२०८०, १६ चैत्र शुक्रबार

के गर्दैछन्, नुवाकोटमा उद्योगीका नेता ?

    चैत्र २३ २०७६ १७:४०


nuwakot business man in lockdown period of ncov coronavirus covid19

rajan shrestha ncci nuwakot

राजन श्रेष्ठ
पूर्व अध्यक्ष/नुवाकोट उद्योग वाणिज्य संघ
केन्द्रीय सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ

‘बन्दाबन्दीको पूर्ण पालना र चेकजाँचलाई बढाउनुपर्छ’

परिक्षणको दायरा बढाउन सकिएमा यसको अवस्थाबारे पत्ता लाग्नेछ । विदेशबाट आएकाहरुलाई कडाईका साथ क्वारेनटाइनमा बस्ने व्यवस्था मिलाउनुपर्छ ।

लकडाउनको समयमा राज्यले भनेअनुसार हामी आफैं सुरक्षित रहने नै हो । घरघरमै बसेर सामाजिक दूरीमा रहनुपर्छ । यसो गर्न सकियो भने मात्रै हामीले महामारीलाई रोक्न सक्छौँ । राज्यले भने अनुसार नै सुरक्षित रहने हो । खाद्यान्नको सर्वसुलभ उपलब्धतामा हामी लागिरहेका छौँ । महासंघको केन्द्रीय सदस्य भएकाले हामीले राज्यलाई केही नगद र केही स्यानिटाइजर, मास्क, पिपिइलगायतका सामग्री प्रदान गर्‍यौँ । हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत काम गर्ने र अत्यावश्यक सामानको बिक्रि वितरण गर्ने हो । केन्द्रमा रहेर मैले जिल्लासहित समग्र देशकै बारेमा समन्वयको काम गरिरहेको छु ।

मेरो दैनिकी भनेको महामारीको सामना नै घरमै बसेर गर्ने हो । समन्वयको हिसाबले आफू सुरक्षित रहेर काम गर्ने हो । महामारी अघि हामीले परिवारलाई समय दिन सकेका थिएनौं, अहिले परिवारलाई समय दिन सकिएको छ । बिहान व्याटमिन्टन खेल्ने र दिउँसो टिभी हेर्ने, सामाजिक सञ्जालमा रहेर विभिन्न समन्वयात्मक काम गरिरहेको छु ।

संक्रमणलाई बढ्न नदिनको लागि टेष्ट र उपकरणको कमी रहेको छ । विकसित देशहरुमा उपकरणको प्रयाप्त भएर पनि त्यति ठूलो महामारी फैलिएको छ । नेपालमा त केही छैन । ल्याएका उपकरण पनि राम्रो भएन भन्ने कुरा आएको छ । त्यसैले हामीले सुरक्षित रहनुपर्छ । उपकरणहरु लेराउनको लागि सरकारले विभिन्न देशसँग समन्वय गरेर प्रभावकारी उपकरण लेराउनुपर्छ । परिक्षणको दायरा बढाउन सकिएमा यसको अवस्थाबारे पत्ता लाग्नेछ । विदेशबाट आएकाहरुलाई कडाईका साथ क्वारेनटाइनमा बस्ने व्यवस्था मिलाउनुपर्छ । आफू सुरक्षित रहौं र अरुलाई पनि सुरक्षित हुन सहयोग गरौँ । सकेसम्म घरबाहिर ननिस्किएर नै यसबाट हामी बच्न सक्छौँ ।

tara bahadur karki nccinuwakot

ताराबहादुर कार्की
अध्यक्ष, नुवाकोट उद्योग वाणिज्य संघ

‘हामी सबै बाँच्नुपर्छ भन्ने मान्यतामा अडिक छौँ’

अहिले विश्व नै कोरोनाको संक्रमणका कारण समस्याग्रस्त छ । लकडाउन भन्दा अघि हामीले मास्क वितरण गर्नुपर्छ भनेर एक चरण मास्क वितरण गर्‍यौँ । जिल्लामा हामी खाद्य वस्तुको आपूर्ति व्यवस्थापनमा सक्रिय भएका छौँ । जिल्लास्तरमा हुने बैठकमा सहभागी हुने, विभिन्न ठाउँमा खाद्यान्नको आपूर्तीलाई सहज बनाउने तयारीमा लाग्ने गरेकाले लकडाउन भएपनि पूरा समय घरमा बस्न पाएको छैन । सावधानी अपनाएर हिँड्न बाध्य हुनुपरेको छ ।

जुनसुकै अप्ठेरो परेको समयमा हामी आफू मात्रै बाच्छौँ भन्दैनौँ । आफू पनि बाँच्ने र अरुलाई पनि बचाउने कार्यमा हामी लागेका छौँ ।

अन्य जिल्लाको जस्तो खाद्य तथा दैनिक उपभोग्य बस्तुको अभाव हाम्रो जिल्लामा हुँदैन । अहिले गाउँमा पहिले भन्दा धेरै मानिस भेला भएका छन् । त्यसैले पनि पहिले भन्दा धेरै नै खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको आवश्यकता हामीलाई छ । त्यो आवश्यकतालाई पूरा गर्नको लागि हामी जुटिरहेका छौँ । ग्यास, तेल, पेट्रोल, चामललगायतका खाद्य वस्तुको सहज आपूर्ती र मूल्यवृद्धि हुन नदिनको लागि हाम्रो प्रयास जारी छ । तर, १८ गतेपछि केही मूल्य बढेको छ । तर, पनि हामीले १२ वटै स्थानीय तहसहित रसुवामा पनि १० गाडी चामल आवश्यकता परेकाले पठाएका छौँ । फेरी कोल्पुखोलाको पुल निर्माणको क्रममा क्षति भएकाले ठूला सवारी साधनमा आएका सामान सानो गाडीमा ल्याउन बाध्य हुनुपरेको छ । पुल मर्मतका लागि हामीले नुवाकोटसहित धादिङका प्रमुख जिल्ला अधिकारीसँग पनि कुरा गरेका छौँ ।

हामीले राज्य र समुदायबिच समन्वय गरिरहेका छौँ । पहिलेका सामानहरु उही मूल्यमा बिक्री गरिरहेका छौँ । हामीले केही पसलहरुमा गएर हेर्‍यौँ पनि तर बजारमा स्टक सामान नभएको पायौँ । गाडीहरुलाई सावधानी अपनाएर लोड गराएर सामान लेराउने काम भइरहेको छ ।
जुनसुकै अप्ठेरो परेको समयमा हामी आफू मात्रै बाच्छौँ भन्दैनौँ । आफू पनि बाँच्ने र अरुलाई पनि बचाउने कार्यमा हामी लागेका छौँ । अहिले सरकारले लकडाउन गरेको छ । यो लकडाउनका कारण व्यवसायीहरु मारमा परेका छन् । देश नै ठप्प रहेको छ । यस्तो अवस्थामा दैनिक आपूर्तीलाई कसरी सहज बनाउन सकिन्छ भनेर राज्यले समन्वय गर्नुपर्ने आवश्यकता छ । यो विषम परिस्थितिको सामना गर्नको लागि राज्यले तोकेको मापदण्ड र नितिनियममा बसेर हामीले आफ्नो व्यवसायलाई निरन्तरता दिनुपर्छ भन्न चाहन्छु ।

pradip ratna shakya nccinuwakot

प्रदिपरत्न शाक्य
संस्थापक अध्यक्ष, नुवाकोट उद्योग वाणिज्य संघ

‘यो महामारीमा हामीले सरकार र नागरिकबिच समन्वय प्रदान गर्नुपर्छ’

यस्तो बेलामा हामीले सक्दो सहयोग पुर्‍याउनुपर्छ भन्नुभएको छ । यस्तो बेलामा आम सर्वसाधारणलाई जतिसक्दो सहयोग र राहत पुर्‍याउनुपर्छ ।

एक त म अहिले दुर्घटनाबाट घाइते भएको छु । फागुन १८ गते दुर्घटनामा परेको हुँ । उपचारपछि अहिले म बेडरेष्टमा छु । त्यसमाथि अहिले कोभिड-१९ का कारण पनि अहिले घरमै बस्नुपर्ने बाध्यता रहेको छ । एक महिना अझै रेष्ट गर्नुपर्छ भनेका छन्, डाक्टरहरुले । संक्रमण फैलिन नदिनको लागि निजी क्षेत्र उद्योग वाणिज्य संघको भूमिकालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर मैले संघका अध्यक्ष ताराबहादुर कार्कीसँग पनि कुरा गरेको छु । यस्तो बेलामा हामीले सक्दो सहयोग पुर्‍याउनुपर्छ भन्नुभएको छ । यस्तो बेलामा आम सर्वसाधारणलाई जतिसक्दो सहयोग र राहत पुर्‍याउनुपर्छ । हामीले दैनिक उपभोग्य सामग्रीको सर्वसुलभ बनाउनको लागि हाम्रो भूमिका प्रभावकारी हुनुपर्छ । हामीले यस्तो अवस्थामा सरकारसँग समन्वय गरेर काम गर्नुपर्छ । विश्वव्यापी रुपमा कोभिड-१९ ले असर पारिरहेको छ । नेपालमा पनि यसको संक्रमण देखिएको छ । हामीले होसियारी अपनाउनुपर्छ । अहिले लकडाउनको अवस्था हो । लकडाउन लामो समय लम्बियो भने आपूर्तीलाई सहज बनाउन सबै क्षेत्रले एकजुट भएर अघि बढ्नुपर्छ ।

म अहिले बाहिरी सम्पर्कमा छैन । केही गर्न पाए हुन्थ्यो भन्ने अवस्थामा म बिरामी भएको छु । सरकारीले पूर्व सावधानीको लागि निति नियमहरु बनाएको छ । ती निति नियमलाई हामीले कडाईका साथ पालना गर्नुपर्छ । यस्तो अवस्थामा घरमै बस्ने साबुनपानीले हात धुने, केही असुविधा भयो भने सरकारले सम्पर्क नं. पनि दिएको छ त्यसमा हामीले सोधखोज गर्न सक्छौँ । केही समस्या भएमा क्वारेनटाइन वा आइसोलेशनमा बस्नुपर्ने भए बस्नुपर्छ । किन भने एउटाले गर्दा महामारी फैलन सक्छ । यो अवस्थामा हामी घरभित्रै बस्ने हो । मैले अघि पनि भनेँ म बाहिरी सम्पर्कमा छैन, प्राविधिक त्रुटीका कारण घरमा टेलिभिजन हेर्नसमेत पाइएको छैन ।

sharan utsuk sapkota ncci nuwakot

शरणउत्सुक सापकोटा
पूर्व अध्यक्ष, नुवाकोट उद्योग वाणिज्य संघ

‘मौकामा चौका हान्ने र सामान लुकाउने काम अपराध हो’

यो महामारीबाट हामी बच्नुपर्छ, बच्ने उपाय भनेकै हामी घर बाहिर ननिस्कने र सावधानी अपनाउने नै हो । यो महामारी सरकारले मात्र रोक्न र छेक्न सक्दैन, हामी आफैं सर्तक र सावधानी बन्नुपर्छ ।

यो लकडाउनको समयमा सचेतनका कार्यक्रम सञ्चालन गर्ने हो । कोभिड-१९ को संक्रमण हुन नदिनको लागि सरकारले लकडाउन गरेको हो । यो लकडाउन उल्लङ्घन गर्नुहुँदैन । यो लक डाउन हाम्रो लागि हो, समुदायको लागि र राष्ट्र बचाउने कुरा हो । आफू बच्ने र अरुलाई बचाउने अभियानमा छु । यो समय घर सफा गर्ने, परिवारसँग बस्ने, समन्वयात्मक काम गर्ने, सकारात्मक सोच राख्ने गर्नुपर्छ । यो महामारी हाम्रोमा मात्र होइन, विश्वभर नै फैलिरहेको छ । त्यसैले सर्तक हौँ । बाहिरबाट आउनेहरुको निगरानी गरौँ, रोगीहरुको हेरविचार गरौँ । कसैलाई औषधिको समस्या होला, औषधि खरिद गर्न नसकेकालाई औषधि खरिद गर्ने व्यवस्था मिलाइदिने, ग्यासको अभाव होला, बिहान बेलुकी खानको समस्या होला, कृषिजन्य तथा खुकुराको दानाको आवश्यक पर्ला त्यस्तालाई समन्वय गर्नेलगायतका काम गरिरहेको छु । आफ्नो दैनिकमा घर सरसफाई गर्ने, आफन्तलाई फोन गर्ने, लकडाउनको उलंङ्घन गर्नुहुन्न भन्ने, स्वास्थ्य सम्वन्धि जनचेतना फैलाउने, हामीले कोरोना मात्रै भनेर हुँदैन, नियमित काम सावधानी अपनाएर बस्ने, खेतबारीको कामलाई पनि हामीले सावधानी अपनाएर गरौँ । केही समस्या परेमा मैले समाधान गर्न सक्ने खालको भए सदैव गर्न तयार रहेको पनि जानकारी गराउन चाहन्छु ।

यो नेपालको मात्र होइन, विश्वमै संक्रमण फैलिएको अवस्था हो । यो महामारीबाट हामी बच्नुपर्छ, बच्ने उपाय भनेकै हामी घर बाहिर ननिस्कने र सावधानी अपनाउने नै हो । यो महामारी सरकारले मात्र रोक्न र छेक्न सक्दैन, हामी आफैं सर्तक र सावधानी बन्नुपर्छ । सचेतनाका कार्यक्रमहरु हामी आफैंले पनि सञ्चालन गर्नुपर्छ । हामी बाच्यौँ भने मात्रै संसार देखिन्छ ।

निजी क्षेत्र उद्योगा वाणिज्य संघले सरकारसँग समन्वय गर्ने, पसलहरु खाद्यान्न पसल पशु भेटेरीनरी पसलहरु सञ्चालनमा ल्याउने, खानेपानीलगायतका क्षेत्रहरुमा सरकारसँग समन्वय गरेर अघि बढ्ने हो । त्यसबाहेक बजारमा कृतिम अभाव हुन नदिने, यो महामारीको बेला बढी मूल्यमा सामानहरु विक्री हुन्छन् कि भनेर हेर्नुपर्ने दायित्व पनि उद्योग वाणिज्य संघको हुनुपर्छ । मौकामा चौका हान्ने र सामान लुकाउने काम अपराध हो । यस्तो अपराध गर्नुहुँदैन ।

अहिले कोरोनाको औषधि छैन । यो औषधि नभएको रोगको संक्रमण फैलिन नदिनु नै यसबाट बच्ने प्रमुख उपाय हो । त्यसैले रोगको संक्रमणबाट बचौँ । लकडाउनलाई पूर्ण पालना गरौँ लकडाउनलाई सहयोग र समर्थन गरौँ । यो हाम्रो लागि हो, हाम्रो प्राण रक्षाको लागि नै सरकारले हामीलाई सचेत गराएको हो भन्ने हामी सबैले बुझ्नु जरुरी छ । सरकारले पनि राहत वितरणको कामलाई समान रुपमा आवश्यकता हेरेर वितरण गर्न चुक्नु हुँदैन । पारदर्शी रुपमा काम गरेको खण्डमा हामी यसबाट बच्न सक्छौँ जस्तो लाग्छ ।

nirmal kumar shrestha ncci nuwakot

निर्मलकुमार श्रेष्ठ
पूर्व अध्यक्ष नुवाकोट उद्योग वाणिज्य संघ

‘हामी सुरक्षित हौँ, महामारीबाट बाचौं’

हामीले अरु कसैका लागि यो लकडाउन र सावधानी अपनाएको हो भन्ने भ्रम हामीमा छ । किनभने हामीले पालना गरिरहेका छैनौँ । हामीले सावधानी अपनाउन सकेनौँ भने यसले ठूलो मानवीय क्षति हुन सक्छ ।

अहिले मेरो काम छैन । घरमै बस्ने, मर्निङ वाक गर्ने त्यसपछि सुत्ने, खाने फेरी सुत्ने काम भइरहेको छ । पत्रपत्रिका आउँदैन । पढ्न पाइएको छैन । फेसबुक चाँहि पढ्ने गरेको छु । बाहिर निस्कने गरेको छैन । ढिकुरे लब्धु सिंचाईको अध्यक्ष भएकाले केही दिन अघिसम्म त्यो सिंचाईको काम हेर्न जाने गरेको थिए । अहिले त्यो पनि काम भएको छैन । अब स्थानीय कामदारले काम गर्न मिल्ने भन्ने सुनेको छु । अब त्यसको काम हुन्छ कि ? संक्रमण रोक्नको लागि पालिकाले मेरो कुनै सहयोगको आवश्यकता महसूस गरेको छैन । म अहिले कुनै भूमिकामा पनि छैन । त्यसैले म कतै बाहिर निस्किएको पनि छैन । गाउँपालिकाले केही राहत वितरणको लागि नामावली संकलन गरेको थाहा छ । उद्योग वाणिज्य महासंघले राज्यलाई सहयोग गरेको भन्ने सुनेको छु । जिल्लातिर खासै केही भएको जस्तो लाग्दैन, मलाई थाहा नभएको पनि हुन सक्छ । कोरोनाको कुरा गर्नुपर्दा हामी सुरक्षित भएर बस्यौँ भने कोरोनाको महामारीबाट बच्न सकिन्छ । तर, हामीले अरु कसैका लागि यो लकडाउन र सावधानी अपनाएको हो भन्ने भ्रम हामीमा छ । किनभने हामीले पालना गरिरहेका छैनौँ । हामीले सावधानी अपनाउन सकेनौँ भने यसले ठूलो मानवीय क्षति हुन सक्छ । अझै हामी ख्यालख्याल सम्झिरहेका छौँ । हाम्रो बानी नै कस्तो छ भने जव परेपछि मात्रै हामीमा चेत आउँछ । त्यो चेत आउने अवस्थासम्म ठूलो क्षति भइसकेको हुन सक्छ, त्यसैले अहिले नै हामीले सावधानी अपनाउन सक्नुपर्छ ।

लकडाउनका लागि ढिकुरे क्षेत्रमा उत्पादन भएको तरकारी विक्रीको लागि समस्या रहेको छ । किसानले विक्री गर्न सकेका छैनन् । यसतर्फ सम्वन्धित निकायले ध्यान दिएर किसानले उत्पादन गरेका तरकारी बजारसम्म पुर्‍याउने माध्यम बनाउन सकिएमा राम्रो हुने थियो ।

dhan narayan chitrakar ncci nuwakotधननारायण चित्रकार
पूर्व अध्यक्ष, नुवाकोट उद्योग वाणिज्य संघ

‘हामी अनुशासित भएमात्रै जोगिन सक्छौँ’

अनुशासन भएन भने एकै दिनमा सयौँ, हजारौँ प्रतिशतले रोगको महामारी फैलिरहने रहेछ । यसको औषधि उपचार भन्दा पनि संक्रमण नै रोक्नको लागि समुदायबाट टाढै रहने, सकेसम्म आफ्नै परिवारवीच पनि छुट्टाछुट्टै वस्नुपर्ने बाध्यतामा हामी छौँ ।

अहिले टिभी हेर्ने, मोबाइल खेलाउने, आफ्नो व्यवसायको काममा लाग्ने यस्तैगरी समय बितिरहेको छ । आफ्नो व्यवसायमै बढी व्यस्त हुने गर्दछु । पोल्टी व्यवसाय रहेको छ । यसरी काम गर्दा सुरक्षित पनि भइन्छ, समुदायबाट टाढा पनि भइन्छ । यसरी नै समय वितिरहेको छ । व्यवसायमा लकडाउनका कारण ठूलो असर परेको छ । उत्पादन भएका अण्डा विक्री हुँदैन । राख्ने ठाउँ पनि सकिन लाग्यो । दाना आफैंले बनाउने गरेका छौँ । दानाको लागि आवश्यक पर्ने कच्चा पदार्थ ल्याउन समस्या छ । भाउ पनि वृद्धि भएको छ । उत्पादन भएका सामानको विक्री मूल्य ३० प्रतिशत कम भइसकेको छ ।संक्रमण रोक्नको लागि अनुशासित हुनुपर्छ । अनुशासन भएन भने एकै दिनमा सयौँ, हजारौँ प्रतिशतले रोगको महामारी फैलिरहने रहेछ । यसको औषधि उपचार भन्दा पनि संक्रमण नै रोक्नको लागि समुदायबाट टाढै रहने, सकेसम्म आफ्नै परिवारवीच पनि छुट्टाछुट्टै वस्नुपर्ने बाध्यतामा हामी छौँ । उद्योगी व्यापारीले अनुचित फाइदा नलिने, आपूर्तीलाई सहज बनाइदिने गर्नुपर्छ । अहिलेसम्म हाम्रो जिल्लामा अनुचित फाइदा लिएको कालोबजारी गरेको भन्ने कुरा त सुन्न पाएको छैन । केही दिन अघिदेखि उतैबाट मूल्य बढेको आएको भन्ने सुनेको छु । पुलका कारण पनि समस्या भएको भन्नेछ ।

सबैले भेदभाव छाडेर काम गर्नुपर्छ, व्यापारीले पनि स्वार्थ नलिई काम गर्नुपर्छ । जनसमुदायले पनि संयम हुनुपर्छ । विश्वका ठूला मुलुक त थाकिसकेका छन् । हाम्रोमा यसको माहामारी फैलियो भने हामीले यसको सामना गर्न सक्ने अवस्था नै छैन । अहिले संक्रमण धेरै नदेखिएपनि परीक्षणलाई तिब्र बनाउनुपर्छ । भित्र लुकेर बसेको हुन सक्छ । सबैले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ । सरकारले परीक्षण र औषधि उपचारको प्रवन्ध मिलाउनुपर्छ । आवश्यकता अनुसार चेकजाँच भएन भने यो भयावह हुन सक्छ । सरकारले एउटा नियम बनाएको छ, त्यो नियममा हामी सबै बस्नुपर्छ । खुल्ला सीमा भएका कारणले पनि हामीलाई समस्या रहेको छ । खुल्ला सीमालाई यसलाई कडाई गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया



Top