+
Search

ताजा अपडेट +

पपुलर +

विदुरको शैक्षिक मोडललाई अन्य पालिकाहरूले पनि अनुसरण गरेका छन्: नगरप्रमुख श्रेष्ठ

Rajan Shrestha mayor of Bidur Municipality Nuwakot
डबली खबर
२ महिना अगाडी

५ चैत, नुवाकोट । विदुर नगरपालिकाले सुरु गरेको यो शैक्षिक मोडललाई अहिले अन्य पालिकाहरूले पनि अनुसरण गर्न थालेको नगरप्रमुख राजन श्रेष्ठले बताएका छन्।

विदुर नगरपालिकामा शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यका साथ नीति तथा कार्यक्रममार्फत सुरु गरिएको पालिकास्तरीय परीक्षाको आज नगरपालिकाका प्रमुख श्रेष्ठसहित शिक्षा समितिका सदस्यहरु २ नम्बरका वडाअध्यक्ष दिपक कायस्थ, विद्यालय निरीक्षक नवराज सापकोटालगायतको टोलीले परीक्षाको निरीक्षण गरेका छन् ।

निरीक्षणपछि नगरप्रमुख श्रेष्ठले विदुर नगरपालिकाले सुरु गरेको यो शैक्षिक मोडललाई अहिले अन्य पालिकाहरूले पनि अनुसरण गर्न थालेको बताए। विद्यालय व्यवस्थापन समिति, स्थानीय समुदाय र अभिभावकहरूलाई विश्वासमा लिएर विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि नगरपालिकाले बृहत्तर योजनाहरू अघि सारेको बताए । यस किसिमको सहकार्यले गर्दा नै शिक्षा क्षेत्रमा देखिएका प्रशासनिक र शैक्षिक चुनौतीहरू समाधान हुँदै गएको नगरप्रमुख श्रेष्ठले बताए ।

आफु जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आइसकेपछि दरबन्दी मिलान, विद्यालय सुधार र कक्षा समायोजन जस्ता महत्त्वपूर्ण कार्यहरूलाई प्राथमिकता दिइएको नगरप्रमुख श्रेष्ठले बताए । नगरपालिकाको यो अभियानले विद्यालयहरूको नतिजामा निकै ठूलो परिवर्तन ल्याएको तथ्यांकहरूले देखाउँछन् । यस्तो ठूलो सुधार आउनुमा नगरपालिकाको कार्यपालिका टिमको कार्यक्षमता र सबै सरोकारवालाहरूको सामूहिक प्रयास नै मुख्य कारण रहेको नगरप्रमुख श्रेष्ठले बताए ।

नगरप्रमुख श्रेष्ठले शिक्षाको जग बलियो बनाउन नगरपालिका आफैँले कक्षा ५ र ८ को परीक्षा सञ्चालन गर्ने नीति लिएको बताए। जसले गर्दा शैक्षिक प्रणालीमा नयाँ उत्साह थपिएको छ । नगरपालिकाले यस वर्षको कक्षा ५ र ८ को पालिकास्तरीय परीक्षालाई थप व्यवस्थित बनाउन परीक्षा केन्द्रहरू हेरफेर गर्ने कार्य समेत गरेको नगर प्रमुखले बताए ।

शैक्षिक सत्र २०८० मा कक्षा ८ को परीक्षा सुरु गर्दा ४६ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएकोमा हाल यो उपलब्धिमा उल्लेख्य सुधार भएको नगर प्रमुखको भनाई छ ।

‘यस अभियानले विद्यार्थीहरूमा पढ्ने बानीको विकास भएको छ भने शिक्षकहरूलाई पनि आफ्नो विषयगत नतिजा राम्रो बनाउन जिम्मेवार बनाएको छ’, नगर प्रमुखले भने ‘शिक्षकहरूले अतिरिक्त कक्षाहरू सञ्चालन गरेर विद्यार्थीहरूलाई परीक्षाका लागि तयार पारेका कारण शैक्षिक नतिजामा सकारात्मक परिवर्तन आएको देखिन्छ ।’

अघिल्लो वर्ष २०८१ को एसईई परीक्षामा विदुर नगरपालिकाले करिब ५८ प्रतिशत उत्तीर्ण दर हासिल गरी जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो । शिक्षामा देखिएको यो सकारात्मक परिवर्तनलाई निरन्तरता दिन सबै पक्षको साथ र सहयोग आवश्यक रहने भन्दै यो अभियानमा एकजुट हुन नगरप्रमुखले आह्वान समेत गरेका छन् ।

यस वर्षको परीक्षामा नगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयका करिब २ हजार ३५७ जना विद्यार्थीहरू सहभागी भएका छन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ