कात्तिक २८, नुवाकोट । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित विद्युत् उपभोक्तालाई महसुलमा जरिवाना नलाग्ने व्यवस्था मिलाइएको छ।
नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रले जारी गरेको सूचनाअनुसार बाढी प्रभावित करिब १५ सय घरधुरीका उपभोक्ताले यो सुविधा पाउनेछन्।
गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा लेदोसहित आएको हिमबाढीका कारण वितरण केन्द्रअन्तर्गत करिब १५ सय घरधुरी प्रभावित भएको केन्द्रका सहायक प्रशासनिक अधिकृत शान्ता पाण्डेयले जानकारी दिए ।
नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको भदौ २४ गतेको निर्णयअनुसार प्रभावित उपभोक्ताका हकमा भदौ महिनादेखि बिल रोक्का गरिएको केन्द्रले जनाएको छ।
बाढी प्रभावित उपभोक्ताले महसुल भुक्तानीमा जरिवाना नलाग्ने गरी बिल बन्दोबस्त गरिएको छ। बाढीले क्षति पुगेका मिटरहरूको निःशुल्क मर्मत तथा नयाँ मिटर जडानको व्यवस्था पनि मिलाइएको केन्द्रले जनाएको छ।
केही उपभोक्ताले जरिवानासहित महसुल तिरेको जानकारी आएको भन्दै वितरण केन्द्रले बाढी प्रभावित भएका र जरिवाना लागेका उपभोक्तालाई बिलसहित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।