३ वैशाख, नुवाकोट । विदुर नगरपालिकामा आज वैशाख ३ गतेदेखि ५ गतेसम्म ‘प्रथम विदुर मेयर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता’ सुरु भएको छ ।
खेलकुदको माध्यमबाट राष्ट्रिय एकता र स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यका साथ विदुर नगरपालिकाको आयोजना र नुवाकोट जिल्ला ब्याडमिन्टन संघको सहआयोजनामा प्रतियोगिता सञ्चालन भएको हो।
प्रतियोगिताको बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।
कार्यक्रममा जिसस नुवाकोटका प्रमुख रजिन्द्रबिक्रमसिंह ठकरी, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलगायत विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थिति रहेको थियो ।
बट्टारस्थित नुवाकोट ब्याडमिन्टन कभर्ड हलमा सञ्चालन भईरहेको खेलमा राष्ट्रिय खेलाडी र देशैभरका खेलाडीहरूको सहभागिता जनाएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा कूल आठवटा विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताका प्रथम हुनेले ५० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् । द्वितीय र तृतीय हुनेले क्रमशः ३५ हजार र २० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। जिल्लास्तरीय विधामा पनि १५ हजार देखि ३० हजार रुपैयाँसम्मको पुरस्कार प्राप्त गर्नेछ ।
प्रतियोगितामा जिल्ला खेलकुद विकास समितिको समन्वय र नेपाल ब्याडमिन्टन संघ काठमाडौंको प्राविधिक सहयोग रहेको छ।