+
Search

ताजा अपडेट +

पपुलर +

देशभर वैशाख २ गतेदेखि आर्थिक गणना सुरु हुने

डबली खबर
३ हप्ता अगाडी

१९ चैत, विदुर । सरकारले देशैभर आगामी वैशाख २ गतेदेखि दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु गर्दैछ । आर्थिक गणनाको उद्देश्य, तयारी तथा कार्यान्वयन प्रक्रियाबारे जानकारी दिन आज बिहीबार जिल्ला आर्थिक गणना कार्यालय नुवाकोटको आयोजनामा सरोकारवाला निकायहरूसँग अन्तरक्रिया कार्यक्रम भएको छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटमा जिल्लास्तरीय सचेतना गोष्ठीमा जिल्ला आर्थिक गणना अधिकारी अर्जुन पाण्डेले गणनाको उद्देश्य, जिल्लामा भइरहेको तयारी तथा नीतिगत व्यवस्थाबारे जानकारी दिए। उनका अनुसार गणनाका लागि खटिने सुपरीपेक्षकको निगरानीमा गणकहरू घरघरमा पुगेर उद्योग, प्रतिष्ठान तथा पसलहरूको आधारभूत विवरण संकलन गर्नेछन्। संकलित तथ्यांकको आधारमा आधिकारिक विवरण प्रकाशन गरिनेछ।

जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले देश तथा स्थानीय तहको विकासका लागि तथ्यांक अत्यन्तै महत्वपूर्ण हुने उल्लेख गर्दै विश्वसनीय डाटा संकलनमा गोपनीयताको सुनिश्चिततासँगै तथ्यांक संकलन गरिनुपर्नेमा पनि विशेष जोड दिए।

जिल्लास्तरीय आर्थिक गणना समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले आर्थिक गणनाले मुलुकको समग्र आर्थिक अवस्था र आयस्थिती पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

जिल्लामा आर्थिक गणनाको लागि सुपरभाइजर ५ जना र ३५ जना गणकले करिब १२ हजार २३६ व्यवसायहरुको तथ्यांक सङ्कलन गर्नेछन् । जसले आर्थिक गणनाको प्रतिष्ठानहरूको संरचना, आर्थिक गतिविधि, लगानी तथा वितरण सम्बन्धी तथ्यांक संकलन गर्दछ । आर्थिक तथा सामाजिक नीति निर्माण, योजना तर्जुमा, लक्ष्य निर्धारण र प्रगति मूल्याङ्कनमा तथ्यांकले सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसअघि २०७५ मा पहिलोपटक आर्थिक गणना गरिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ