+
Search

ताजा अपडेट +

पपुलर +

वडा अध्यक्षसहितले २० जनाले लिए मौरीपालन तालिम

20 people, including ward chairperson, receive beekeeping training
डबली खबर
९ मिनेट अगाडी

जेठ २०, नुवाकोट । सचतेन सामुदायिक सिकाई केन्द्रको आयोजनामा विदुरमा भएको एडभान्स मौरीपालन सम्बन्धी ५ दिने तालिममा विदुर नगरपालिका-४ का अध्यक्ष निलमबाबु ढुङ्गेलसहित २० जनाले तालिम लिएका छन् ।

जेठ १६ गतेदेखि सुरुभएको तालिमको समापनमा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले २० जना सहभागीहरुलाई प्रमाणपत्र र एक/एक जनालाई मौरीको घार प्रदान गरेका छन् ।

नगरप्रमुख श्रेष्ठ नगरपालिकाको भूगोल मौरीपालनका लागि अत्यन्तै उर्वर र उपयुक्त रहेको औंल्याउँदै यस क्षेत्रको प्रवर्द्धनमा नगरले विशेष ध्यान दिने प्रतिवद्धता जनाए। उनले मौरीपालन व्यवसाय केवल आर्थिक उपार्जनको माध्यम मात्र नभई विशेषगरी सेवा निवृत्त जीवन बिताइरहेका नागरिकहरूका लागि स्वास्थ्य र मानसिक स्फूर्तिका दृष्टिकोणले समेत बरदान साबित हुन सक्ने उल्लेख गरे ।

उनका अनुसार बढ्दो उमेरसँगै आउने मानसिक तनाव, चिन्ता र डिप्रेसन जस्ता समस्याहरू न्यूनीकरण गर्न प्रकृति र मौरीसँगको सामिप्यता निकै फलदायी हुन्छ। “रिटायर्ड जीवन व्यतित गर्दै गर्दा कोही साथी भेटिएन भने पनि कम्तिमा मौरीसँग रमाउन सकिन्छ,” उनले भने, “मौरीको हेरचाह गर्दा एकातिर शारीरिक व्यायाम (एक्सरसाइज) हुन्छ भने अर्कोतिर मानिस प्रकृतिको नजिक पुग्छ, जसले जीवनको आयु बढाउन (लाइफ एक्स्टेन्सन) समेत मद्दत पुर्‍याउँछ।”

आगामी आर्थिक वर्ष २०८३/८४ मा मौरीपालनलाई थप प्रवर्द्धन गर्न आयोजक केन्द्रलाई २० घार प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे । नगरपालिकाले स्वरोजगारी सिर्जना गर्न दक्ष जनशक्ति उत्पादनको लागि विभिन्न तालिम आयोजना गर्दै आईरहेको छ। कृषितर्फ नगरका वडा नम्बर ४ र ९ मा कृषि हाटबजार संचालन गरी स्थानीय किसानलाई प्रत्यक्षरुपमा उपभोक्तासमक्ष जोड्ने कार्य गरेको बताए ।

कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हरिराम भण्डारीले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न र व्यावसायिक रूपमा अगाडि बढाउन सहभागीहरूलाई आग्रह गरेका छन् । उनले मौरीपालन र महको उपभोग मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै मह एक अत्यन्तै शक्तिवर्धक र विभिन्न रोगका बिरामीहरूका लागि उपयोगी प्राकृतिक औषधि जस्तै भएको बताए। उनले दैनिक रूपमा तातो पानीमा एक चम्चा मह मिसाएर खाँदा मुटु रोग लगायतका स्वास्थ्य समस्याहरूमा ठूलो फाइदा पुग्ने भन्दै सामाजिक सञ्जालहरूमा समेत यसको ठूलो महत्वबारे चर्चा हुने गरेको स्मरण गराए ।

स्थानीयस्तरमै सीप विकास गरी व्यावसायिक मौरीपालनलाई प्रबर्द्धन गर्ने उद्देश्यले दिइएको तालिममा सहभागीलाई मौरीको प्रजनन प्रक्रिया, हुल निस्कने अवस्था, गोला विभाजन, तथा परम्परागत र आधुनिक मौरीपालन प्रविधिको तुलनात्मक अध्ययन पनि गराइएको थियो।

तालिमका सहभागी एवम् विदुर नपा-४ का वडा अध्यक्ष निलमबाबु ढुङ्गेलले तालिम लिएपछि अब आफैँ परम्पराको घारलाई आधुनिक घार निर्माण गर्न सहज भएको बताए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ