असार १५, नुवाकोट । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले विभिन्न समयमा सवारी नियम उल्लंघन गरी कारबाहीमा परेका तर हालसम्म आफ्नो कागजपत्र लिन नआएका सवारी चालक तथा धनीहरूलाई तत्काल जरिवाना बुझाई कागजपत्र फिर्ता लैजान सूचना जारी गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख विनोद ढकालका अनुसार विभिन्न समयमा नियन्त्रणमा रहेका सवारी चालक अनुमति पत्र र सवारी दर्ता किताब लगायतका महत्त्वपूर्ण कागजातहरू फिर्ता लैजान सम्बन्धित सबैलाई सूचित गरिएको हो।
नियम उल्लंघन गरेपछि प्रहरीले दिएको २४ घण्टे पूर्जी पाएर पनि तोकिएको समयभित्र जरिवाना रकम दाखिला नगर्ने चालकहरूको संख्या बढ्दै गएपछि ट्राफिक प्रहरीले यो कडा कदम चालेको ट्राफिक प्रमुख ढकालले बताए ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को विभिन्न दफाहरू उल्लंघन गर्नेहरूलाई ऐनको दफा १६४ को उपदफा (२) बमोजिम कारबाही स्वरूप २४ घण्टे पूर्जी दिइएको उल्लेख छ।
यसरी पूर्जी पाएर पनि लापरवाही गर्दै जरिवाना नतिरी बस्नेहरूलाई यो सूचना प्रकाशित भएको मितिले १० (दस) दिनभित्र अनिवार्य रूपमा जरिवाना रकम बुझाएर आफ्ना कागजातहरू फिर्ता लैजान अन्तिम मौका दिइएको छ।
यदि तोकिएको १० दिनको म्यादभित्र पनि कोही आफ्ना कागजातहरू लिन नआएमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ को उपदफा (५) बमोजिम त्यस्ता कागजातहरू बढीमा १ (एक) महिनासम्म निलम्बन गर्न सकिने कानुनी व्यवस्था रहेकाले सोही अनुसार आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत ट्राफिक प्रहरीले प्रष्ट पारेको छ।

प्रतिक्रिया