२३ चैत, नुवाकोट । त्रिशूली अस्पतालको सेवा प्रवाह र व्यवस्थापनका विषयमा जनस्तरमा उठेका कतिपय प्रश्न र प्रक्रियागत अन्योललाई चिर्न अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीले स्पष्टीकरण दिएको छ।
त्रिशूली अस्पतालले आईतबार आयोजना गरेको सामाजिक परीक्षण कार्यक्रममा बोल्दै उनले अस्पतालको आन्तरिक कार्यप्रणाली र सर्वसाधारणले भोग्नुपरेका समस्याका प्राविधिक कारणबारे विस्तृत स्पष्टीकरण दिएका हुन् ।
अध्यक्ष बुढाथोकीका अनुसार कतिपय अवस्थामा अस्पतालको उपचार प्रक्रियाबारे पर्याप्त जानकारी नहुँदा सेवाग्राहीमा भ्रम पैदा हुने गरेको छ। विशेषगरी आकस्मिक कक्षमा २४सै घण्टा एमबीबीएस डाक्टरहरू उपलब्ध हुने र विशेषज्ञ डाक्टरहरूसँग निरन्तर समन्वय गरेर मात्र उपचार प्रक्रिया अगाडि बढाउने पद्धति रहेको उनले स्पष्ट पारे ।
अस्पतालमा भीडभाड भए पनि विशेषज्ञ चिकित्सकको परामर्श बिना कुनै पनि गम्भीर उपचार नहुनेमा उनले जोड दिए । बिरामीको अवस्था हेरी सम्बन्धित विभागका एमडी डाक्टरसँग सल्लाह गरेर मात्रै उपचारका कदमहरू चालिने हुँदा सेवाको गुणस्तरमा शङ्का नगर्न उनले आग्रह गरे ।
भिडियो एक्सरे सेवाका सम्बन्धमा काठमाडौँका ठूला अस्पतालसँग तुलना गर्दै अध्यक्ष बुढाथोकीले त्रिशूलीमै सहज सेवा उपलब्ध गराइएको दाबी गरे । काठमाडौँमा एमडी डाक्टरको समय लिन र घण्टौँ कुर्नुपर्ने बाध्यता हुने भएतापनि अस्पतालमा दैनिक ६० देखि ७० जनाले विशेषज्ञबाटै भिडियो एक्सरे सेवा पाइरहेको उनको भनाइ छ।
अस्पतालले आकस्मिक अवस्थाका बिरामीलाई रातदिन नभनी भिडियो एक्सरे सेवा उपलब्ध गराउँदै आएको छ। तर, वार्डमा रहेका र नियमित जाँचका बिरामीको हकमा भने केही समय कुर्नुपर्ने हुनसक्ने यथार्थलाई स्वीकार्दै उनले यसलाई व्यवस्थापन गर्ने प्रयास भइरहेको बताए ।
अस्पतालको क्षमताभन्दा बढी बिरामीको चाप हुनु अर्को चुनौती बनेको छ। सरकारले तोकेको मापदण्ड र शय्या संख्याभन्दा धेरै बिरामी आउँदा व्यवस्थापनमा कठिनाइ भए पनि कसैलाई सेवाबाट वञ्चित नगराइएको अध्यक्ष बुढाथोकीले उल्लेख गरे ।
नेपाली समाजमा रहेको “सबैजना डाक्टर” बन्ने प्रवृत्तिको चर्चा गर्दै उनले कुन उपचार वा कुन परीक्षण आवश्यक छ भन्ने कुरा चिकित्सकलाई नै छोडिदिन आग्रह गरे । कतिपय बिरामीले चिकित्सकको सल्लाह बिना नै अनावश्यक रूपमा भिडियो एक्सरे वा अन्य परीक्षणको माग गर्दा प्रणालीमा दबाब पुग्ने गरेको उनको विश्लेषण छ।
स्वास्थ्य बीमाका सम्बन्धमा पनि अध्यक्ष बुढाथोकीले महत्त्वपूर्ण स्पष्टीकरण दिँदै बीमा रकम उपलब्ध छ भन्दैमा अनावश्यक उपचार खोज्नुभन्दा पनि वास्तविक आवश्यकताका आधारमा मात्र बीमाको प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।
सरकारले पछिल्लो समय ओपिडी उपचार खर्चको सीमामा गरेको परिवर्तन र भुक्तानीमा देखिएको समस्याले अस्पताल सञ्चालनमा केही बाधा पुर्याएको उनले स्वीकार गरे । सरकारबाट समयमै शोधभर्ना नहुँदा औषधि आपूर्तिकर्ताहरूलाई भुक्तानी गर्न समस्या भइरहेको उनको गुनासो छ।
बीमा बोर्डबाट करोडौँ रुपैयाँ भुक्तानी लिन बाँकी हुँदाहुँदै पनि अस्पतालले औषधि आपूर्ति र सेवा बन्द नगरेको उनले प्रस्ट पारे । हजारौँ प्रकारका औषधिमध्ये कुनै एक नपाउँदा त्यसैलाई विषय बनाएर सामाजिक सञ्जालमा भाइरल बनाउन खोज्नु दुखद भएको उनको तर्क छ।
आपूर्तिकर्ताले टेन्डर बमोजिम औषधि दिन नसकेको खण्डमा अस्पतालले स्थानीय स्तरबाटै भए पनि वैकल्पिक व्यवस्था गरेर बिरामीलाई सेवा दिइरहेको उनले जानकारी दिए । अस्पताल व्यवस्थापन जस्तोसुकै कठिन परिस्थितिमा पनि सेवा प्रवाहमा प्रतिबद्ध रहेको उनको दाबी छ।
औषधि र उपकरणको गुणस्तर कायम गर्न खोज्दा कहिलेकाहीँ कानुनी प्रक्रिया र झन्झटले बाधा पुर्याउने गरेको उनले बताए । सरकारी टेन्डर प्रक्रिया र गुणस्तर नियन्त्रणका प्रावधानहरूले गर्दा सोचेजस्तो द्रुत गतिमा काम गर्न नसकिएको उनको अनुभव छ।
अध्यक्ष बुढाथोकीले संघीय र प्रदेश सरकारलाई गुणस्तर कायम गर्ने र टेन्डर प्रक्रियालाई अझ सहज बनाउने नीति ल्याउन आग्रह गरे । नीतिगत रूपमा स्पष्टता र सरलीकरण भएमा अस्पताल व्यवस्थापन समितिले यस्ता प्राविधिक समस्याहरू भोग्नु नपर्ने उनको विश्वास छ।
पत्रकार र सामाजिक अभियन्ताहरूलाई आग्रह गर्दै उनले अस्पतालका सकारात्मक प्रयास र वास्तविक समस्याका बारेमा जनसमुदायमा सहि सूचना पुर्याइदिन अनुरोध गरेका छन् । तथ्य नबुझी गरिने आलोचनाले सेवा प्रवाहमा खटिएका कर्मचारी र चिकित्सकको मनोबल गिराउने उनले उल्लेख गरे । त्रिशूली अस्पताललाई जिल्लाकै नमुना स्वास्थ्य संस्था बनाउन आफू र आफ्नो टिम अहोरात्र खटिएको भन्दै उनले सेवाग्राहीको रचनात्मक सुझावलाई सधैँ स्वागत गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया