+
Search

ताजा अपडेट +

पपुलर +

बालबालिकाको आधारभूत आवश्यकता पूरा गर्नु सबैको साझा दायित्व: मुख्यमन्त्री थापा मगर

डबली खबर
१ घण्टा अगाडी

कात्तिक ८, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–५, लमलेस्थित मानव कल्याण समाजअन्तर्गत सञ्चालित बाल सेवाघरको आइतबार स्थलगत निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा मुख्यमन्त्री थापाले मानव सेवा घरको अवस्था, सञ्चालन प्रक्रिया तथा त्यहाँ आश्रित बालबालिकाको हेरचाह, संरक्षण र सेवा व्यवस्थापनबारे जानकारी लिएका थिए। उनले घरबारविहीन, असहाय, बेसहारा तथा अभिभावकविहीन व्यक्तिहरूलाई आश्रय प्रदान गर्दै मानव सेवामा समर्पित संस्थाको भूमिकाको प्रशंसा गरेका छन् । अशक्त, असहाय तथा बेसहारा व्यक्तिहरूको सहारा बनेर मानव सेवा घरले मानवीय सेवाको उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै मुख्यमन्त्री थापाले परिस्थितिले कठिनाइमा पारेका बालबालिकाको संरक्षण र भविष्य निर्माणमा यस्ता संस्थाको योगदान महत्त्वपूर्ण रहेको बताए ।

‘आजका बालबालिका भोलिका राष्ट्रका कर्णधार हुन्’ भन्दै उनले सबै बालबालिकाको आधारभूत आवश्यकता पूरा गर्नु, उनीहरूलाई उचित हेरचाह र संरक्षण प्रदान गर्नु तथा सुरक्षित भविष्य निर्माणका लागि अवसर उपलब्ध गराउनु सबैको साझा दायित्व भएको धारणा व्यक्त गरे ।

स्थलगत निरीक्षणका क्रममा मानव सेवा घरको वास्तविक अवस्था बुझ्ने तथा त्यहाँ आश्रित बालबालिकाको हेरचाह र सेवा व्यवस्थापनबारे जानकारी लिने अवसर प्राप्त भएको उल्लेख गर्दै मुख्यमन्त्री थापाले संस्थामा सेवा प्रदान गर्ने सबैप्रति आभार व्यक्त गरे ।

सो क्रममा मुख्यमन्त्री थापाले घरबारविहीन, असहाय, टुहुरा तथा सडकबाट उद्धार गरी ल्याइएका बालबालिकासँग भेटघाट गर्नुभएको थियो। उहाँले बालबालिकालाई टीका र जमरा लगाइदिँदै विजयादशमीको शुभकामना आदानप्रदान गरे ।

‘हुनेबाट सहयोग, नहुनेलाई उपयोग’ भन्ने मूल नारालाई आत्मसात् गर्दै समाजमा रहेका असहाय तथा अभिभावकविहीन बालबालिकासँग दसैँको खुसी साटासाट गर्न पाउँदा अत्यन्तै आत्मीय र भावुक अनुभूति भएको मुख्यमन्त्री थापाले बताए ।

मानव सेवा घरजस्ता संस्थाले कठिन परिस्थितिमा रहेका बालबालिकालाई आश्रय, माया, संरक्षण र उज्ज्वल भविष्यको आशा प्रदान गर्दै आएको उल्लेख गर्दै उहाँले बालबालिकाको अधिकार, सम्मान र आधारभूत आवश्यकताको सुनिश्चितताका लागि समाजका सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए ।

मुख्यमन्त्री थापाको निरीक्षण तथा बालबालिकासँगको दसैँ शुभकामना आदानप्रदानले मानवीय सेवा, सामाजिक उत्तरदायित्व र असहाय बालबालिकाको संरक्षणप्रति सामूहिक प्रतिबद्धताको महत्त्वलाई  जगाएकाे छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ