+
Search

ताजा अपडेट +

पपुलर +

सुधारको लयमा त्रिशूली अस्पताल: सेवा चुस्त, तर पूर्वाधार र व्यवस्थापनमा सकस

डबली खबर
३ हप्ता अगाडी

२३ चैत, नुवाकोट । त्रिशूली अस्पतालले आईतबार आयोजना गरेको सामाजिक परीक्षण कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ का आफ्ना उपलब्धि, चुनौती र भावी सुधारका योजनाहरू प्रस्तुत गरेको छ।

कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, ९ नम्बर वडाका अध्यक्ष हरिराम भण्डारी, पत्रकार, स्थानिय समाजसेवी, अस्पतालका कर्मचारीलगायतको उपस्थिति रहेको कार्यक्रममा सामाजिक परीक्षण संस्था जीएस लिगल रिसर्च कन्सल्टेन्सीका प्रतिनिधि गोकर्ण पुडासैनीले अस्पतालले सेवा विस्तारमा उल्लेख्य प्रगति गरेको दाबी गरेतापनि व्यवस्थापकीय र पूर्वाधारका क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको तथ्य सार्वजनिक गरेको हो ।

त्रिशूली अस्पतालको स्वास्थ्य सुधारमा नगरप्रमुखको ऐक्यबद्धता

विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले त्रिशूली अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नगरपालिकाले सधैं सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्रिशूली अस्पतालको सेवा प्रवाहमा अध्यक्ष बुढाथोकीको स्पष्टीकरण

सामाजिक परीक्षणले अस्पतालको समग्र स्वास्थ्य सेवा र अवस्थामा ८५ प्रतिशत सेवाग्राहीले सन्तुष्ट, ८प्रतिशतले सामान्य र ७ प्रतिशतले असन्तुष्ट व्यक्त गरेको प्रतिवेदनले देखाएको छ ।

संस्थाले अस्पतालमा भएको स्वास्थ्य सेवा, भौतिक पूर्वाधार, जनशक्तिलगायतका उपलब्धीहरु सुधार भएको उल्लेख गरेको छ। अस्पतालले पछिल्लोसमय विशिष्टीकृत सेवामा जोड दिँदै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा नाक, कान, घाँटीको ओपिडी सेवा र महिलाहरूका लागि स्तन क्यान्सर स्क्रिनिङ जस्ता महत्वपूर्ण सेवाहरू थप गरेको प्रतिवेदनमा छ। यसका साथै मानसिक स्वास्थ्यका बिरामीका लागि श्रव्य-दृश्य परामर्श कक्षको स्थापना र महिनाको एकपटक मुटु रोग विशेषज्ञको सेवा उपलब्ध गराउनुलाई अस्पतालले आफ्नो प्रमुख उपलब्धिको रूपमा लिएको छ।

अस्पतालले सेवालाई प्रविधिमैत्री बनाउन अस्पतालले अनलाइन टिकटिङ प्रणाली र ल्याब रिपोर्टहरू सेवाग्राही आफैले ‘अटो-प्रिन्ट’ हुने व्यवस्था मिलाएको छ। यसबाट बिरामीले रिपोर्ट लिनका लागि लामो समय कुर्नुपर्ने झन्झट कम भएको र डिजिटल रेकर्डिङ प्रणालीतर्फ अस्पताल उन्मुख भएको देखिएको छ । यद्यपि, प्रविधिको पूर्ण उपयोगमा अझै केही प्राविधिक कठिनाइहरू कायमै रहेको छ।

विपन्न र असहाय बिरामीका लागि अस्पतालले ‘औषधि बैंक’ स्थापना गरेको छ ।

अस्पतालमा म्यागङ गाउँपालिका र विदुर नगरपालिका जस्ता स्थानीय तहसँग समन्वय गरी सामाजिक सेवा एकाइ मार्फत निःशुल्क उपचारको व्यवस्था पाईएको छ। अस्पतालले आफ्नै अक्सिजन प्लान्ट सञ्चालन गरी सिलिन्डर रिफिलमा हुने खर्च कटौती गरेको र एम्बुलेन्स सेवालाई थप व्यवस्थित बनाएको देखिएको छ।

अस्पतालमा हाल बिहान ८ बजेदेखि नै बहिरङ्ग सेवा (ओपिडी) सञ्चालन भइरहेको छ । जसले गर्दा बिरामीहरूलाई बिहानैदेखि सेवा लिन सहज भएको छ। तर, विशेषज्ञ चिकित्सकहरू प्रायः १० बजेपछि मात्र उपलब्ध हुने भएकाले बिहानी ओपिडीबाट रिफर भएका बिरामीहरूले पुनः दोस्रोपटक लाइन बस्नुपर्ने बाध्यता रहेको र यसले बिरामीमा असन्तुष्टि बढाएको प्रतिवेदनमा छ।

स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत औषधि सिफारिस र काउन्टरको छुट्टै व्यवस्था गरिएको भए तापनि बिमामा तोकिएका औषधिहरूको पर्याप्त मौज्दात नहुँदा बिरामीले बाहिरका निजी फार्मेसीबाट महँगोमा औषधि किन्नुपर्ने अवस्था छ। बजेटको अभाव र भुक्तानी प्रक्रियामा हुने ढिलाइले गर्दा औषधि आपूर्तिमा चुनौती थपिएको प्रतिवेदनमा छ।

उक्त संस्थाले अस्पताल सुधारका लागि २४ ओटा सुझावहरु दिएको छ । पूर्वाधारको क्षेत्रमा अस्पतालले १०० शय्याको स्वीकृत दरबन्दी पाए पनि सोही अनुपातमा भौतिक संरचनाको अभाव खेपिरहेको छ। प्रसूति, एक्सरे र बालरोग जस्ता विभागहरूमा बिरामीको अत्यधिक चाप हुने प्रतिवेदनले देखाएको छ। विशेष गरी भिडियो एक्सरे गर्ने विशेषज्ञ चिकित्सकको कमीले गर्दा दैनिक सीमित संख्यामा मात्र बिरामीले सेवा पाउने गरेका छन् । जसले गर्दा धेरै सेवाग्राही समयमै सेवा नपाएको गुनासो उल्लेख छ।

अस्पतालले विपद् र महामारी व्यवस्थापनका लागि ‘मास क्याजुअल्टी म्यानेजमेन्ट’ समिति पुनर्गठन गरेको र कर्मचारीहरूलाई अग्नि नियन्त्रण सम्बन्धी तालिम प्रदान गरेको छ। अस्पतालले विभिन्न योजना तयार पारिएको भएतापनि आपत्कालीन अवस्थामा छिटो छरितो सेवा दिनका लागि रेफरल प्रणालीलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ।

जनशक्ति व्यवस्थापनमा अस्पतालले ‘निक साइमन्स इन्स्टिच्युट’ जस्ता संस्थाहरूबाट सहयोग पाउँदै आएको भए पनि त्यस्तो सहयोगको समयावधि सकिन लाग्दा थप आर्थिक भार पर्ने देखिएको छ। नर्सिङ जनशक्तिको अभाव र दक्ष कर्मचारीहरू तालिमपछि विदेश पलायन हुने प्रवृत्तिले गर्दा सेवाको गुणस्तर कायम राख्न ठूलो चुनौती खडा भएको छ।

अस्पतालले आगामी दिनमा भौतिक पूर्वाधारको मर्मत, अपाङ्गमैत्री संरचना निर्माण र कर्मचारीहरूको अनुशासन तथा समयपालनमा कडाइ गर्ने प्रतिबद्धता जनाएको छ। सूचना अधिकारीको व्यवस्था र गुनासो सुनुवाइ संयन्त्रलाई प्रभावकारी बनाउँदै बिरामीमैत्री वातावरण सिर्जना गर्नु नै अस्पतालको अबको मुख्य लक्ष्य हुनुपर्ने सुझाव सामाजिक परीक्षणले दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ