२५ वैशाख, विदुर । नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाले आर्थिक वर्ष २०८२/०८३ मा मानवीय सेवाका विविध क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ।
चालु आवको साउनदेखि वैशाखसम्मको अवधिमा शाखाले स्वास्थ्य, विपद् व्यवस्थापन र सामाजिक सशक्तीकरणका क्षेत्रमा सञ्चालन गरेका गतिविधिहरूले नुवाकोटको साथै काठमाडौं, रसुवा, धादिङ लगायतका जिल्लाहरुका नागरिकहरुको जीवनस्तरमा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको देखिएको छ।
रेडक्रसले विशेष गरी रगतको अभावलाई न्यूनीकरण गर्न र ग्रामीण भेगका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेको छ।
स्वास्थ्य सेवा अन्तर्गत जिल्ला सामुदायिक आँखा केन्द्रमार्फत् उक्त अवधिमा ६ हजार १५३ जनाको ओपिडीमार्फत् आँखा जाँच गरिएको छ । साथै अहिलेसम्म ६ हजार ५ सयभन्दा बढीको मोतियाबिन्दु र आँखामा मासु पलाएको सफल उचारसहित शल्यक्रिया गरेको छ।
ग्रामीण भेगका १३ सय ६५ जनालाई आँखा केन्द्रबाट सेवा प्रदान गरिएको छ । विद्यालयस्तरमा गरिएका शिविरहरूबाट २१ हजार २३० विद्यार्थीको आँखा परीक्षण गरी ८२ जना विद्यार्थीलाई नि:शुल्क चश्मा वितरण गरिएको छ।
रेडक्रसको संरक्षकत्वमा सञ्चालित आँखा केन्द्रलाई हाल ‘सर्जिकल सेन्टर’ मा रूपान्तरण गरिएसँगै नुवाकोटबासीले अब जटिल शल्यक्रियाका लागि काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ।
रक्त सञ्चार सेवातर्फ ७९२ जना स्वयंसेवी रक्तदाताहरूबाट रगत संकलन गरिएको छ। जसमध्ये १२७ महिला र ६६५ पुरुष रक्तदाता रहेका छन्। जिल्लाका विभिन्न स्थानीय तह र सरोकारवालाहरूको सहयोगमा नुवाकोट र रसुवाका बासिन्दालाई नि:शुल्क रगत उपलब्ध गराउने कार्यको सुरुवात हुनु यस वर्षको सबैभन्दा ठूलो उपलब्धि मानिएको छ।
रेडक्रसले एम्बुलेन्स सेवामार्फत् २३५ जनालाई आपतकालीन सेवा प्रदान गरिएको छ । एम्बुलेन्सहरूमा जीपीएस प्रणाली जडान गरी सेवालाई थप व्यवस्थित र उत्तरदायी बनाइएको छ।
रेडक्रसले विपद् व्यवस्थापन र राहत वितरणमा पनि रेडक्रस उत्तिकै सक्रियता देखाएको छ। १०६ घरधुरीलाई गैर-खाद्य राहत सामग्री र ११ परिवारलाई स्वास्थ्य तथा सरसफाइ सामग्री वितरण गरिएको छ। बेपत्ता भएका व्यक्तिहरूको परिवारसँग पुनर्मिलन गराउने “पारिवारिक सम्पर्क पुन:स्थापना सेवा” अन्तर्गत जिल्ला भित्रका कारागार भ्रमण र रेडक्रस सन्देश प्रवाह जस्ता कार्यहरू निरन्तर भइरहेका छन्।
संस्थाले जिल्लाबासीहरुको उपचारमा निःशूल्क रगत उपलब्ध गराउने गरी १ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको अभियानमा हालसम्म ५१ लाख २५ हजार १७१ रुपैयाँ संकलन भइसकेको छ ।
रेडक्रसको हाल जिल्लाभर २३ वटा उपशाखा र २५१ वटा जुनियर तथा युवा रेडक्रस सर्कलहरू क्रियाशील छन् । जसमा १२ हजार ३१४ जना विद्यार्थीहरू आबद्ध रहेका छन्।

प्रतिक्रिया