काठमाडौं – नेपाल विद्युत प्राधिकरणका ग्राहकले अब आफैं मिटर रिड गरी अनलाइनबाटै बिजुलीको बिल तिर्न सक्ने भएको छ।
कोरोनाभाइरस रोगको रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले नेपाल सरकारले मुलुकभर लकडाउन गरेको अवस्थालाई दृष्टिगत गरी सबै काउण्टर बन्द भएपछि प्राधिकरणले यस्तो प्रणालीको व्यवस्था गरिएकाे प्राधिकरणका सूचना अधिकारी लिला अर्यालले जानकारी दिए ।
प्राधिकरणको मोबाइल एप डाउनलोड गरी बिजुलीको बिल तिर्न सकिने छ। एपको लागि “एप स्टोर” र “प्ले स्टोर” बाट आफ्नो मोबाइलमा जडान गर्न सकिनेछ ।
प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले मासिक एक लाख रुपैयाँसम्म महशुल हुने ग्राहकले अनलाइनबाटै बिजुलीको बिल तिर्न सक्ने जनाएको छ । यसरी अनलाइनमार्फत बिजुलीको बिल तिर्ने ग्राहकले नियमानुसारको छूट समेत पाउने छन् ।
मासिक एक लाखभन्दा बढी महशुल हुने ग्राहकले भने सम्बन्धित वितरण केन्द्रसँगको समन्वयमा बैंकिङ प्रणालीमार्फत बिजुलीको बिल भुक्तानी गर्नुपर्ने छ ।
देशभरका सबै काउन्टरका ग्राहकहरुको तथ्यांक अनलाईनमा राख्ने कार्य भइरहेको हुनाले सिमित जिल्लाका मात्रका ग्राहकले उक्त सेवा तत्काल लिन सकिने छ।
अनलाईनबाट बिजुलीको बिल तिर्न निम्न विधि अपनाउनु होला
- बिजुलीको बिल तिर्न प्राधिकरणको अनलाईन वेबसाईटमा जानुपर्नेछ, वेबसाईमा जान यहाँ क्लिक गर्नुहोस् ।
- दायाँतर्फ प्रयोगकर्ता (User Login) मा रहेको रजिस्टर (Register) बटनमा क्लिक गरी आफ्नो युजर आईडी तयार पार्नुहोस् ।
- अब युजर नेममा आफ्नो मोबाइल नम्बर (Mobile Number) र भर्खरै तयार पारेको पासवर्ड राखेर लग ईन गर्नुहोस् ।
- त्यहाँ देखाइएको एड कञ्जुमर (Add Consumer) मा गएर आफ्नो ग्राहक विवरण (विद्युत महशुल भुक्तानी गर्ने शाखा, ग्राहक आईडी तथा ग्राहक नम्बर) भर्नुहोस् ।
- आफ्नो मिटरमा देखिएको अंक हाल्नुहोस् । हालिएको मिटर अंक वास्तविक रहेको यकिन गर्नुहोस् ।
- अब तपाईंले त्यहाँ मिटरमा चढेको बिल रकम देख्न सक्नुहुनेछ । खल्ती, कनेक्ट आईपीएस, ईसेवा, आईएमई पे लगायतका विभिन्न अनलाइन भुक्तानीका माध्यमबाट उक्त रकम सजिलै भुक्तानी गर्न सक्नुहुनेछ ।
प्रतिक्रिया