+
Search

ताजा अपडेट +

पपुलर +

बजार अनुगमन र कानुन कार्यान्वयनमा जोड

The 64th World Consumer Rights Day was celebrated in Nuwakot on Sunday
डबली खबर
१ महिना अगाडी

१ चैत, नुवाकोट । ‘सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन’ भन्ने मूल नाराका साथ नुवाकोटमा आइतबार ६४औं विश्व उपभोक्ता अधिकार दिवस मनाइएको छ। उद्योग तथा वाणिज्य कार्यालय, नुवाकोटको आयोजनामा सदरमुकाम विदुरमा एक विशेष कार्यक्रम गरी यो दिवस मनाइएको हो।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले उपभोक्ताको अधिकार सुनिश्चित गर्न बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने र कानुनको कार्यान्वयनमा कडाइ गर्नुपर्नेमा जोड दिएका छन्।

सहभागी वक्ताहरूले उपभोक्ताहरू वस्तु खरिद गर्दा सचेत हुनुपर्ने र अनिवार्य रूपमा उत्पादनको ‘लेवल’ हेरेर मात्र खरिद गर्नुपर्ने बताए। जिल्लाभित्रै उपभोग्य वस्तुको गुणस्तर परीक्षण गर्ने उपकरणको व्यवस्था गरी बजार अनुगमनलाई चुस्त राख्न उनीहरूले प्रशासनको ध्यानाकर्षण गराए। कानुनले उपभोक्ताको हक सुरक्षित गरे पनि व्यवहारमा यसको कार्यान्वयन पक्ष फितलो रहेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरे।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशकी सदस्य गीता अमात्य, विदुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष संजिवबहादुर श्रेष्ठ, जिल्ला लघु उद्यम सङ्घका अध्यक्ष गीता थापा, उपभोक्ता अधिकारीकर्मीहरू र उद्योगीहरू उपस्थित थिए।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षण अधिकारी नवराज श्रेष्ठले उपभोक्ताको हक, अधिकार र विद्यमान कानुनी व्यवस्थाहरुका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

नेपालको संविधानको धारा ४४ ले प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने मौलिक हक प्रदान गरेको छ। गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेका व्यक्तिलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक समेत संविधानले सुनिश्चित गरेको छ।

विश्वमै पहिलो पटक सन् १९६२ मार्च १५ मा अमेरिकी संसदमा राष्ट्रपति जोन अफ केनेडीले प्रस्तुत गरेका सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रुपमा घोषणा गरिएको थियो । सोहिअनुसार हरेक वर्षको मार्च १५ मा उक्त दिवस मनाईने गरिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ