अमेरिकाको पूर्वी भागमा पर्ने एक राज्य हो– मेरिल्यान्ड । यसलाई वर्ल्डलाइन स्टेट र स्वतन्त्र राज्य पनि भनिन्छ । मेरिल्यान्ड भौगोलिक हिसाबले सानो राज्य हो । यस राज्यको पूर्वमा डेलावेयर, पश्चिममा पश्चिम भर्जिनिया र दक्षिणमा भर्जिनिया पर्दछ । प्राकृतिक सीमाबाट मेरिल्यान्डलाई हेर्दा पूर्वमा समुद्र किनार, पश्चिममा पहाडी क्षेत्र र बिचमा हरियो मैदान रहेको छ । मेरिल्यान्डको नामकरण राजा चार्ल्स प्रथम कि पत्नी हेनास्टी मारियाले गरेकी हुन् भने यस प्रान्तको स्थापना जर्ज क्याल्बर्टले सन् १६३२ मा गरेका हुन् ।
सन् १८०८ मा कप्तान जोन स्मिथ यस क्षेत्रमा आइपुग्ने पहिलो युरोपेलीमध्ये एक थिए । मेरिल्यान्ड पहिले कोलनीको रूपमा रहेको थियो । यो एक उपनिवेश थियो । क्याथेलिकहरूलाई धार्मिक स्वतन्त्रता दिनका लागि यो बनाइएको हो । अमेरिकी स्वतन्त्रता आन्दोलनपछि यसलाई पनि ब्रिटिस कोलोनीबाट मुक्त घोषणा गरिएको थियो र त्यसताका मेरिल्यान्डका नेता थिए चाल्र्स क्यारोल ।
मेरिल्यान्ड राज्य घुमफिर गर्ने क्रममा हामी बाल्टिमोर सहरमा आएका छौँ । यस भूमि पहिले सिकार गर्ने ठाउँको रूपमा प्रयोग भएको थियो । पछि तमाखु र अन्न ढुवानीका लागि प्रसिद्ध भयो । अहिले पूरै आधुनिकताको रङ्ग बोकेर प्राचीनताको याद गरिरहेछ र यस सहरभित्र रेलगाडी चल्छ । यो रेलमार्ग यहाँ रहेकामध्ये सबैभन्दा पुरानो हो ।
बाल्टिमोरमा रहेको प्रसिद्ध ठाउँहरूमध्ये हामी पीवडी पुस्तकालयमा आएका छौँ । यो पुस्तकालय भव्य तरिकाले निर्माण गरिएको छ । यसको सेवा र संरचना दवै आकर्षक छ । सन् १९०९ मा स्थापना भएको यो पुस्तकालयको डिजाइन वास्तुकार एडमण्ड जी लिन्डले गरेका हुन् । ३० फिट अग्लो गुम्बज आकारमा निर्मित भवन पाँच तलाको छ । काठ र फलामद्वारा निर्मित पुस्तकालय धर्म, संस्कृति, वास्तुकला, इतिहास, भाषा, साहित्य, रोमान्स, विज्ञान र भूगोलको एक कोलाज जस्तो बनेको छ । पुस्तकहरू जताततै व्यवस्थित ढङ्गले सजाइएका छन् । केही पाठकहरू चुपचाप आफ्नो ज्ञानको दायरालाई फराकिलो पारिरहेछन् । हामीलाई त्यहाँको सजिसजावटले आकर्षित गरेको छ । खसमा पीवडी पुस्तकालयको उद्देश्य पीवडी कलेज अफ एजुकेशन एन्ड ह्युमन डेभलपमेन्टको पाठ्यक्रम, अनुसन्धान र सह–पाठ्यक्रमलाई टेवा पु¥याउने नै हो । यो पुस्तकालय आम नागरिकलाई पनि खुल्ला गरिएको छ । यहाँ भएका पुस्तकहरू अनलाइनबाट पनि हेर्न र पढ्न सकिन्छ । पुस्तकालय वरिपरि हरियाली दृश्य, फराकिलो पार्किङ्स्थल र आकर्षक पार्क अनि बगैँचाले थप आकर्षण बढाएको छ । बाल्टिमोरमा पुस्तकालयहरू थुप्रै रहेछन् । हामी पुस्तकालयमा पढ्न गएका थिएनौ । हामी केवल घुम्न मात्रै गएका थियौँ । घुम्यौँ र ज्ञानको भोक मेटाउन अर्कै दिन आउने सोच बनाएर त्यहाँबाट निस्कियौँ ।
यस नजिकै इनर हार्वन सामुद्री बन्दरगाह क्षेत्र रहेछ । यो बन्दरगाहलाई अमेरिकाको सबैभन्दा पुरानो बन्दरगाह मानिन्छ । यसको पूर्वमा प्रेसिडेन्ट स्ट्रीट, पश्चिममा ग्रीन स्ट्रिट, उत्तरमा लोम्बार्ड स्ट्रिट र दक्षिणमा हाइवेका सडकहरू छन् । बन्दरगाहलाई निकै व्यवस्थित गरिएको छ । सयौँको सङ्ख्यामा डुङ्गा र जहाजहरू किनारमै तैरिरहेछन् । त्यहाँको चहलपहल हेर्दा यहाँको सामुद्री व्यापार निकै उल्लेखनीय रहेको छ । ती जहाजहरू केवल विकासका दृष्टिले मात्रै महत्त्वपूर्ण छैनन् बरु ऐतिहासिक कारणले पनि महत्त्वपूर्ण मानिन्छन् । समुद्रमा विद्युत, पेट्रोल र डिजेलवाट चल्ने पानी ट्याक्सीको मज्जा पनि लिन सकिन्छ । यहाँ पानीमाथि बस्न मिल्ने घरहरू देखिँदै छन् । विकासको यो गज्जबको आनन्द साँच्चीकै स्वर्गीय छ । यहाँ विश्व प्रसिद्ध होटल तथा रेस्टुरेन्टहरू पनि छन् । इनर हार्वनले पानी फैलिएको क्षेत्रका लागि मात्र होइन सहरको वरिपरिको क्षेत्रलाई पनि बुझाउँछ । स्थानीय र पर्यटकहरूको सुविधाका लागि यहाँ सार्वजनिक यातायातको पनि व्यवस्था गरिएको छ । डाउन टाउनमध्ये हार्बन सहरलाई सबैभन्दा ठलो पर्यटकीय क्षेत्र मानिन्छ । डाउन टाउनभित्र राष्ट्रिय पर्व अनुसारको गतिविधिका साथै सदैव सांगीतिक कार्यक्रमको आयोजना गरिँदै आइएको रहेछ । सन् २००९ मा अबन ल्यान्ड इन्स्टिच्यटले विश्वभरको औद्योगिक वाटरफ्रन्ट पुनः विकासको नमूनाको रूपमा व्याख्या गरिएको छ ।
इनर हार्बनको उत्तरी किनारामा फेल्स प्वाइन्ट रहेको छ । यी दुवै बन्दरगाहहरूले आधुनिकता र प्राचीनताको प्रतिनिधित्व गर्दछ । फेल्स प्वाइन्ट पुरानो ऐतिहासिक बन्दरगाह हो जहाँ अहिले पनि बाल्टिमोरको सामद्री इतिहास सुरक्षित राखिएको छ । इनर हार्बनबाट छोटो पैदल यात्रा, पानी ट्याक्सी र सवारी साधनद्वारा पनि त्यहाँ पुगिन्छ । त्यस्तै एक माइलको दूरी होला सायद । हामी पैदलयात्राबाटै त्यहाँ पुगेका थियौँ । पैदलयात्रा गर्दा धेरै कुरा थाहा पाइन्छ । फेल्स प्वाइन्टले दुई सय ५० वर्षको इतिहास बोकेको छ । पहिले यस क्षेत्रलाई युरोपेली नाविकले लक आइल्याण्ड पोइन्टको रूपमा चिन्थे पछि फेल्स पोइन्टले चिनियो । फेल्स पोइन्टको नाम क्वेकर विलियम फेलबाट रहन गएको हो । यो क्षेत्र वाटरफ्रन्ट र एक उच्चस्तरको आवसीय क्षेत्र पनि हो । फेल्स पोइन्टमा ऐतिहासिक वस्तुकलाको विविधता रहेको हुँदा आन्तरिक र बाह्य पर्यटकहरूको आगमनमा वृद्धि भएको छ । पर्यटकहरूको सुविधाका लागि व्यवस्थित होटेल, रेस्टुरेन्ट, सपिङ सेन्टर आदि अनेक व्यवस्था गरिएको छ । ऐतिहासिक राष्ट्रिय सूचिमा परेको फेल्स पोइन्ट मेरिल्यान्ड प्रान्तको प्रवेशद्वारका रूपमा पनि रहेको छ । यस क्षेत्रमा आयरिश, जर्मन, यहुदी, पोल, युक्रेनी, रुसी, चेक र स्लोभाकहरूजस्ता ठुला आप्रावासी समुदायको बसोबास रहेको छ । फेल्स पोइन्टको समुद्री इतिहास मनाउन अप्रिलमा वार्षिकोत्सव कार्यक्रम गरिन्छ । आ–आफ्नो वेशभूषामा आएका स्थानीयले त्यसलाई एउटा भव्य उत्सवका रूपमा मनाउने गर्दछन् ।
हामी फेल्स पोइन्ट हेरेर र त्यहाँको आनन्द लिएपछि मेरिल्यान्डकै फेडरल हिलमा रहेको अमेरिकन भिजनरी आर्ट म्युजियम हेर्न गयौँ जहाँ राष्ट्रिय कला सङ्ग्रहालय रहेको छ । यसलाई अमेरिकी काँग्रेसले मान्यता दिइसकेको रहेछ । उक्त सङ्ग्रहालयकी संस्थापिका रेबेका अल्वान होफबर्गर हुन् । यो सङ्ग्रहालय सन् १९९५ बाट सर्वसाधारणका लागि खुला गरिएको रहेछ । सङ्ग्रहालयको भवन तीन तलाको छ । कला, विज्ञान, दर्शन, हास्य र सामाजिक न्यायलाई जोड्न सङ्ग्रहालयमा चार हजारभन्दा बढी कला–मूर्तिहरू प्रदर्शनीमा राखिएका छन् । कलाकारको व्यक्तिगत कल्पना, भावना र जीवन अनुभववाट जन्मिएको कलालाई यहाँ प्राथमिकता दिएको छ । सङ्ग्रहालयमा हो ब्यारोन, नेक चन्द, होबार्ड फिन्स्टर, भेनेसा जर्मन, मिस्टर इम्याजिनेसन, लियोनार्ड नाइड, विलियम कुरेलेक, लियो सबेल, जूडिथ स्कट, वेन विल्सनका साथै लण्डनका मी ओभर द चानका ब्यान बिल्सनजस्ता दूूरदर्शी कलाकारहरूका कलाकृति राखिएका छन् । सङ्ग्रहालय भवनको तेस्रो तलामा विवाहमण्डप पनि रहेको छ । विवाह पार्टीका साथै विभिन्न खानपानको आयोजना गर्न कोठाहरूलाई भव्य सजिसजावट गरिएको छ । । यस सङ्ग्रहालयलाई एक जीवन्त र आकर्षक गन्तव्यको रूपमा लिइन्छ । विकसित देशहरूले कलालाई कति सम्मान गरेका हुन्छन् भन्ने यस्तै म्यजियममा आएपछि थाहा हुन्छ । यो म्यजिम हेरेर हामी एक्यरेमतिर लाग्यौँ ।
बाल्टिमोरमा रहेको नेसनल एक्वेरियम निकै प्रसिद्ध छ । इनर हार्बरमा घम्न लायक यो पनि एउटा हो । यो जलजीव सङ्ग्रहालयमा झन्डै सत्र हजार जलचर जीवहरू देख्न पाइन्छ । जसले सात सयभन्दा बढी प्रजातिको प्रतिनिधित्व गर्छन् । म यो देखेर आश्चर्यचकित भएँ । यति धेरै जलजीव जम्मा गर्न कति श्रम र समय लाग्यो होला ! सन् १९८१ मा स्थापना भएको यो सङ्ग्रहालय गैह्र लाभकारी सार्वजनिक स्थल हो । तीन वर्ष लगाएर बनाइएको यो एक्वेरियम निकै भव्य छ । समद्री किनारमा रहेको यो एक्वेरियमको डिजाइन पिटर चेमेफले गरेका रहेछन् । राष्ट्रिय एक्वेरियमले विश्वमा रहेका जलजीवलाई संरक्षण गरेको छ । सात सयभन्दा बढी प्रजातिहरू हेर्नका लागि यहाँ वार्षिकÞ एक दशमलव पाँच मिलियन आगन्तुकहरूको आगमन हुने गरेको छ । त्यसैले पनि अमेरिकाको पर्यटन उद्योगमा यसको भूमिका महत्त्वपूूर्ण रहेको छ । ग्लासद्वारा निर्माण गरिएको पिरामिडका दुईवटा ट्याङ्कीहरू छन् । एउटाले एट्लान्टिक कोरल रीफको नक्कल गर्ने र अर्कोले खुल्ला समुद्रको प्रतिनिधित्व गर्दछ । यहाँ सिल, डल्फिन, व्हेल, समुद्री कछुवा जस्ता जीवहरू छन् । एक्वेरियमलाई लाग्ने विद्युत क्याम्ब्रिजले आपूर्ति दिँदै आएको छ । यसका लागि चार दसमलव तीन मेगावाट सौर्य उर्जा खपत हुने रहेछ । घुमफिर गर्न सजिलाका लागि सूचना पाटीले थप मद्दत गरेको छ । खुल्ला ठाउँमा बार बारेर सर्प, छेपारो, गोही, चराचुरुङ्गी पनि राखिएका छन् । कृत्रिम चट्टानबाट पानी खसिरहेको दृश्यले सबैको मन खिच्दछ । एक्वेरियमभित्र पर्यटकको सुविधाका लागि शौचालय, रेस्टुरेन्ट, कपडा आदि पसलहरूको व्यवस्था रहेको छ । एक्वेरियम र त्यहाँ रहेको जग्गा, जमिन बाल्टिमोर सहरको स्वामित्वमा रहेको छ । सन् २०११ मा यो एक्वेरियमलाई मेरिल्यान्ड ग्रीन रजिष्ट्री नेतृत्व पुरस्कारले समेत सम्मानित गरिएको रहेछ । त्यहाँको आनन्द लिएर हामी अन्नापोलिसतिर लाग्यौँ ।
बाल्टिमोरदेखि ४० कि.मि. को दूूरीमा अन्नापोलिस रहेको छ । यो मेरिल्यान्डको राजधानी हो । एनी अरून्डेल काउन्टीमा मेरिल्यान्डको पश्चिम किनारामा अन्नापोलिस रहेछ । सन् १७८३ मा पेरिस सन्धिमा हस्ताक्षर गरेपछि अन्नापोलिस संयुक्त राज्य अमेरिकाको अस्थायी राजधानी बन्यो । यो सहर समुद्री गतिविधि, बोटिङ्ग, सिफुड र पर्यटनका लागि प्रसिद्ध छ । इतिहासको संरक्षण गर्नसमेत समर्पित रहेको यो सहर सदैव व्यस्त रहन्छ ।
अल्नापोलिसको डाउनटाउनमा रहेको सिटी डकलाई मुटु मानिन्छ । चेस्पेक खाडीको पानीसँग जोडिएको सफा सुग्घर सिटी डक बस्ती हो । गुरु योजनाअनुसार बस्ती विकास गरिएको छ । बाटोघाटो, सडकपेटी, घर, सार्वजनिक शौचालय, पार्क बगैँचा, पुस्तकालय, हुलाक पोस्ट, बोटबिरुवा, रङ्गीचङ्गी पूmल, पार्किङ आदिको व्यवस्थापन दीर्घकालीन सोचानुसारको छ । समुद्री जीवनमा रमाउन चाहनेहरूका लागि रमाइलो स्थल मानिन्छ । सूूर्योदयदेखि समुद्री छालहरूको शान्त, सौन्दर्य हेर्न लायक देखिन्छ । सिटी डक व्यापार, वाणिज्य र मनोरञ्जनका लागि केन्द्र मानिन्छ ।
अन्नापोलिसमा रहेको स्टेट हाउस अति नै महत्त्वपूर्ण स्थान हो । यो मेरिल्यान्ड राज्यको संसद भवन पनि हो । यो भवनको निर्माण सन् १७७२ मा सुरु गरी सन् १७७९ मा पूूरा गरिएको थियो । उच्च ठाउँमा रहेको संसद भवन दुई तलाको गुम्बज शैलीमा बनेको छ । जर्जियाली शैलीको संरचनामा वास्तुकार जेसिफ होरटियो एन्डरसनले डिजाइन गरेका हुन् । युद्धको समयमा अदालत, कारागार र अस्पताल यसै भवनमा राखिएको थियो । यहाँ जर्ज वाशिङ्टनले अमेरिकी क्रान्तिपछि कमान्डर इन चीफबाट राजिनामा दिएका थिए साथै पेरिसको सन्धिको अनुमोदनसमेत भएको थियो । राज्यको निर्वाचित नेतृत्व, गभर्नर, लेफ्टिनेन्ट गभर्नर, प्रतिनिधिसभाका अध्यक्ष र सिनेटका अध्यक्ष सबैको यहाँ कार्यालय रहेको छ । सन् १७७२ देखि स्टेट हाउसमा मेरिल्यान्ड महासभा, राज्य विधायिकाको बैठक नियमित बस्दै आइरहेको छ । यो क्रिसमस र नयाँ वर्षबाहेक हरेक दिन बिहान साढ़े आठ बजेबाट साझ पाँच बजेसम्म खुल्ला रहन्छ । स्टेट हाउसलाई स्टेट हाउस ट्रष्टद्वारा सञ्चालन गरिएको छ ।
अमेरिकाको सेवा एकेडेमीहरूमध्ये सबैभन्दा दोस्रो ठुलो मानिने नेभल एकेडमी पनि मेरिल्यान्डमा नै छ । यसलाई संघीय सेवा एकेडेमी मानिन्छ । सेना प्रवेशका लागि सिधै निवेदन दिनु पर्दछ । यहाँ सेकेण्ड लेफ्टीनेन्ट स्तरको शिक्षा दिइन्छ । यहाँको अध्ययन चार वर्षको हुन्छ । अमेरिकन नागरिकको उमेर १७ देखि २३ वर्ष बिचको अविवाहितका साथै नैतिक चरित्र भएका युवाहरू सेनामा आवद्ध हुन पाउने प्रावधान राखिएको छ । एकेडेमीका भवन ठला र आकर्षक देखिन्छ । भवनका वरिपरि हवाइजहाज, स्तम्भ, हातहतियार, तोप, वीर योद्धा र जनावरहरूको दृश्य प्रदर्शनीमा राखिएको छ । नेभल एकेडेमी सन् १८४५ मा जर्ज व्यानक्रफ्टको नौसेना सचिवालयको कार्यालय राख्न स्थापना गरिएको रहेछ ।
साँझ पर्न लाग्यो । मेरिल्यान्डको बसाई र घुमफिर गर्ने आज अन्तिम दिन हो । नेभल एकेडेमीको घुमफिरलाई बिट मा¥यौँ । रातको दुई बजे टेक्सास फर्कनु छ । रातको नौ बजे बाल्टिमोर एयरपोर्टमा प्रवेश गरेँ । एयरपोर्टभित्र समय बिताउने मेसो मिलाएँ । समय बितेको पत्तै भएन । निर्धारित समयमा जहाज चढी बिहानीपख टेक्सास पुग्यौँ । मेरिल्यान्ड घुम्दाको दृश्यहरू ऐना बनेर अहिलेपनि आँखा वरिपरि घुमिरहेको छ नबिर्सने गरी ।

प्रतिक्रिया