३० चैत, नुवाकोट । होटल व्यवसायी महासङ्घ नेपालको १३औं वार्षिक साधारणसभा तथा ५औं महाधिवेशन पोखरामा सम्पन्न भएको छ। महाधिवेशनले शङ्कर भण्डारीको नेतृत्वमा सबै कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् ।
नवगठित केन्द्रीय कार्यसमितिमा ४७ सदस्यीय रहेका छन् । जसमा २४ जना पदाधिकारी छन्। वरिष्ठ उपाध्यक्षमा सन्तोष उप्रेती, सङ्गठन उपाध्यक्षमा वीर्मञ्जन बताला, प्रशासन उपाध्यक्षमा ज्ञानबहादुर गजमेर, पर्यटन उपाध्यक्षमा कलामबहादुर बम, उद्योग मेला उपाध्यक्षमा भैचन्द्र श्रेष्ठ, महिला उपाध्यक्षमा सुनिता पन्त पौडेल चयन भएका छन्।
महासङ्घले आगामी दिनमा होटल तथा पर्यटन क्षेत्रको प्रवर्द्धन, व्यवसायीहरूको अधिकार संरक्षण, लगानी सुरक्षित गर्ने, रोजगारी सिर्जना गर्ने र दिगो पर्यटन विकासमा जोड दिने घोषणा गरेको छ। संघले संघीय, प्रदेश तथा स्थानीय सरकारसँग सहकार्य गर्दै व्यवसायमैत्री नीति, कर सुधार र लगानी वातावरणलाई सहज बनाउन पहल गर्ने बताएको छ।
महाधिवेशनले ‘पोखरा घोषणापत्र २०८२’ लाई मार्गदर्शक दस्तावेजका रूपमा अघि बढाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन, डिजिटल प्रणालीको विकास, ग्रामीण पर्यटन विस्तार, महिला तथा युवा उद्यमशीलताको प्रवर्द्धन र सुरक्षित तथा व्यवस्थित व्यवसाय सञ्चालनतर्फ केन्द्रित रहने जनाएको छ।