+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूलीबजार स्थायी पुनरुत्थान र शैक्षिक धरोहर जोगाउन माग

सुनील श्रेष्ठ
६ घण्टा अगाडी

असोज २७, नुवाकोट । गत भदौ १० गते भोटेकोशी-त्रिशुली नदीमा लेदोसहित आएको विनाशकारी बाढीले बगाएको त्रिशुलीबजारको स्थायी पुनरुत्थान, क्षतिपूर्ति तथा पुनर्स्थापनाका लागि स्थानीय बाढीपीडितहरूले विदुर नगरपालिकालाई ध्यानाकर्षण गराएका छन्।

विदुर नगरपालिका-१ स्थित त्रिशूलीबजार बाढीपीडित संवाद समितिका संयोजक नविन्द्रमान प्रधानको नेतृत्वमा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ समक्ष विभिन्न मागहरू राखी पत्र बुझाएका हुन् ।

ऐतिहासिक महत्व बोकेको त्रिशुलीबजारका बासिन्दा तथा व्यवसायीहरू बाढीका कारण विस्थापित हुनुका साथै सर्वस्व गुमाउन पुगेका थिए । पीडितहरूले आफूहरूले गुमाएको घर, जग्गा र व्यवसाय नै गाँस, बास तथा कपाससँग प्रत्यक्ष जोडिएकाले त्यसैलाई आधार मानी आधारभूत पुनरुत्थानका लागि माग राखेका छन्।

प्राविधिक रूपमा जोखिमयुक्त ठानिएका घरजग्गाको अधिग्रहण गरी सरकारका तर्फबाट न्यायोचित मुआब्जा दिनुपर्ने वा मुआब्जा लिन नचाहने पीडितहरूका लागि त्रिशुलीबजार नजिकै रहेको कोलोनोस्थित नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको जग्गामा ‘स्मार्ट सिटी’ विकास गरी आधुनिक घर र व्यावसायिक प्रत्याभूति गराइनुपर्ने उनीहरूको जोड छ।

त्यस्तै, प्राविधिक रूपमा सुरक्षित रहेका वा आंशिक क्षति भएका स्थानका लागि सुरक्षित मोटरेबल पुल निर्माण गरी व्यवसायलाई पुरानै गतिमा फर्काउने सुनिश्चितता गर्न माग गरिएको छ।

व्यावसायिक पुनरुत्थानतर्फ ध्यानाकर्षण गराउँदै समितिले शतप्रतिशत पीडितहरू व्यवसायी रहेको र जीविकोपार्जनको एकमात्र माध्यम गुमेकाले सरकारले तत्काल अनुदान तथा सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्ने अपरिहार्यता औंल्याएको छ। साथै, नुवाकोट, रसुवा र धादिङ गरी तीन जिल्लाकै पहिलो शैक्षिक धरोहरका रूपमा वि.सं. २००७ मा स्थापित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय तथा वि.सं. २०६० मा स्थापित त्रिभुवन त्रिशुली बहुमुखी क्याम्पसको पुनरुत्थान र व्यवस्थापन त्रिशूलीबजारका बासिन्दा बस्ने ठाउँ नजिकै हुनुपर्ने अनिवार्य शर्त पनि ज्ञापनपत्रमा उल्लेख छ।

समितिले मङ्गलबारनै विदुर नपा-१ का वडा अध्यक्ष लेनिन रञ्‍जितलाई समेत उक्त मागसहित छुट्टै पत्र बुझाएका थिए ।

लेखकको बारेमा

सुनील श्रेष्ठ

ट्रेन्डिङ