+
Search

ताजा अपडेट +

पपुलर +

जनताको कठघरामा वडाध्यक्ष, खानेपानी र विकासका अलमलमाथि स्पष्टीकरण

Ward chair in the public court, clarification on the confusion over drinking water and development
डबली खबर
१ दिन अगाडी

असार २९, नुवाकोट । स्थानीय तहमा सुशासन र जवाफदेहिता प्रवर्द्धन गर्ने उद्देश्यका साथ विदुर नगरपालिका वडा नम्बर १ द्वारा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय नागरिकहरूले विकास निर्माण, प्रशासनिक ढिलासुस्ती र आधारभूत आवश्यकताका विषयमा गुनासो पोखेका छन्।

जनस्तरमा सार्वजनिक सुनुवाइको अभ्यास गरेको भन्दै केही सहभागीहरूले आलोचना गरे पनि वडाले यसअघि प्रत्येक वर्ष वडा भेलामार्फत जनताको राय लिएर मात्रै बजेट निर्माण गर्ने गरेको वडाअध्यक्ष लेनिन रञ्‍जितले बताए ।

कार्यक्रममा स्थानीय सरोकारवाला, उपभोक्ता समिति तथा आम सर्वसाधारणले उठाएका खानेपानीको पाइपलाइन विस्तारमा देखिएको प्राविधिक त्रुटि, सडक पूर्वाधारको अस्तव्यस्तता र जेष्ठ नागरिकका लागि बिश्रामस्थल निर्माण जस्ता बहुआयामिक सवालहरूमा वडाअध्यक्ष रञ्‍जितले स्पष्टीकरण दिँदै कार्यक्रममा आगामी योजनाबारे जानकारी दिए।

नेपाल सरकार र सुशासन केन्द्रको स्वीकृत कार्यविधि बमोजिम स्थानीय तहले अनिवार्य रूपमा सार्वजनिक परीक्षण र सार्वजनिक सुनुवाइ गर्नुपर्ने कानुनी व्यवस्थालाई ढिलै भए पनि कार्यान्वयनमा ल्याइएको वडाअध्यक्ष लेनिन रञ्‍जितले स्वीकार गरेको छ। यसअघिका वर्षहरूमा औपचारिक सार्वजनिक सुनुवाइ नभए तापनि वडा भेला आफैँमा एउटा सशक्त जनसुनुवाइको माध्यम रहेको तर्क दिए । जनताको प्रत्यक्ष सहभागिता बिना वडाले कुनै पनि नीति तथा कार्यक्रम तर्जुमा नगरेको दाबी गर्दै नागरिकका गुनासा सुन्न र आफ्ना कमजोरी सुधार्न वडा कार्यालय सधैँ तत्पर रहेको वडाअध्यक्ष रञ्‍जितले बताए । सार्वजनिक मञ्चमा उठेका हरेक प्रश्नहरूको जिम्मेवारीपूर्वक जवाफ दिने प्रतिबद्धता जनाउँदै वडाअध्यक्ष रञ्‍जितले स्थानीय तह र नागरिकबीचको निरन्तर संवादले मात्रै लोकतन्त्र बलियो हुने र विकासले गति लिने उल्लेख गरेका छन् ।

कार्यक्रममा सहभागीहरुले बजार क्षेत्रभित्र खानेपानीको नयाँ पाइपलाइन विस्तार गर्दा मुख्य पोइन्टहरू फेला नपर्दा उपभोक्ताहरू मर्कामा परेको र वडाले यस विषयमा पर्याप्त प्राविधिक निगरानी नगरेको भन्दै आक्रोश व्यक्त गरेका थिए । उक्त गुनासोको सम्बोधन गर्दै वडाअध्यक्ष रञ्‍जितले विगतमा वस्ती विकास र खानेपानी आयोजना सञ्चालन गर्दा उपभोक्ता समितिकै ढिपी र प्राविधिक त्रुटिका कारण अहिले समस्या बल्झिएको स्पष्ट पारेका छन् । विगतमा घरघरको ठीक अगाडि नै पोइन्ट राखौँ भन्दा स्थानीयस्तरबाट असहयोग भएको स्मरण गराउँदै वडाअध्यक्ष रञ्‍जितले चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटबाट अब जसको घर अगाडि हो, त्यहीँबाट मात्रै नयाँ पोइन्ट वितरण गरिने र व्यक्तिगत स्वार्थका आधारमा जथाभावी लाइन लैजाने प्रवृत्तिलाई पूर्ण रूपमा निरुत्साहित गरिने वडाअध्यक्ष रञ्‍जितले बताए ।

वडाअध्यक्ष रञ्‍जितले स्थानीय टोल विकास समिति र उपभोक्ता समितिहरूले आफ्नो क्षेत्रमा देखिएका समस्याका बारेमा समयमै वडा कार्यालयलाई औपचारिक जानकारी दिनुपर्नेमा जोड दिए । राम मन्दिर क्षेत्रको बाटो र समग्र व्यवस्थापन निकै अस्तव्यस्त भेटिएको स्वीकार गर्दै वडाअध्यक्ष रञ्‍जितले वडाको सीमित स्रोत र साधनका बावजुद तत्काल गर्न सकिने मर्मतसम्भारका कार्यहरू अगाडि बढाइसकिएको र दीर्घकालीन समाधानका लागि नगरपालिकासँग बजेट माग गरिएको जानकारी दिए।

स्थानीय जेष्ठ नागरिकहरूका लागि बिश्रामस्थल र पुस्तकालय भवन निर्माणको विषय पनि जनसुनुवाइमा जोडतोडका साथ उठेको थियो। सहभागीहरूले पुरानो पुस्तकालय भवनको उचित संरक्षण गरी जेष्ठ नागरिकहरू बस्न मिल्ने फल्चा वा चौतारी बनाउन माग गरेका थिए। जवाफमा वडाअध्यक्ष रञ्‍जितले उक्त पुरानो पुस्तकालय भवन प्राविधिक दृष्टिकोणले निकै जीर्ण र जोखिमपूर्ण अवस्थामा रहेकाले इन्जिनियरहरूको सल्लाहअनुसार नै यस वर्षको बजेटमा रकम विनियोजन नगरिएको प्राविधिक कारण खुलाए।

यद्यपि, स्थानीय पहिचान र जेष्ठ नागरिकहरूको भावनालाई कदर गर्दै उक्त स्थानमा व्यवस्थित फल्चा निर्माणका लागि विदुर नगरपालिकाका नगरप्रमुख र उपप्रमुख दुवै सकारात्मक रहेको र आगामी परिमार्जित योजनामार्फत बजेट व्यवस्थापन गरिने वडाअध्यक्ष रञ्‍जितले आश्वासन दिए। वडाअध्यक्ष रञ्‍जितले आफ्नो अघिल्लो कार्यकालमा पनि मन्दिर क्षेत्रमा जेष्ठ नागरिक विश्रामस्थल निर्माण गरिएको तथ्य स्मरण गराउँदै वडा सधैँ सामाजिक सुरक्षा र संस्कृति संरक्षणमा संवेदनशील रहेको दाबी गरे ।

सार्वजनिक सुनुवाइमा उठेका थप वित्तीय सवालहरूमाथि बोल्दै अध्यक्ष रञ्‍जितले वडाको बजेट कहाँ, कसरी र कुन योजनामा खर्च भइरहेको छ भन्ने कुरा थाहा पाउनु प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएको स्पष्ट पारे । अध्यक्ष रञ्‍जितले पारदर्शिता नै सुशासनको पहिलो सर्त भएको उल्लेख गर्दै बजेट र योजनाको पूर्ण विवरण आवश्यक पर्ने जोकोही स्थानीयले वडा कार्यालयमा आएर आधिकारिक प्रतिलिपि लिन सक्ने बताए।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ