+
Search

ताजा अपडेट +

पपुलर +

लकडाउनको समयमा विदुर नगरपालिकामा बालविवाह बढ्दो

lockdown period child marriage in bidur municipality ward 3 budhasing ghat
डबली खबर
५ साल अगाडी

नुवाकोट – लकडाउनको समयमा विदुर नगरपालिका वडा नम्बर ३ बुधसिंङघाटका करिब एक दर्जनभन्दा बढी बालिकाहरुले आफू खुशी बालविवाह गरेका छन्।

लकडाउनको समयमा एकहप्ता अगाडि मात्रै दुई दिनको अन्तर १४ र १७ वर्षीया दुई वटी छोरीले भागेर विवाह गरेको स्थानीय हर्कबहादुर राईले बताए । ‘दुख गरेर हुर्काएँ, पहिला पहिला आमा बाउले नचाहेरै विवाह गरिदिन्थे। अहिले नगर भनेर बिन्ती बिसाउँदा पनि उपाय लागेन,’ राईले भने, ‘दुःख लागेको छ, धेरै कोसिस गर्दा पनि रोक्न सकिएन। ती छोरीको भविष्य के होला भन्ने चिन्ता छ।’

सोही टोलमा ४ दिन अगाडि मात्रै विवाह गरेका कक्षा आठमा पढ्ने १५ वर्षीय पवर राई भन्छन्, ‘अलिअलि कुरा भएको एक महिना भएको थियो। एक्कासी उनले मलाइ लिन आउ भनिन् केही सोच्दै नसोची म त लिन गएँ। उमेर त धेरै भएको छैन। उनी पनि भर्खर १४ वर्ष मात्रै लागिन।’

उज्यालो भविष्यको लागि दिनरात खट्नपर्ने यो उमेरमा बालबालिका खासै भविष्यको बारेमा सोच्ने गर्दैनन्। छोरीले आफ्नो चिन्ता नगरेको विषयमा दुःखी हुँदै करिब एक महिना अगाडि मात्रै भागी विवाह गरेकी नौ कक्षामा अध्ययनरत १७ वर्षीया बालिकाकी अभिभावक (आमा) बेली ठकुरी भन्छिन्, ‘कस्तो समय आयो। उमेर पुगेको भए पनि हुने। आफूले सानै छ भनेर चम्चाले खुवाएर राखेकी थिए। विवाह गरी भन्दा त मरे तुल्य भयो। भविष्यको चिन्ता पनि लाग्नु पर्ने। नौ कक्षामा पढ्ने भएपछि त थोरै सोच्न पनि सक्नुपर्थ्यो।’

विवाह र प्रेम भन्ने शब्दको पूर्ण रुपमा अर्थ समेत थाहा नभइ आफ्नो नातिले बिबाह गरेकोमा बोल्ने शब्द नै नभएको बताउँछिन ९२ वर्षीया ठुली राई। ‘गएको हप्ता मात्रै १४ वर्षमा विवाह गर्यो। मैले आफैले पनि १७ वर्षमा बिबाह गरेको त्यो समयमा पनि। मन थिएन, तर बाले भनेपछि नगरी सुख थिएन। अहिले त जमाना फरक छ। भुराले बुझ्नु पर्ने हो म एउटा नातिलाई धेरै राम्रो बनाउँछु भन्ने सोचेकी थिए तर अब के होला थाहा छैन,’ उनले भनिन्।

विदुर नपा वडा नम्बर ३ का वडा सदस्य प्रदिप घिमिरेका अनुसार घरायसी कुरा बाहिर नल्याउने भएर यकिनका साथ तथ्यांक यति नै हो भनेर भन्न नसकिने बताए। समुदायमा बालविवाह सम्बन्धि जनचेतना अभिवृद्धि कार्यक्रम पनि प्रभावकारी नभएको बताए।

शहरी स्वास्थ्य केन्द्र वडा नम्बर ३ का अनमी भवानी रिमाल नेपालका अनुसार केन्द्रबाट १५ वर्ष भन्दा माथिका उमेर भएका बालबालिकाहरुले पनि गर्भवती चेकजाँचको सेवा लिईरहेको बताए । भर्खरैमात्र सकेको खोप शिविरमा पनि केहिले सेवा लिएको बताए।

बालविवाह गरेका कारण कम उमेरमै गर्भवती भएको स्थानीय बताउँछन् । १४/१५ वर्षको उमेर मै बच्चा पाएकाहरु धेरै संख्यामा रहेको बताए । कोहि अन्य ठाउँमा विवाह गरि गएको स्थानीयबासी बताउंछन् ।

वालविवाह कानुनी रुपमा गैरकानुनी काम भनिएता पनि आफूखुशी नै विवाह गर्ने बालबालिकाको विषयमा विदुर नगरपालिकाले गम्भीरता पूर्वक सोच्नुपर्ने देखिन्छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ