असोज २९, नुवाकोट । “विपद्को समयमा पत्रकारिता, पत्रकारको सुरक्षा, चुनौती र जिम्मेवारी” विषयक एक दिने विचार गोष्ठी तथा कार्यशाला कार्यक्रम भएको छ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको आयोजनामा भदौ १० को भोटेकोशी-त्रिशूली नदीमा लेदोसहित आएको बाढीको सन्दर्भमा आयोजित उक्त कार्यक्रममा सामाजिक उत्तरदायित्वसहितको पत्रकारितामा जोड दिइएको थियो।
तथ्यहीन र भ्रामक सूचना तथा समाचारलाई निरुत्साहित गर्दै तथ्यमा आधारित र विश्वसनीय पत्रकारिता अवलम्बन गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए।
कार्यक्रममा नुवाकोट शाखाका अध्यक्ष रामहरी गजुरेल, संस्थापक सदस्य ध्रुवकुमार रावल, बागमती प्रदेशका निवर्तमान अध्यक्ष शिवप्रसाद देवकोटा, पत्रकार शरण उत्सुक सापकोटा, नेपाल पत्रकार महासंघ काठमाडौका सदस्य निरोज तोलाङे तथा शक्तिमाया तामाङ, शालिकराम चालिसेलगायतले आफ्ना विचार राखेका थिए।
वक्ताहरूले विपद्को बेला पत्रकारको सुरक्षा, सही सूचना प्रवाह र जिम्मेवारीपूर्ण रिपोर्टिङको आवश्यकता औंल्याएका थिए।