जेठ ५, विदुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले विभिन्न समयमा कारबाहीका क्रममा नियन्त्रणमा लिइएका सवारी चालक अनुमति पत्र (लाइसेन्स) र सवारी दर्ता किताब (ब्लूबुक) लगायतका कागजपत्रहरू समयमै फिर्ता लैजान सवारी चालक तथा धनीहरूलाई आग्रह गरेको छ ।
कार्यालयले एक जरुरी सूचना जारी गर्दै ट्राफिक नियम उल्लंघन गरेबापत २४ घण्टे पुर्जी पाएर पनि तोकिएको समयभित्र जरिवाना रकम दाखिला नगर्नेहरूलाई लक्षित गरी यो ताकेता गरेको हो ।
ट्राफिक चेकिङका क्रममा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम कारबाहीमा परेका तर हालसम्म आफ्नो कागजपत्र लिन नआएका व्यक्तिहरूलाई सूचना प्रकाशित भएको मितिले १० दिनभित्र जरिवाना बुझाएर कार्यालय वा मातहतका अन्य शाखाहरूबाट कागजपत्र फिर्ता लैजान भनिएको छ ।
प्रहरी निरीक्षक विनोद ढकालद्वारा हस्ताक्षरित उक्त सूचनामा तोकिएको १० दिनको समयावधिभित्र पनि जरिवाना नबुझाई कागजपत्र फिर्ता नलगेमा कानुनी रूपमै थप कडा कदम चालिने चेतावनी दिइएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ को उपदफा (५) बमोजिम त्यस्ता कागजपत्रहरू बढीमा १ महिनासम्मका लागि निलम्बन गर्न सकिने कानुनी व्यवस्था रहेकाले सोही प्रक्रिया अनुसार कारबाही अगाडि बढाइनेट्राफिक प्रमुख ढकालले जानकारी दिए ।
जरिवाना तिर्न बाँकी रहेका सम्पूर्ण सवारी चालक तथा धनीहरूलाई बेलैमा आफ्नो कानुनी दायित्व पूरा गरी सम्भावित निलम्बन र थप झन्झटबाट बच्न ट्राफिक प्रमुख ढकालले अनुरोध गरेको छ ।

प्रतिक्रिया