top