नुवाकोट, मङ्सिर १७ । बागमती प्रदेशमा विदुर नगरपालिकाकाले कृषकहरुबाट अहिलेसम्मकै बढी नमूना माटो सङ्कलन गरेको बागमती प्रदेशको माटो तथा मल परीक्षण प्रयोगशालाका वरिष्ठ माटो विज्ञ डा. जनार्दन खड्काले जानकारी दिए ।
वार्षिक स्वीकृत कार्यक्रमअनुसार माटो परीक्षण शिविर सञ्चालन तथा आवश्यक ठाउँमा कृषि चुन वितरण कार्यक्रम सूचना जारी गरेसँगै नगरपालिका १३ वटै वडाहरुका कृषकहरुबाट एक हजार ४७ ओटा नमूना माटो सङ्कलन भएको कृषि शाखाका प्रमुख मदनराज न्यौपानेले जानकारी दिए ।
यस शिविरबाट बागमती प्रदेशको माटो तथा मल परीक्षण प्रयोगशालाबाट प्राविधिक बोलाएर नगरपालिकाले निःशुल्क माटो परिक्षण भएपछि कृषकलाई सहज भएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताए । सङ्कलन गरिएको नमूनाको परीक्षण पश्चात् प्राप्त हुने नतिजाको आधारमा विश्व माटो दिवस मङ्सिर २० गते कृषकलाई निःशुल्क चुनसहित आवश्यक प्राविधिक सहयोग समेत उपलब्ध गराइने नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।
घुम्ती प्रयोगशाला मार्फत माटो परीक्षण शिविरमा डा. खड्कासहितको टोलीले मङ्सिर १७ गतेदेखि २० गतेसम्म नगर कार्यपालिकाको कार्यालयमा सङ्कलन गरिएको नमूना माटोको परीक्षण गर्ने कृषि शाखाका प्रमुख न्यौपानेले जानकारी दिए ।
निःशुल्क माटो परीक्षण शिविरले आफूहरूलाई ठुलो राहत मिलेको विदुर नगरपालिका-३ पिपलडाँडाका दिपक अधिकारीले बताए ।
माटोको नाइट्रोजन, फस्फोरस र पोटासियमको मात्रा तथा माटोको पिएच अवस्था अर्थात् अम्लीयपन, तटस्थ र क्षरीय भए, नभएको परीक्षणले देखाउने जनाएको छ ।

प्रतिक्रिया